राजाराम इटनी, लेखा अधिकृत शिक्षण अस्पताल ।
२५ वर्ष सेवा गरेकोमा उनलाई अस्पतालले सम्मानित गर्नुपर्ने हो । तर, आफैँले वर्षौँ पसिना बगाएको अस्पतालमा भर्ना नपाएर उनको मृत्यु भएको छ । अर्को विडम्बना ! उनलाई अस्पतालले भर्ना नगरेर फर्काउँदा अस्पतालमा साधारण १२ र भेन्टिलेटरसहितका दुई आइसियू बेड खाली थिए ।
५२ वर्षीय राजाराम दसैँ बिदामा धादिङ त्रिपुरासुन्दरीस्थित घर गएका थिए । ‘सानोमा निमोनिया बिग्रिएकोे थियो, सायद त्यही कारणले वेलावेलामा खोक्नुहुन्थ्यो । टीकाको भोलिपल्ट उहाँ मोटरसाइकलमा काठमाडौं फर्किनुभएको हो । चिसो लागेजस्तो थियो । तैपनि कार्यालय गइरहनुभएको थियो,’ परिवारजनले नयाँ पत्रिकासँग भने ।
सोमबार राति ११ बजेतिर राजाराम एक्कासि बेहोस भए । २५ वर्ष शिक्षण अस्पतालमा सेवा गरेका राजारामलाई कहाँ लग्ने भन्ने प्रश्नै भएन । ‘आफ्नै अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने विश्वासमा हामीले त्यतै दगुरायौँ । एम्बुलेन्स मगाउँदा ढिलो हुन्छ भनेर ट्याक्सीमा कुदायौँ । करिब १२ बजे उहाँलाई शिक्षण अस्पताल पुर्यायौँ,’ परिवारजनको भनाइ छ ।
शिक्षण अस्पतालको इमर्जेन्सीमा पुर्याउना साथ डाक्टरहरूले आइसियूमा राख्नुपर्ने बताएका थिए । हुन्छ नि त भर्ना गरिहालौँ भन्दा जवाफ आयो– आइसियू खाली छैन । लौ न जसरी पनि बचाउनुपर्यो, उहाँ यही अस्प्तालको अधिकृत हो भनेर हारगुहार गर्दा पनि बेड छैन भन्ने जवाफ मात्र आइरह्यो ।
अत्तालिएका आफन्तले यत्रतत्र सबै अस्पतालमा फोन गरे । उनीहरूले सीतापाइलाको मनमोहन र शुभेक्षा अस्पताल, बाफलको यती अस्पताल, कलंकीको सहिद मेमोरियल अस्पतालमा सम्पर्क गरे । यी अस्पतालमा आइसियू छैन भन्ने जवाफ आयो । सहिद मेमोरियलले आइसियू छ, तर कोरोना परीक्षणको रिपोर्ट भए मात्रै भर्ना लिने बतायो ।
‘बिरामी बेहोस छ, हामीले पलपल गनिरहेका छौँ । अब कहाँबाट ल्याउनु पिसिआर ?’ परिवारजनले भने, ‘शिक्षण अस्पतालमै बसेर हामीले यता र उता हारगुहार लगायौँ । यही अस्पतालमै केही उपाय लाग्छ कि भनेर बिन्ती पनि गर्यौँ । तर, चार घन्टासम्म पनि केही लागेन ।’
अन्तिममा बुढानीलकण्ठ नगरपालिकाको चुन्निखेलस्थित करुणा अस्पतालमा आइसियू खाली छ भन्ने खबर आयो । साढे चार बजे उनलाई करुणा अस्पताल पुर्याइयो । ‘आइसियूमा भर्ना गराएपछि केही आशा जागेको थियो । तर, करिब दुई घन्टापछि साढे ६ बजेतिर डाक्टर बाहिर आएर भने, ‘सरी तपाईंहरूले निक्कै ढिला ल्याउनुभयो । उहाँलाई बचाउन सकिएन ।’