गरुड पुराणको अर्को अध्याय सुरु भयो । मानौँ कि मृतकको छोरो छैन । त्यस्तो अवस्थामा क्रिया कसले गर्ने ? जिब्राका टुप्पामा सबै उत्तरहरूले सज्जित भएका बडीबाजे उत्तर दिनुअघि जीवनको क्षणभङ्गुरताबारे एक लेक्चर दिन्छन् । हजारौँ वर्षसम्म रात–दिन शोक गरे पनि जो मरेर गयो त्यो फर्केर आउने होइन । जन्मेकाको मृत्यु हुनु निश्चित छ । मरेकाको जन्म हुनु निश्चित छ । यो अनिवार्य र अकाट्य नियति हो । नियतिमाथि जोड दिँदै बाजे आज्ञा गर्छन्, “दैवले गरेर हुने र मनुष्यले गरेर हुने केही यस्तो उपाय छैन जसको बलले मृत्युको मुखका परिसकेको जन्तु फर्केर यस लोकमा आओस् । नपाई नहुने दुःख हटाउने उपाय हुँदो हो त नल राजा, रामचन्द्र, युधष्ठिर आदि दुःखले युक्त हुने नै थिएनन् ।
बडीबाजेबाट अगाडि आज्ञा हुन्छ— प्रियजनसँगको मिलन पनि पानीको थोपोजस्तै है । थोपो भुलुक्क उठ्छ र त्यो क्षणभरमै प्याट्ट फुटिहाल्छ । जसरी रुखको छायामा पलभर बसेर बटुवा आफ्नो बाटो लाग्छ, उसैगरी प्राणीहरूको सङ्गम पनि क्षणिक हो । बिहान पकाएको खानलायकको भोजन साँझमा पुग्दा–नपुग्दै नष्ट भइसक्छ भने नाथे अन्नका रसले पुष्ट भएको शरीर पो के नित्य हुन्थ्यो ?