बर्माको दसैं
टीका, जमरा, खसीको मासु। सेलरोटी, तास, साथीसंगी। आमाबा, दाजुभाइ, दिदीबहिनी, ससुराली, इष्टमित्र। चंगा, पिङ। गाउँ, आशीर्वाद, दक्षिणा। दसैं भनेपछि यिनै चिज, वस्तु र भावनामा मन जातोझैं घुम्दो रहेछ।
पत्रिका (अनलाइनसमेत), रेडियो, टिभी र सामाजिक सञ्जालमा झ्याम्मिन थालेपछि दसैंका लागि सिफारिस गरिएका पुस्तक, फिल्म र घुमघामका लागि जाने ठाउँ पनि दसैंछेक बाटो छेक्न आउँदा रहेछन्। पछिल्लो समय दसैं बेलाको ध्यान पनि चलेकै छ।
यसअघिका दसैं, हातका औंलामा गन्न सकिनेबाहेक, गाउँघरमै आमाबाका हातको टीका लगाएर मनाएको सम्झना छ। एकपटक दसैं 'विपश्यना ध्यान' मा गएर बसियो। अर्कोपटक साथीको लहलहैमा लागेर विदेश घुम्न गइयो।
एकपटक ट्रेकिङ भन्दै हिमालतिर पुगेर दसैं मनाइयो। दुईपटक भने 'टेलिभजनको काम, दसैंमा पनि बन्द गर्न मिल्दैन' भनेर हाकिमले दसैं बेला काम गर्ने कारिन्दाको सूचीमा आफ्नो नाम राखिदिएपछि काठमाडौंमै मनाइयो।
वैदेशिक रोजगारीमा हिँडेपछि पनि वर्षभरीको बिदा दसैंलाई साँचेर गाउँ पुग्ने गरेको थिएँ। तर परिस्थितिको तकाजाले यसपटकको दसैं बर्माको ठूलो सहर रंगुनमा मनाउनुपर्ने अवस्था आइलाग्यो।