भारतको बिहारसँग दक्षिणी सीमा जोडिएको नेपालको प्रदेश नम्बर २ मा सत्तारुढ नेकपाभित्र ‘बिहारी शैली’ को राजनीति हावी भएको छ । पार्टीभित्रका दुई–गुटको भिडन्तमा घाइते भएका पर्सा जिल्ला कमिटी सदस्य समेत रहेका विन्दबासिनी गाउँ कमिटी सचिव मुकेश चौरसियाको गत साता मृत्यु भएपछि ‘बिहारी शैलीको राजनीति’ छताछुल्ल भएको हो ।
सन् १९९० को दशकमा भारतको बिहारमा लालुप्रसाद यादव, उत्तरप्रदेशमा मुलायमसिंह यादवले स्थापित गरेको ‘जबर्जस्त शैली’को राजनीति प्रदेश २ मा अहिले अभ्यास भइरहेको छ । त्यहाँ व्यक्तिपिच्छेका गुट छन् । धनबल र बाहुबलको तागतको बोलबाला छ । अनैतिक काम गर्ने ठेकेदार, तस्कर र ‘बाहुबली’ को प्रभाव बढ्दैछ । एउटाले अर्कोलाई नेता नमान्नु यहाँको विशेषता हो ।
राजनीतिक संस्कार र लोकतान्त्रिक संस्कार यहाँ हराउँदै गएको छ । माथि अध्यक्ष/वरिष्ठ नेताको चाकडी गर्नु र त्यसैको बलमा तलका लाई चाकडी गराउनु अनि आफूले भनेजस्तो गरी हुकुमी शासन गर्नु यहाँको आम चरित्र बन्दै गएको छ । तर्कमा आधारित राजनीतिक कार्यकर्ताको होइन, आफ्ना आदेशपालक अनुयायी बनाउने अभियान तीव्र छ । राजनीतिक व्यक्तिहरु किनारा लाग्दै छन् ।
पहिलेको जिमिदारीको अर्को रुवरुप ठेकेदार, ‘तस्कर’ को प्रभाव पार्टीभित्र बढिरहेको छ । यसले चुनाव खर्चिलो हुँदै गएको छ । तर्क र मूल्यको राजनीतिका वकालत गर्नेहरु चुनाव लड्न नसक्ने अवस्थामा पुगेका छन् । यसको पछिल्लो मार नेकपाले व्यहोर्नुपरेको छ ।
प्रदेश कमिटीदेखि नेकपाका प्रत्येक कमिटीका अधिवेशन, बैठक र सपथग्रहणमा झडप र कुटपिट भएका छन् । यसैको पछिल्लो उदाहरणको पर्साको विन्दवासिनी घटना । उक्त घटनामा नेकपा जिल्ला कमिटी, पर्साका सदस्य रहेका गाउँ कमिटी सचिव मुकेशको मृत्यु भएपछि नेकपाको प्रदेश राजनीति छताछुल्ल भएको छ।
यस्तो थियो बिन्दबासिनी घटना
एक साताअघि कात्तिक ६ गते विन्दबासिनी गाउँ कमिटीको सपथग्रहण राखिएको थियो । पार्टीभित्रको दुई समूह प्रचण्ड र माधवकुमार नेपाल समूह एक जुट भएपछि सर्वसम्मतिमा गाउँ कमिटीको नेतृत्व चयन गरिएको थियो । मुकेश साविक माओवादीका नेता थिए ।
सपथग्रण समारोहको प्रमुख अतिथि प्रदेश सहइञ्चार्ज नागेन्द्र चौधरीलाई बनाइयो । सो क्षेत्रका पूर्वसांसद् राजकुमार गुप्ता असन्तुष्ट थिए । पार्टी जिल्ला कमिटी सदस्य गुप्ता ‘आफ्नो क्षेत्रमा’ आफूलाई प्रमुख अतिथि नबनाई चौधरीलाई बनाएकोमा असन्तुष्ट थिए। उनी समारोहमा नगई वीरगञ्जस्थित घरमा गएर बसे ।
