पछिल्लो एक दशकयता प्रचण्डको आसपासमा रहेर पूर्व माओवादीका केही अवसरवादी नेताहरूले सत्ता र शक्तिमा निरन्तर पहुँच सुनिश्चित गरे ।
प्रचण्डसँग बार्गेनिङ गरेर, प्रचण्डलाई बाहिर-बाहिर ठिक्क पारेर, यस्तो नगरे उस्तो गर्छु भनी घुर्क्याएर राज्यका अनेकौं सेवा सुविधाहरू लिए । पटक - पटक लाभको पद प्राप्त गरे । आम कार्यकर्ताहरूले त्यस प्रकारको नवसामन्तको झलक दिने दृश्य टाढैबाट हेरेर चित्त बुझाउने बाहेक अरू कुनै उपाय नै थिएन ।
सत्तामा रहँदा आर्जन गरेको धनले तिनका छोराछोरी अहिले कुन देशमा पढिरहेका छन्, घर कता किनेको छन्, तिनका नातेदारहरू कति महंगो बुलेट मोटर साइकल चढेर हिँड्छन् , तिनका भाइभतिजाहरूले कहाँ–कहाँ नियुक्ति पाएका छन्, त्यो कुराको एकदिन पर्दाफास हुने नै छ । धेरै उम्लियो भने पोखिन्छ भन्छन्, ढिलोचाँडो तिनको पनि पलायन निश्चित छ।
तिनको तरित्र कस्तो देखियो भने प्रचण्ड शक्ति र सत्तामा हुँदा मसक्कै पारेर प्रचण्डलाई उकास्ने, तर प्रचण्ड तल पर्ने देखियो भने अचानक गुप्तवास जस्तो एकदम ध्यानमग्न हुने । हिजोआज प्रचण्डलाई चारैतिर प्रहार गरिएको छ । तर रक्षाकवच बन्नुपर्नेमा ती अवसरवादीहरू ओशोको नक्कल गरेर कतै ध्यानमग्न छन् । बरू प्रचण्डको तर्फबाट एक गेडा चामल पनि नपाएकाहरू 'नेतृत्वको रक्षा' गर्नुपर्छ भन्दै सकीनसकी सामाजिक सञ्जालमा भिडिरहेका छन् ।