अमेरिकामा कोरोना फेरि उच्च बिन्दुतर्फ, मंगलबार ६२ हजार मानिस अस्पताल भर्ना

बिएल संवाददाता

न्यूयाेर्क

जो वाइडेनले अमेरिकी राष्ट्रपतिको प्रारम्भिक नतिजामा बाजी मारेपनि कोरोना संक्रमणले अमेरिका झन् थला पर्न थालेको छ। वाइडेनले आफू राष्ट्रपति भएको केही दिनमै कोरोनाको प्रभाव अमेरिकामा कम गर्न विशेष दल गठन गरिसकेका छन्। 

तर, विगत एक सातायता अमेरिकामा कोरोनाबाट संक्रमित हुने अमेरिकीको संख्या १ लाखभन्दा कम भएको छैन। अर्थात हरेक दिन एक लाखभन्दा बढी संक्रमित भेटिन थालेका छन्।। 

अमेरिकामा यसअघि नै संक्रमितको संख्या एक करोड नाघिसकेको छ। यहाँ वर्षको सुरुवातमा संक्रमण देखिएको थियो। त्यसयता अवस्था सुध्रिनुको सट्टा झन् भयावह हुँदै गइरहेको छ। हालै सम्पन्न राष्ट्रपतिको चुनावमा कोरोनाको मुद्धा प्रमुख बन्दा डोनाल्ड ट्रम्पले यसको घाटा बेहोर्नु परेको थियो। 

मंगलबार मात्र मेयता सबैभन्दा बढी बिरामी अस्पताल भर्ना भएको जोन हप्किन्स विश्वविधालयले बताएको छ। न्युज एजेन्सीको रिपोर्टमा पनि ६२ हजार ९ सय ६४ मानिस मंगलबार अस्पताल भर्ना भएको उल्लेख छ। दुई सातायता अमेरिकामा कोरोनाले ३२ प्रतिशत संक्रमित बढेका छन्।

प्रकाशित मिति: : 2020-11-11 09:29:00

प्रतिकृया दिनुहोस्