ओलीका सम्भावित राजनीतिक र संवैधानिक ‘एक्सन’

कर्णाली प्रदेशको पछिल्लो संकटले नेकपाभित्रको त्रिपक्षीय शक्ति सन्तुलन संवेदनशील मोडमा छ । कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रचण्ड–नेपालको समीकरण सफल भए त्यसले केन्द्र र प्रदेश सरकारहरूको नेतृत्व फेरबदलको सम्भावना मात्र होइन, महाधिवेशनसमेत प्रभावित हुने सम्भावनाका कारण प्रधानमन्त्री ओली त्यसलाई भत्काउन चाहन्छन् । पूर्वएमाले समूहलाई ‘इन्ट्याक्ट’ गर्न ओलीले वरिष्ठ नेता नेपालसँग सहकार्यको कोसिस जारी राखेका छन् । 

४ कात्तिकपछि नेपालसँग बालुवाटारमा एक्लाएक्लै भएको दुईपटकको संवाद परिणाममुखी नभएपछि नेपाललाई मनाउन ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता प्रदीप नेपालमार्फत कोसिस गरिरहेका छन् । प्रधानमन्त्रीको जानकारीमै पोखरेलले गत आइतबार पूर्वमन्त्रीहरू खगराज अधिकारी, आनन्दप्रसाद पोखरेल, महेश बस्नेत, सांसद राजेन्द्र गौतमसहित करिब डेढ दर्जन केन्द्रीय नेतासँग ओली–नेपाललाई मिलाएर लैजान सकिने सम्भावनाबारे बेग्लै गोप्य छलफल गरेका थिए । 

छलफलमा ओली–नेपाल मिल्नेबित्तिकै अध्यक्ष प्रचण्ड दबाबमा पर्ने र भावी महाधिवेशनबाट पूर्वएमालेलाई नेकपाको नेतृत्व गर्न सहज हुने लेखाजोखासहितको लामो विमर्श भएको छलफलमा सहभागी एक नेताले बताए । यो राजनीतिक प्रयासले सार्थकता पाए ओली सरकार र पार्टी दुवैतिरको नेतृत्वमा सुरक्षित हुन सक्नेछन् । 

प्रकाशित मिति: : 2020-11-04 15:14:00

प्रतिकृया दिनुहोस्