आलेखको प्रारम्भ मै प्रबुद्ध पाठक वर्गमा अनुरोध गर्न चाहन्छु कि संयुक्त राज्य अमेरिकामा आज अर्थात् नोभेम्बर ३ तारिखको दिन हुन गइरहेको ४६ औं राष्ट्रपति चुनावमा मत दिने हैसियत पक्तिकारको छैन।
यसको साथै अङ्ग्रेजी भाषा र अमेरिकी राजनीतिको बारेमा कुनै विशेष दखल पनि नभएको कारण यसले पक्कै जित्छ र उसले पक्कै हार्छ भनेर भन्न सक्ने अवस्था पनि रहेन।
अमेरिकामा रहेर अर्कै काम गर्ने तर कोठे पत्रकार र राजनीतिक विश्लेषकको परिचय दिने महापुरुषले डेमोक्रयाटिक पार्टीका उम्मेदवार जोसेफ आर। वाइडेनको विजय र बर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे। ट्र्म्पको पराजय हुने भविश्यबाणी कुन आधारमा गरिरहेका छन्, त्यसले भने पक्तिकारलाई आठौँ आश्चर्यमा पारिरहेको छ।
एक मान्यवरसँग यो बारेमा जिज्ञासा राख्दा उनले आफू पक्तिकारभन्दा चार बर्ष पहिले अमेरिका आएको र उनलाई पक्तिकारको भन्दा सबै बिषयमा बढी जानकारी भएको दाबी गरेका थिए। उनको बौद्धिकतामा र आफ्नो अनभिज्ञतामा दुई मत नभएको स्वीकार गर्दै होटलका सफाई मजदुर उनले त्यस्तो रहस्य कसरी थाहा पाए होलान्, त्यसमा भने मात्र अच्चम लागेको छ।
यस्तै राष्ट्रपतिको चुनावमा कसको जित वा हार हुनेछ भनेर अनेकौ किसिमका अनुमान र अड्कलबाजी भइरहेका छन्। विभिन्न विश्वविधालय, सञ्चार संस्था तथा स्वतन्त्र अनुसन्धान निकायले गरेको ‘एक्जिक्ट पोल’ को परिणाम भने फरक–फरक देखिएको छ।
यसको साथै मिडियालाई मात्र आधार मान्ने हो भने डेमोक्रयाटिक पार्टीका उम्मेदवार वाइडेनको जित र वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार ट्र्म्पको हार भइसकेको छ।
सन् २०१६ मा पनि चुनावको परिणाम आउनुभन्दा पहिले न्युजविक पत्रिकाले तत्कालीन डेमोक्रयाटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको तस्बीरसहित ‘म्याडम प्रेसिडेण्ट’ भनेर आवरण कथा छापेको थियो तर कालान्तरमा कसको विजय वा पराजय भयो, त्यो बारेमा सबै जगजाहेर छन्।
मिडिया इण्डोर्समेन्टको मात्र विश्वास गर्ने हो भने अधिकांश मिडिया डेमोक्र्याटिक उम्मेदवार वाइडेनको पक्षमा देखिन्छन्। ट्र्म्पको पक्षमा टेक्सासबाट प्रकाशित एल पासो टाइम्स र मासाचुसेटबाट प्रकाशित हुने बोस्टन हेराल्ड, द बोस्टन ग्लोब र द रिपब्लिकन लगायत सातवटा दैनिक छन् भने बाँकी एक सय तीन दैनिक पत्रिकाले वाइडेनको पक्षमा समर्थन गरेका छन्।
सबै प्रकारका सञ्चार माध्यम मध्ये एक सय ९४ वटा वाइडेनको पक्षमा छन् भने ट्र्म्पको पक्षमा केवल दशवटा मात्र छन्। यस्ता समर्थन सञ्चार संस्थाको सम्पादकीय र प्रशासकीय तहबाटै हुने कारण आम मतदातालाई को कसको पक्षमा छ, त्यो सजिलै थाहा हुन्छ।
सञ्चार माध्यममा प्रकाशित समाचार र विचार निश्चित अभिप्रायः बाट निर्देशित हुने र सामाजिक सञ्जालमा व्यक्त विचार नितान्त व्यक्तिगत हुने कारण त्यसको कुनै खास महत्व हुदैन।
निश्चित रुपमा पनि सञ्चार माध्यमले कसैको समर्थन वा विरोध गर्नुको पछाडि उनीहरुलाई पनि पक्कै कुनै लाभ हुने कुरालाई नकार्न सकिन्न, भलै त्यो लाभ आर्थिक मात्र किन नहोस्।
यो भन्दा पनि आश्चर्यको कुरा धेरै जसो नेपाली सञ्चार माध्यम डेमोक्र्याटिक उम्मेदवार वाइडेनको पक्षमा अन्धभक्त भएर लागेका छन्। त्यसको आधार के हो, त्यो पक्तिकारको छोटो मस्तिष्कले बुझ्न सकेको छैन।
अन्तमा आजको मतदानपछि एक दुई दिनभित्रै चुनावी परिणाम निस्कने कारणले कसको विजय वा पराजय हुन्छ, त्यो सबैलाई जानकारी हुने नै भयो। जबसम्म अन्तिम परिणाम प्रकाशित हुदैन, त्यो समयसम्म सबैले यो जित्छ वा उ हार्छ भनेर अनुमान मात्र लगाने हो। भलै त्यस्ता अनुमानको निश्चित आधारहरु हुन पनि सक्छन्, नहुन पनि सक्छ।