गाउँका कुडा सुन्या हौ क्या ? (भिडियाे)

मुग्लेरीले मागल भनेपछि, पञ्चेबाजाको तालमा दमाई नाचेपछि, कवा मष्टोका धामीले बाह्र भाइ मष्टो, नौ दुर्गा भवानी, बाबा चन्दाननाथ, दरा खोल्या, भान (बहान) पित्त सबैलाई पुकारेपछि मार्सी धान काटेर खालि रहेको नुग्र्या जिउलाको खेतमा सुरु भयो, ‘लाम्रा सम्वादः गाउँका कुडा।’

‘कुरा सुन्नु बुढाको, आगो ताप्नु मुडाको’ गीत सम्झिएको बेला तल्लो खेतबाट माथिल्लो खेतमा उक्लिए नन्दप्रसाद चौलागाईं। कुडा गर्न लागे ‘कुलोको सवाई’ बारे। 

लाम्रा पारिलो बस्ती छेउको जिउलोमा पाको घामले जिउ तातेर तिर्खाएको बेला ओभाएका खेत र कुलाका लागि दुःख पाएका गाउँलेका कुडा सुरु गरिए। मार्सी धान रोप्ने जिउलामा सिचाइ गर्ने पानी नपाएपछि महिलाका कोमल हातले खेत गोड्न सकिएनन्। त्यसपछि फलाम वा काठका तिखा नंङ जस्ता देखिने नुग्र्याले मात्र खेत गोड्न सम्भव हुने भएपछि सिंगो जिउलाको नाम राखियो, ‘नुग्र्या जिउलो’।

जिउलामा पानी नलागेपछि, मार्सी धानका बालामा दाना पोटिला नभएपछि। रातदिन खेतमा काम गर्ने महिलाको मन सन्तुष्ट नभएपछि, सिचाइ गर्न जाने खेताला अनिदा रहेपछि, हाँकु र लाम्राका जनता कसिए। स्रिफ एक रात थप अनिदो रहने प्रण गरे।

अडाई (अह्राउने वा अगुवाइ गर्ने मान्छे)को नेतृत्वमा सिंगो लाम्रा गाउँ उठ्यो। सारा देश दुनियाँ मस्त सुतेको बेला लाम्रा जाग्यो। लाम्रा उँठिल्या आयो। एक रातमा पाँच किलोमिटर जमिन चिरियो र कुलो बन्यो।

बाँकी दुनिया, त्यसमा पनि नजिकको श्रृढुस्का बिउझने बेला धर्ती फाटेको थियो। धर्ती फाटेको देख्नेहरुको मन फाट्यो। मन फाटेकाहरुले राजा, देउता गरे। मुद्दा हाले। राजाका प्रतिनिधि बडाहाकिम निसाफ गर्न गाउँमै पुगे।

निसाफ लुम्रेलको (लाम्राका गाउँलेको) पक्षमा भयो। अनि एक रातमै बन्यो कुलो। त्यसयता लाम्राको नुग्र्या जिउलाले फलाइरहेको छ राणा, राजा, ओली, प्रचण्ड समेतको जिब्रो रसिलो बनाउने मार्सी धान।

पाँच मुरी खेत हुनेले एक दिन, दश मुरी हुनेले दुई दिन, पन्ध्र मुरी हुनेले हरेक दिन र त्यो भन्दा बढी हुनेले अप्ठ्यारो ठाउँमा समेत कुलो फाल्ने काममा सघाउने सिचाइको रित बसालियो। हेरालो, देखालो, अडाई लाग्नेको नेतृत्व, गाउँलेको श्रमदान र सहकार्यमा बनेको कुलो फाल्न आजकाल सरकारी रुपियाँको आश गर्न थालिएको छ। गाउँलेहरु आशे भएका छन्। सरकार कुलो फाल्न कनिका छरेजस्तो हरेक वर्ष बजेट छरिरहेको छ। जुन हात्तीको मुखमा जिरा बाहेक केही हुँदैन। जसले सहकार्य र श्रमदानको अटुट शृङ्खलालाई तोडेको छ।

