चुच्चे नक्सा जारी भएकै वर्ष दार्चुलाले गुमायो लिम्पियाधुरासम्म नेपालको हक खोजि गर्ने नेता

नेपाल खबर

महेन्द्रनग
फाइल तस्बिर

गोकुल जोशी

यो वर्ष जेठ ७ गते सरकारले भारतीय अतिक्रमणमा परेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गर्‍यो।

वर्षौदेखि भारतीय कब्जामा रहेको दार्चुला जिल्लामा पर्ने सो भूमिलाई सरकारले नक्सामा समेटेपछि सो जिल्लामा मात्र नभई देशभर नै त्यसलाई राष्ट्रिय गौरवको रुपमा लिइएको छ।

सो क्षेत्र नक्सामा समेटिने मात्र नभई तथ्य र प्रमाणका आधारमा अतिक्रमित भूमि फिर्ता पाउनेमा जिल्लावासी आशावादी छन्।

अतिक्रमित भूमि नक्सामा समावेश भएको ऐतिहासिक खुसियाली साटिरहेकै बेला सोही अभियानमा दशकौंदेखि निरन्तर खटिएका योद्धालाई भने दार्चुला जिल्लाले गुमाएको छ।

कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि नेपालको हक खोज्ने दार्चुलाका नेता वीरबहादुर ठगुन्नाको बुधबार निधन भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दार्चुलाका नेता ठगुन्नाको बिहीवार (आज) बिहान १० बजे पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

तीन वर्षदेखि क्यान्सर रोगबाट ग्रस्त ठगुन्नाको उपचारको क्रममा काठमाडौँमा निधन भएको हो।

अतिक्रमित भूमि सहितको नक्सा सार्वजनिक भएपश्चात् ती क्षेत्रका बासिन्दाहरुसँग खुशी साट्न नपाउँदै अस्ताए ठगुन्ना।

भारतद्वारा अतिक्रमित भूमिमा नेपालको हक खोज्ने लडाईंमा उनको योगदान महत्वपूर्ण रहेको दार्चुलावासी बताउँछन्।

प्रकाशित मिति: : 2020-10-29 13:41:00

प्रतिकृया दिनुहोस्