पुनर्निर्माण प्राधिकरणले ताेक्याे अन्तिम समयसीमा, पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नु पर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय गरेको छ। 

शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्ने निर्णय गरेको हो। 

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार प्राधिकरणको कार्यावधि नै सकिन लागेकोले यो नै अन्तिम समयसीमा तोकिएको हो। 

उनका अनुसार पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीहरुले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ।

सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्ने उनले जानकारी दिए।

त्यसैगरी, प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाईमा निवेदन दिन पनि अनुरोध गरेको छ।

प्रकाशित मिति: : 2020-11-06 16:38:00

प्रतिकृया दिनुहोस्