नेकपाको असन्तुष्ट समूह सपथग्रहणमा समेत सहभागी भएन । बरु त्यो समारोह बिथोल्न लाग्यो, बाँसका लाठी बोकेर आक्रमण गर्न गयो । यो गुप्ताले गराएको विरोधी समूहको आरोप छ । प्रदेश नम्बर २ को राजनीतिमा यसो गर्नु ‘परम्परागत राजनीतिक अभ्यास’ हो ।
दुई समूहबीच भएको भिडन्तमा मुकेशको टाउकोमा चोट लाग्यो । उनी गम्भीर घाइते भए । अस्पताल भर्ना गरिएका उनको भोलिपल्ट कात्तिक ७ गते मृत्यु भयो । मुकेशको मृत्यु योजनाबद्ध रुपमा गरिएको हत्या त थिएन तर मृत्युपछि यसमा गुटगत राजनीति सुरु भयो ।
अपराधीलाई कारवाही गर्नभन्दा पनि एक समूह अपराधी जोगाउन लाग्यो भने अर्को समूह यसलाई राजनीतिकरण गर्न क्रियाशील भयो । नेकपा पर्सा जिल्ला अध्यक्ष प्रभु हजारासहित साविक माओवादी र साविक एमालेको माधव नेपाल समूहले उक्त हत्या पूर्वसांसद् राजकुमार गुप्ताले गराएकोले उनलाई कारवाहीको माग गर्दै सडकमा उत्रियो। प्रधानमन्त्री केपी ओलीले गुप्तालाई जोगाउन खोजेको आरोप लगायो ।
वरिष्ठ नेता नेपालले कात्तिक ७ गते नै आफ्नो फेसबुक पेजमा स्ट्याटस लेखे– अपराधीमाथि कारवाहीको माग गरे । त्यसको दुई दिनपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्को वक्तव्य जारी गरे जसमा भनिएको थियो, ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह ....... गर्दछु ।’
त्यसपछि यो घटनामा नेकपाभित्रका दुवै गुटले राजनीतिक प्रभाव बढाउन खोजे । नेपाल पक्षका नेता सुरेन्द्र पाण्डे, प्रचण्डनिकट मातृका यादव लगायतका नेता पनि वीरगञ्ज पुगे ।
मुकेशको मृत्युलगत्तै प्रहरीले वीरगञ्जस्थित गुप्ताको घरमा छापा मारेर उनीसहित चार जनालाई पक्राउ गर्यो । भिडन्तको बेला गुप्ता वीरगञ्जमै भएको पाएपछि उनलाई छाडिदियो । प्रचण्ड–नेपाल पक्षधरले सडक आन्दोलन थाले । प्रधानमन्त्री ओलीको दबाबमा प्रहरीले गुप्तालाई छाडेको आरोप लगाउँदै पर्साका प्रहरी प्रमुख गंगा पन्तलाई कारवाहीको माग सडकबाट भयो ।
प्रहरीले जाहेरी दर्ता गर्न मानेन– घटनामा असम्बन्धित व्यक्तिलाई समेत मुछिएको कारण देखाउँदै । प्रहरीले दर्ता नगरेको जाहेरी बिहीबार सरकारी वकीलको कार्यालयमा दर्ता गरिएको छ, जसमा १२ जनालाई दोषी किटान गरिएको जनाइएको छ । अब मुकेशको दाहसंस्कार गरिने छ । अनि प्रहरीले अनुसन्धान बढाउने छ ।
प्रदेश नेतृत्वमा 'ओली गुट', अरु सबै एकजुट
प्रदेश नम्बर २ कमिटीको इञ्चार्ज सत्यनारायण मण्डल हुन् भने अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल । प्रदेश सहइञ्चार्ज गुटैपिच्छेका छन्– माधव नेपाल पक्षका नागेन्द्र चौधरी, पूर्व जनमोर्चा (नारायणकाजी श्रेष्ठ) पक्षका विश्वनाथ साह र माओवादी (मातृका यादवनजिक) का नागेन्द्र पासवान ।