यस्तै बिरता र नैरास्यताका कुरा गरे ‘कुलोको सवाई’ सेसनमा भाग लिने, अडाई, खेताला, कुलोको काममा अहोरात्र खटिएका सिंह सार्की, कुलाचन्द्र चौलागाईं, धनप्रसाद चौलागाईं र पूर्णप्रसाद चौचागाईंले।
                                         

 *****

सिंगो जुम्ला उपत्यका कालीरह र लामीरहले छोपेको थियो। रह माने दह वा ताल। एकदिन कालीरह फुट्यो र लामीरहमा पानी आयो। पानी बढी भएपछि लामीरह पनि फुट्यो। 

पछि लामी रह पुरिँदै खेतीयोग्य जमिनमा परिणत भयो। लोभलाग्दो जमिन देखेपछि मानव बस्ती बस्यो। त्यो बस्तीमा चौलागाईं, हमाल, सार्की, दमाई लगातका नागरिकले सहकार्य गरि जीवनयापन सुरु गरे। 

उनीहरुले लामि रह उच्चारण गर्दा गर्दा अप्रभंस भयो र गाउँको नाम नै लाम्रा रहन गयो। आज लाम्रा गाउँ आफ्ना कुडा गर्न लागेको छ। कुडा गर्न्या थलाको नाउ राख्याको छ, ‘लाम्रा सम्वादः गाउँका कुडा’।

कार्यक्रमको दोस्रो सेसनमा यस्तै कुडा भयो। सेसनको नाउ थियो, ‘गाउँको जाडो’।

जसरी रुखको जडोले रुख बलियो हुन्छ, त्यसरी गाउँको जडोले गाउँ बलियो हुन्छ। गाउँ बलियो बनाउन्या चौलागाईं बाहुन भारतमा मुगल साम्राज्य हुँदाकै अवस्थामा जुम्ला आए। सार्की र दमाईहरुसँग सहकार्य गरे। रस्ती रसाय, बस्ती बसाए। 

यस्तै कुडा गरे सञ्चालक लालप्रसाद चौलागाईं र वक्ताहरु पूर्णचन्द्र चौलागाईं, भद्रबीर दमाई, विश्वराम सार्की, कर्णप्रसाद उपाध्यायले।
                                               

*****

चन्दननाथ, भैरवनाथले जुम्लीहरुको जीवन उकास्न गरेको मेहेनत र प्रकृतिलाई आफू अनुकुल बनाइदिने मष्टोप्रति अथाह सम्मान र प्रेमको भावनाले ओतप्रोत भएका जुम्लीहरु हरेक वर्ष उनीहरुका लागि तिर्थ यात्रा गर्छन्। पुनी (पुर्णिमा), पञ्चमीका दिन पुजापाठ गर्छन्। उनकै आशिर्वादमा भोट मधेस गर्छन्। 

यस्तै बेला जुम्लीहरुले संगालेका अनुभव विश्वविद्यालयका प्रोफेसरका भन्दा बढ्ता छन्। उनीहरुको जान र सीप नयाँ पुष्तामा हस्तान्तरण होस भनी गाउँका कुडा थालिएका हुन। ‘तिर्थ र हाटयात्राका कुडा’ सेसन चलाइएको हो।

कमाउन भोट, मधेस गर्न्याका अनुभव कपालका रौं जति छन्। उनीहरुका पैतालालले हजारौं माइलको यात्रा नापेका छन्। तिर्थ जान्याका पनि उस्तै अनुभव छन्। कति रमाइला क्षण छन् भने कति भावुक बनाउने खालका दृश्य छन्। त्यसभन्दा बढी आफूले मान्दै आएको कुल देउता र अप्ठ्यारोमा सहयोग गरेका इष्ट देउतालाई जुग जुग बचाइराख्ने प्रण छन्।

यस्तै कुडा सुनाया, सञ्चालक रामलाल हमाल र वक्ताहरु देविलाल चौलागाईं, कृष्ण चौलागाईं, विजयलाल सार्की र एकमाय चौलागाईंले।

यस्ता कुडा अझ दुई दिन हुन्या छन्। तुमी पनि सुन्या भया पुगिगया लाम्रा गाउँमा।

प्रकाशित मिति: : 2020-11-14 06:39:00

प्रतिकृया दिनुहोस्