लामो कोरोना भाइरसको प्रभावका कारण गाँस गुमाएका मानिसहरुलाई उदार मन भएकाहरुले खुवाउँदा शहरको शोभा गुमाएको निचोडमा पुग्यो काठमाडौं महानगरपालिका। एउटा वैभवशाली शहरको उदारमन चरित्रलाई उसको एउटा निर्णयले धुलोमा मिसाइदिएको छ। सहयोगी हातहरुलाई निस्तेज बनाउने गरी महानगरपालिकाले गाँसमाथि गरेको अतिक्रमण असहिष्णु चरित्रको पराकाष्ट हो। राज्य कसरी राज्यहीनतातिर लाग्दैछ भन्ने यसले फेरि देखाएको छ। नेपाली हुनुमा गर्व गर्नेहरु एकपटक पुन: सोच्न बाध्य भएका छन्।
वैभवशाली परम्परा थेगेको कान्तिपुर नगरी उदारमन भएका मानिसहरुको थातथलो हो। तर, शासकको सोचलाई साथ दिँदै काठमाडौं महानगरले कोरोना भाइरसको संक्रमणको भयावह अवस्थामा जस्तो भूमिका खेलेको छ त्यसले उसको पहिचान स्खलितमात्र होइन, पूरै प्रदुषित बनिसकेको पुष्टि गर्छ। काठमाडौं नगरपालिकाबाट जब काठमाडौं महानगरपालिकामा यसको रुपान्तरण भयो व्यङ्ग्य गर्नेहरुले छोटकरी नाम दिएका थिए - कामनपा। यथार्थमा त्यो व्यङ्ग्यलाई यतिखेर मेयर विद्यासुन्दर शाक्यले यथार्थमा परिणत गरेका छन् - काठमाडौं महानगरपालिका वास्तवमै कामनपा हो। यसको कुनै हैसियत छैन।
जनमतको उन्माद, दलीय गुटगत राजनीतिको गोलचक्कर र सत्ता समिकरणमा भुलेको सरकारले जनताको दैनिकीसँग जोडिएका आधारभुत विषयलाई सम्बोधन गर्न कुनै पनि कोणबाट सकेको छैन। सरकारको अनुपस्थितिले स्थिति भयावह बन्दै गयो। रोजीरोटीका लागि श्रम बेच्नेहरु बेसहारा बने। ठीक यही परिस्थितिलाई देखेर मन बुझाउन नसक्ने समूहहरु भोकाको पेट भर्न सक्रिय भए। उनीहरुलाई प्रोत्साहन गर्नुको साटो कामनपाले शहर फोहर भएको देख्यो। कैयौं दिन थुप्रिएको फोहर नदेख्ने महानगरले मानिसहरुको पेट भरिँदा असभ्यता महसुस गर्यो।