एकै परिवारका चारदेखि ८० वर्षसम्मका १३ जनाले घरमै बसेर यसरी जिते कोरोना

नेपाल खबर

काठमाडौँ
तस्बिर : नेपाल खबर

यज्ञराज जोशी

मोरङको लेटाङ नगरपालिकामा चारदेखि ८० वर्ष उमेर समूहका एकै परिवारका १३ जनाले कोभिड–१९ संक्रमणबाट निको भएका छन्। उनीहरुले होम आइसोलेसनमै बसेर कोरोनालाई परास्त गरेका हुन्।

पूर्वशिक्षक समेत रहेका हेरम्ब भट्टराईकी ८० वर्षीय आमा, बुबा तथा दुईजना चारवर्षका बालबालिकासहित १३ जना होम आइसोलेसन बसेरै सो रोगलाई पार लगाएका हुन्। उनीहरु २९ दिनसम्म आइसोलेसनमा बसेका थिए।

साउन १८ गते ८० वर्षे बुबा अनन्तराजको स्वास्थ्यमा समस्या आएपछि बुबालाई जेठाछोरा हेरम्ब (६० वर्ष) र कान्छा छोरा पिताम्बरले विराटनगरस्थित नोबेल अस्पताल लगेका थिए। शल्यक्रिया गर्नुपर्ने भएपछि छोराहरुले बुबालाई विराट मेडिकल कलेज पुर्‍याए।

हेरम्बलाई १० दिन अस्पतालको बसाईको क्रममा कोरोना सरेको आशंका छ। ‘गाउँघरतिर त सावधानी अपनाएकै थियौं। अस्पतालबाटै सर्‍यो भन्ने आशंका छ,’ हेरम्बले नेपालखबरसँग भने।

अस्पताल बसेर घर फर्किएको तेस्रो दिनमा हेरम्बलाई ज्वरो आउने, जिउ कटकटी खाने, हातखुट्टा दुख्ने हुन थाल्यो। संक्रमणको शङ्का लागेपछि उनी अलग्गै कोठामा बस्न थाले। अर्कोदिनदेखि त ज्वरो बढेर उठ्नै नसक्ने स्थितिमा पुगेको अनुभव उनी सुनाउँछन्।

भाइ र जेठी छोरीलाई पनि ज्वरो देखियो। त्यसपछि वडा कार्यालयसँगको समन्वयमा तीनै जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरियो। चार दिनपछि आएको रिपोर्टमा तीनै जनामा संक्रमण पुष्टि भयो।

प्रकाशित मिति: : 2020-10-29 20:30:00

प्रतिकृया दिनुहोस्