वरिष्ठ नेता माधवकुमार नेपाल, प्रदेश नेतृत्वमा रहेका बाहेक पूर्वमन्त्री रामचन्द्र झा, स्थायी कमिटी सदस्यहरु मातृका यादव र रघुवीर महासेठ यो प्रदेशका प्रभावशाली नेता हुन् । केन्द्रमा प्रचण्ड समूहकै भए पनि मातृका यादव र प्रभु साहको प्रदेश राजनीति मिल्दैन । सविक एमालेका नेताहरु पूर्वमन्त्रीद्वय रामचन्द्र झा र रघुवीर महासेठको शैली विल्कुलै मिल्दैन ।
केन्द्रमा ओलीविरुद्ध माधव–प्रचण्ड एक भए पनि नेपालकै गृहजिल्लाका प्रभु साहको राजनीति नेपालविरुद्ध केन्द्रित छ । नेपाल मूल्यको राजनीतिका कुरा गर्छन्, साह ‘विहारी शैली’ मा विश्वास गर्छन् । हाल स्थायी कमिटी सदस्य नरहे पनि उक्त प्रदेशका नेतामध्ये तर्क, बौद्धिक क्षमता र संगठनमा सबैभन्दा कुशल नेता पूर्वमन्त्री रामचन्द्र झा देखिन्छन् । पदीय हिसाबले यो समूहको नेता मातृका यादवजस्तो देखिए पनि यसको चुरो भने झा रहेका छन् ।
ओली पक्षको नेताका रुपमा प्रदेश इञ्चार्ज मण्डल देखिए पनि सो समूहलाई महासेठले चलाउने गरेका छन् । केहीअघिसम्म उनी वामदेव गौतमनिकट भए पनि अहिले ओली पक्षमा पुगेका छन् । तर्क र बुद्धिभन्दा पनि पैसा र सत्ताको बलमा नेता बनेका उनको प्रदेश अध्यक्ष प्रभु साहसँग पनि शैली मिल्छ ।
केन्द्रमा पनि महासेठको कुराको सुनुवाई हुने भएकाले ओली पक्षका धर्मनाथ साह, रामप्रित पासवान, श्रीप्रसाद साह लगायतका केन्द्रीय नेता पनि मातृका यादव, रामचन्द्र झाको कित्तामा पुगेका छन् । प्रचण्डसँग अलग भएर पार्टी चलाएकाले प्रदेश २ का सबै जिल्लामा ‘मातृकाका मान्छे’ त छन् नै, तर सो समूहलाई संगठित गर्न पूर्वमन्त्री रामचन्द्र झाले काम गरेका छन् ।
झा हाल वरिष्ठ नेता माधवकुमार नेपालसँग निकट छन् । उनले साविक एमालेलाई एकतृत गरिरहेका छन्, जसमा महासेठको शैलीसँग असहमत साविक ओली गुटका नेताहरुसमेत छन् । एमालेमा छँदा महासेठकै कारण दिक्क भएर पार्टी छाडी माओवादी प्रवेश गरेका थिए– झा । उनको प्रचण्डसँग पनि समदूरीको सम्बन्ध छ। सविक माओवादीका मातृका यादव र रामचन्द्र झा एक जुट हुँदा ओली समूहभन्दा शक्तिशाली देखिएको छ ।
नेकपामा प्रदेश २ बाट वरिष्ठ नेता माधव नेपालसहित ६९ जना केन्द्रीय सदस्य छन् । जसमध्ये महासेठको विपक्षमा दुईतिहाईभन्दा बढी एजुट भएका छन् । पर्सा घटनाबारे बुधबार बर्दिबासमा दुई दिने बैठक गरी फोनबाट सहमति दिनेसहित ३७ जनाले वक्तव्य जारी गरे पनि यो समूह अझै ठूलो हुनसक्ने अनुमान छ ।
