१०३ वर्षकी मनमाया घलेले मेरो हातमा मतपत्र थमाइ दिनुअघि दुई हात जोडिन्, आँखा चिम्म गरिन् र मनमनै केही भनिन् । शायद उनी कसैका लागि प्रार्थना गरिरहेकी थिइन्। त्यसपछि आँखा खोलिन् र भनिन्, ' भट्टराई सर, मेरो भोट जो र कमलालाई हालिदिनुस्।'
मैले सोधे, ' हजुरआमा तपाई दुबै हात जोडेर आँखा चिम्म गरेर के गरिरहनु भएको थियो ?'
'जो र कमलालाई जिताइ दिन भगवानसँग विन्ति बिसाउँदै थिएँ', उनको जवाफ थियो ।
मास्कले छोपेको उनको अनुहारको भाषा के थियो ? त्यो त मैले बुझिँन । तर, चस्माभित्र चम्किरहेका उनका आँखाले भनिरहेका थिए, ' उनी आफ्नो विन्ति पूरा हुने कुरामा ढुक्क छिन्।'
मैले उनले भनेझै जोसेफ आर. बाइडन र कमला डी. ह्यारिसको नाम अगाडिको गोलाकारमा पेन्सिलको रङ भरिदिएँ। लामो मतपत्रमा अन्य पदका उम्मेद्वारलाई पनि मतदान गर्नुपर्ने थियो। मतदान गर्नुअघि मैले सोधें, 'हजुरआमा, अरू पनि जो र कमलाकै पार्टीका मान्छेलाई भोेट दिने?' उनले टाउको हल्लाउँदै भनिन्, 'हो।'
त्यसपछि मैले अन्य पदका डेमोक्रेट उम्मेद्वारका नाम अगाडि रेजा लगाइ दिएँ। रेजा लगाइदिएको मत मतपेटिकामा स्क्यानिङ भएर खसेपछि मैले भने, ' हजुरआमा भोट खस्यो।'
यति भनेपछि उनी ढुक्क भइन्।
उनको ह्विलचियर ठेल्दै बाहिर निस्किदै गर्दा मैले उनलाई सोधें, 'हजुरआमा तपाईले किन जो बाइडन र कमलालाई भोट दिनु भएको ?' उनको उत्तर थियो, 'हामीलाई क्याम्पबाट ल्याउने पार्टीका मान्छे हुन् नि उनीहरू। उनीहरूले हामीलाई यहाँ ल्याएर ठूलो गुन लगाएका छन्। गुनको बदला गुनले नै तिरेको नि।'
मनमाया घले भुटानबाट नेपाल हुँदै २०१२ को नोभेम्बर ६ मा अमेरिका आएकी हुन्। उनी अमेरिकाको मध्यपश्चिम राज्य मिजौरीको कान्सास सहरमा बस्छिन्। उनको चार सदस्यीय परिवारमा चार पुस्ताका मान्छे छन्, आफू, छोरी, नातिनी र पनाति। शिक्षाको घामबाट पछि परेर अंग्रेजी नजान्ने भएको यो परिवारका लागि अमेरिका सजिलो छैन।
अमेरिका आएको ७ वर्षमा उनले गत वर्ष अमेरिकी नागरिकता हात पारिन्। उनको एउटा सपना थियो, अमेरिकी नागरिक भएर मर्ने। त्यसपछि उनले अर्को सपना देखिन्, कम्तिमा पनि एक पटक भोट दिएर मर्ने। उनका दुबै सपना पूरा भएका छन्।
मनमाया घलेअमेलाई म विगत चार वर्षदेखि चिन्छु। उनी कान्सास सिटीमा रहेका भुटानी नेपालीमध्ये सबैभन्दा जेठी हुन्। पहिला यहाँ २८ घर भुटानी नेपाली थिए। अहिले त्यो संख्या घट्दै गएर २० मा ओर्लेको छ।
कान्सास सिटी रातो राज्य मिजौरीको नीलो सहर हो। यो सहरमा ९२ देशबाट आएका मानिसको बसोबास छ। एक किसिमले भन्दा यो ९२ जातका फूलहरूको रंगीन फूलवारी हो। त्यही फूलबारीकी एक सुन्दर फूल हुन् मनमाया।
उनको दु:ख-सुखलाई मैले नजिकबाट हेरेको छु। र, आफूले सक्ने सहयोग पनि गरेको छु। खासगरी उनलाई अमेरिकी नागरिक बनाउन मैले निक्कै काम गरिदिएको छु। अमेरिकामा बाहिरबाट आएका निरक्षरलाई नागरिक हुन सजिलो छैन। सिभिक र ल्याङ्ग्वेज टेस्ट पास गर्नुपर्ने हुन्छ। त्यो आफैंमा फलामको च्युरा चपाउनु जस्तै हो। त्यसबाट जोगिन एन-६४८ को सहारा लिनुपर्ने हुन्छ। त्यही सहाराबाट मनमाया अमेरिकी नागरिक बनिन्।
यो विरानो सहरमा भेटिएकी मनमाया मलाई आफ्नै हजुरआमा जस्तै लाग्छिन्। उनको अनुहारमा खुशी ल्याउन सक्दा मलाई एक किसिमको आनन्दको अनुभूति हुन्छ।
उनलाई घरमा छोड्ने बेलामा मनमायालाईले भनिन्, ' भट्टराई सर, भोट कस्ले जित्छ खबर गरिदिनुस है।'
मैले सोधें, 'तपाईलाई कस्ले जित्छ जस्तो लागेको छ ? ' उनले भनिन्, ' जित्न त मैले भोट हालेकैले जित्छन्, तैपनि।'