विद्यार्थी धपाएर विद्यालयमा सशस्त्रको ब्यारेक

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाले धर्मशालामा विद्यालय भवन बनाउने भन्दै चलिरहेको विद्यालय सशस्त्रलाई जिम्मा दियो, विद्यालयमा काँडेतार लगाएर सशस्त्रले परेड खेल्दा विद्यार्थी अलपत्र 

विद्यालयमा सशस्त्र सुरक्षाकर्मी पस्नु नै कानुनी रूपमा गलत हो, तर सर्लाहीको ब्रह्मपुरी गाउँपालिका– ५ सखुहवास्थित प्राथमिक विद्यालय भवनमा सशस्त्र प्रहरीले पोस्ट नै खडा गरेर बसेको छ । विद्यालयलाई काँडेतारले घेरिएको छ भने बालबालिका पढ्ने मैदानमा सशस्त्र फौजले परेड खेल्न थालेको छ । 

६ कात्तिकमा विद्यालय रहेको भवनमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको हो । गाउँपालिका कार्यालयले निर्णय नै गरेर दिएपछि स्कुलको भवनमा सुरक्षाकर्मी आएर बसेका हुन् । 

विद्यालयका सम्पूर्ण फाइल एउटा कोठामा थुपारिएको छ भने विद्यार्थीलाई विद्यालय परिसरमा समेत निषेध छ । आजभोलि प्रधानाध्यापक शेष सबिर अहमद बिहानै विद्यालय पुग्छन्, कोठामा थुपाएिको हाजिरी रजिस्टर निकाल्छन्, आफ्नो हाजिर गर्छन् र फर्कन्छन् । 

विद्यालयमा काँडेतार लगाएको देखेपछि आपूm आश्चर्यमा परेको प्रधानाध्यापक अहमदले बताए । ‘विद्यालयमा काँडेतार लगाएर सुरक्षाकर्मी बसेको यो दृश्य हाम्रा लागि विडम्बना हो, विद्यालय शान्ति क्षेत्र भनिएको छ, तर काँडेतारले घेरेर विद्यार्थीलाई बाहिर पठाइएको छ भने हतियारसहित सुरक्षाकर्मी बसेका छन्,’ उनले भने । 

प्रधानाध्यापक अहमदका अनुसार उक्त विद्यालय बन्द भए बालबालिका अब अर्को विद्यालय जानुपर्नेछ । जो टाढा जान सक्दैनन्, उनीहरूका लागि शिक्षा अब सपना मात्र हुनेछ । 

प्रकाशित मिति: : 2020-11-08 09:35:00

प्रतिकृया दिनुहोस्