प्रभु साहको तत्कालीन माओवादीले साविक भोजपुरा राज्य भन्ने गरेको गृहजिल्ला रौतटहसहित बारा र पर्सामा प्रभाव छ । महासेठको भने पार्टीभित्रका पैसावाल, व्यापारी र ठेकेदारमा प्रभाव रहेको छ । यो प्रवृत्तिलाई स्वीकार गर्न नसक्ने र जुध्ने तागत पनि नभएको ओली पक्षका नेताहरु पनि मातृका यादव र रामचन्द्र झाले नेतृत्व गरेको समूहमा पुगेका छन् । ०६८ सालमा लोकतान्तिक मधेशी मोर्चामार्फत् नेकपा प्रवेश गरेका पर्साका राजकुमार गुप्ता पनि महासेठनिकट हुन् ।
'मसल' र 'मनी पावर'
प्रदेश इञ्चार्ज मण्डल प्रदेशसभा संसदीय दलका नेता छन् । उनी पाका नेता हुन् । उनलाई प्रदेशसभामा नेपाल पक्षका शत्रुधन महतोले नेतृत्व गर्ने समूहले नेता स्वीकार गर्दैन । त्यसैले प्रदेशसभामा सबैभन्दा ठूलो पार्टी हुँदासमेत नेकपाले प्रदेश–सत्ताको दाबी देखाउन सकेन ।
प्रदेश नम्बर –२ को सबैभन्दा मुख्य समस्या हो– राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण । नेकपाभित्रका सबै समूहलाई गाँज्दै गएको ‘बिहारी शैली’ पर्सा घटना भएको हो । त्यसमा प्रहरीलाई स्वतन्त्र अनुसन्धान गर्नबाट नेकपाकै गुटगत राजनीतिले बाधा गरेको छ । कार्यकारी अध्यक्ष प्रचण्डले पर्साको प्रहरी प्रमुखविरुद्ध वक्तव्य जारी गरेका छन् । यसले न्याय निरुपणमा अवश्य बाधा गरेको छ । प्रधानमन्त्रीले अनुसन्धान प्रभावित गर्न खोजेको आरोप नेकपाकै स्थायी कमिटी सदस्यहरुले लगाएका छन् । यो अवस्थाले विधिको शासनलाई कमजोर बनाएको छ।
सबै पक्षले पर्सा घटनाबाट पाठ सिक्नुपर्ने हो । योजनाबद्ध भए पनि नभए पनि व्यक्तिको ज्यान गएको छ । यसविरुद्ध दन्केको आगोमा गुटगत राजनीतिको रोटी सेकाउन लाग्नु निन्दनीय छ । घटनाका अपराधीलाई कारवाही गर्ने प्रतिबद्धता सबै पक्षबाट आउनुपर्ने हो । यस्तो प्रवृत्तिले निरपराध व्यक्तिमाथि दाग लाग्ने र वास्तविक अपराधी जोगिने अवस्था आउन सक्छ ।
दण्डित हुने व्यक्तिको अन्तर्आत्माले पनि आफूमाथि अन्याय नभएको स्वीकार्न सके मात्र लोकतान्त्रिक न्याय प्रणालीमा जनआस्था बढ्छ तर पक्ष र विपक्षमा शीर्षनेताबाट जारी हुने वक्तव्य र त्यसबाट बचाउन अर्को पक्ष क्रियाशील हुँदा न्याय मर्छ । अपराधी चाहिँ बाँच्छ । यसले आज गुटलाई त फाइदा गर्ला, दीर्घकालमा सबैलाई घाटा मात्रै गर्ने छ ।
पर्साको विन्दवासिनी घटनाले विवादले एक साता वीरगञ्जलाई बन्दी बनाएको छ । अहिले गुटको पक्ष र विपक्षमा लाग्ने नेताहरुले केही समयपछि नै उक्त घटनालाई बिर्सने छन् तर परिवार र समाजले यो घटनालाई लामो समयसम्म बिर्सनसक्ने छैन । प्रदेशको नेकपाको आन्तरिक राजनीतिलाई पनि यसले दीर्घकालसम्म प्रभावित गरिरहने छ ।