भारतीय पत्रकार अर्नब गोस्वामी घरैबाट पक्राउ

भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन्। 

रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई मुम्बई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा बुधबार घरबाटै पक्राउ गरेकाे हाे।

यद्यपि अहिलेसम्म प्रहरीले भने अर्नबलाई पक्राउ गरिएको आधिकारिकरुपमा जानकारी दिएको छैन। साथै उनलाई कुन मामिलामा अनुसन्धानको लागि हिरासतमा लिइएको भन्ने पनि स्पष्ट पारेको छैन।

रिपब्लिकन टेलिभिजनले यसअघि नै बन्द भइसकेको मुद्दामा गोस्वामीलाई पक्राउ गरिएको आरोप लगाएको छ।

टेलिभिजनले गोस्वामीको घर पुगेको प्रहरीले उनलाई हातपात गर्नुका साथै घिसारेर लगेको आरोप लगाएको छ। गोस्वामीले पनि आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्रहरीले हातपात गरेको आरोप लगाएका छन्। 

टेलिभिजनमा प्रशारित एक भिडियोमा प्रहरीले अर्नबलाई भ्यानमा राख्दै गरेको देखिएको छ। 

गोस्वामीमाथि सन् २०१८ मा  एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ। यो मुद्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो।

प्रकाशित मिति: : 2020-11-04 11:29:00

प्रतिकृया दिनुहोस्