पवनबर्षा शाह
नियमित उपचारमा अस्पताल जाने क्रममा मेरो सासूमुमालाई कोरोना संक्रमण भएको थाहा भयो।
अन्य उपचार विधिले निको नभएपछि उहाँलाई प्लाज्मा दिनुपर्यो। आईसीयूमा २२ दिनको उपचारपछि सासुमुमालाई घरमा ल्याइयो।
म सुत्केरी भएको तीन महिना मात्र भएको थियो। ससुराबुबा पनि अस्पतालमा कुरुवा बस्नु भएकोले घर आएपछि एकहप्ता छुट्टै बस्नुभयो। सासूमुमालाई डाक्टरको सल्लाहअनुसार २४सै घण्टा अक्सिजन दिनुपर्ने अवस्था थियो।
बिरामी र बालबच्चासहित सबैको स्याहारसुसार गर्ने जिम्मा ममाथि आइपर्यो। सासुमूमाले अक्सिजनसमेत खोल्न र बन्द गर्न सक्नुहुन्थेन।
अक्सिजन दिइएको बिरामी, ससुराबुबा क्वारेन्टिनमा, देशबाहिर पढेको भएर राम्रोसँग नेपाली नआउने छोरीको अनलाइन क्लास र तीन महिने दूधे बालकको स्याहारमा २४सै घण्टा खटेँ। अक्सिजन सिलिन्डरको रेगुलेटर बिग्रेको रहेछ। पहिलो पटक प्रयोग गरेको हुँदा त्यसलाई बदल्नुपर्छ भन्ने जानकारी भएन। म केही दिन रातभरी सुतिनँ। प्रत्येक घण्टा जाँदै हेर्दै मात्रै गरिरहेँ।
तीन महिने सुत्केरी मान्छे २४सै घण्टाको खटाइ र थकाइले होला निकै कमजोर भएँ। दिमाग समेत अलि ढिलो चलेजस्तो अनुभूति हुनथाल्यो। कुनै काम गर्दा केहीबेर सोच्नुपर्ने, रोकिनुपर्ने। पहिले त्यस्तो कहिल्यै हुँदैनथ्यो।