अमेरिकी राष्ट्रपतीय चुनाव: ट्रम्प वाइडेनभन्दा अगाडि (भिडियाेसहित)

अमेरिकी राष्ट्रपति चुनावको सुरुवाती मतपरिणाम आउन थालेको छ।  

प्रारम्भिक नतिजामा डेमोक्र्याटिक उम्मेदवार जो वाइडेन अघि देखिए पनि पछिल्लो चरणमा राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रमक रुपमा अघि आउने सम्भावना देखिएको छ।

चुनावको नतिजालाई उथलपुथल पार्न सक्ने राज्य मानिएको फ्लोरिडामा ट्रम्प र वाइडेनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

त्यस्तै सुरुवाती मतगणनामा राष्ट्रपति ट्रम्पले केन्टकी, वेस्ट भर्जिनिया, ओक्लाहामालगायतका केही राज्यमा जित हात पार्ने संकेत देखिएको छ।

 त्यस्तै प्रतिस्पर्धी वाइडेनले मेरिल्यान्ड, न्युयोर्क, न्युजर्सी, म्यासाच्युसेट्सलगायतका केही राज्यमा जित हात पार्न सक्ने संकेत देखिएको छ।

स्विङ स्टेट मानिएको कोलोराडोमा वाइडेनले जित्ने सम्भावना रहेको छ। अमेरिकी राष्ट्रपति चुनावको नतिजालाई प्रभावित पार्न सक्ने राज्य मानिएको कोलोराडोमा सन् २०१६ को चुनावमा पनि डेमोक्रयाट उम्मेदवार हिलारी क्लिन्टनले जितेकी थिइन्। 

त्यसअघि बाराक ओबामाले उक्त राज्यमा दुई पटक जितेका थिए। त्यसअघि ४० वर्षसम्म भने कोलोराडोमा रिपब्लिकन पार्टीको वर्चस्व रहेको थियो।

सुरुवाती मतगणनाअनुसार ट्रम्पभन्दा वाइडेन केही इलेक्टोरल कलेजमा अगाडि देखिएका छन्। वाइडेन २२४ इलेक्टोरल कलेजमा अगाडि रहँदा ट्रम्प २१३ इलेक्टोरल देखिन्छन्। 

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा २७० इलेक्टोरल कलेजको मत पाउनुपर्छ। मध्यपश्चिमका ब्याटलग्राउण्ड राज्यको नतिजा आउन बाँकी रहेपनि लगभग ट्रम्पकाे जित सुनिश्चित देखिन्छ।

अमेरिकामा इलेक्टोरल कलेजका माध्यमबाट ५३८ इलेक्टर्स (प्रतिनिधि) चुनिन्छ। 

यिनै इलेक्टर्सले नै अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपति को बन्ने भन्ने कुराको छिनोफानो लगाउँछन्। जुन उम्मेदवारले इलेक्टोरल मतमा बहुमत प्राप्त गर्छन् त्यही उम्मेदवार अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनेछन्। ५३८ इलेक्टरस्मा ४३५ हाउस अफ रिप्रेजेन्टेटिभ्स, १०० जना सिनेटर र तीन जना डिस्ट्रिक्ट अफ कोलम्बियाका इलेक्टर्स हुनेछन्।

यस पटक गत सय वर्षमा सबैभन्दा बढी संख्यामा मतदान भएको बताइएको छ। 

यसपटक करिब १० करोड अमेरिकी नागरिकले यसअघि नै अनलाइन तथा विभिन्न माध्यमबाट मतदान गरेकाले चुनावको अन्तिम नतिजा आजै नआउने बताइएको छ।

जित सुनिश्चित छ: वाडेन

गृह राज्य डेलवरमा समर्थकलाई सम्बोधन गर्दै पूर्वउपराष्ट्रपति समेत रहेका वाइडेनले यो चुनाव जित्ने मार्गमा आफूहरु रहेको विश्वास व्यक्त गरेका छन्।

‘हामीलाई थाहा थियो कि यो प्रक्रिया लामो हुनेछ। तर हामी राम्रो महसुस गरिरहेका छौँ अहिले हामी जहाँ छौँ त्यसमा। वास्तवमै हामी मिसनमा पूरा हुने छौँ,’ उनले भनेका छन्. 

उनले सम्पूर्ण मत गणना हुँदासम्म पर्खिनु पर्नेमा जोड दिएका छन्।  ‘मलाई विश्वास छ कि हामी यो चुनावमा जितको मार्गमा छौँ,’ उनले भनेका छन्, ‘म आशावादी छु।’

वाइडेनले ‘धाँधली’ को प्रयास गरे: ट्रम्प

अमेरिकी राष्ट्रपति ट्रम्पले डेमोक्र्याटमाथि चुनावमा आफ्नो पक्षमा पार्न ‘धाँधली’ को प्रयास गरेको आरोप लगाएका छन्।

उनले आफूले पछि वक्तव्य जारी गर्ने बताएका छन्।

उनले ट्विटरमा भनेका छन्, ‘हामी ठूलो उचाईको मार्गमा छौँ, तर उनीहरुले यो चुनावमा स्टील गर्न प्रयास गरिरहेका छन्। हामी त्यस्तो हुन कदापी दिने छैनौँ। मतदानस्थलहरु बन्द भएपछि मत खसालिनु हुँदैन।’

७४ वर्षका ट्रम्प पराजित भएमा दोस्रो कार्यकालका नजित्ने सन् १९९२ पछिका पहिलो राष्ट्रपति हुने छन्। त्यसबेला जर्ज एचडब्लु बुस एक कार्यकाल मात्रै निर्वाचित भएका थिए।

चुनावभन्दा एक दिनअघि राष्ट्रपति पदका दुई बलिया उम्मेदवार रिपब्लिकन पार्टीका ट्रम्प र डेमोक्र्याट पार्टीका वाइडेनबीचको प्रतिस्पर्धामा उनीहरूका समर्थक पनि तनावमा देखिएका थिए। 

संसारको सबैभन्दा बलियो देशको नेतृत्वकर्ता छानिने विषयलाई यतिबेला विश्वभरिका मानि रुचीका साथ हेरिरहेका छन्। 

तर, दुई उम्मेदवारका समर्थक एक–अर्काविरूद्ध गाली गलौंचमा उत्रिएका छन्। केही ठाउँमा झगडा पनि परेको छ। बेवर्ली हिल्स जस्तो शान्त ठाउँमा समेत झगडा भएको छ। 

अमेरिकामा हरेक चार चार वर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ। त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरीमा २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ। 

प्रकाशित मिति: : 2020-11-04 14:00:00

प्रतिकृया दिनुहोस्