सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार !
नेपालमा कोरोना महामारी सुरू भएलगत्तै कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालको म एक फ्रन्टलाइन चिकित्सक हुँ।
समाचारहरूमा 'पाटन अस्पतालमा धेरै कोरोना ग्रसित बिरामी मर्छन्' भनेर आउँछ। समाचारले गलत बोलेको होइन। तर भित्री सत्य लुकाएको हो वा थाहा नपाएको हो?
हामीकहाँ अधिकांश बिरामी कोरोनाले ग्रस्त र सिकिस्त भएपछि अरूतिरबाट रिफर भएर आउँछन्। एक मिनेटमा १५ लिटरसम्म अक्सिजन दिनुपर्ने र दैनिक चार-पाँच जना भेन्टिलेटरमा राख्नुपर्ने कोरोना बिरामीहरूको अनवरत उपचार गर्दै आइरहेको अस्पताल हो, पाटन अस्पताल।
यो त कोभिड आइसियूको मात्रै कुरा भयो। आइसोलेसन वार्ड पनि कोरोना बिरामीले भरिएका छन्। हरेक दिन बिहान अस्पतालको गेटनजिकै आइपुग्दा लाग्छ- कुनै युद्धभूमिमा पाइला टेक्न जाँदैछु।
बिरामीको चाप बढी छ र सिकिस्त बिरामीको बाहुल्यता।
प्रधानमन्त्रीज्यू, यस्तो परिस्थितिमा अस्पतालमा हुने मृत्युलाई धेरै बेर धकेलेर राख्न हामीलाई हम्मेहम्मे परिरहेको छ। एक चिकित्सकको धर्मले बिरामी र मृत्युबीच खडा रहने काम हामीले गरी नै रहेका छौं, गरी नै रहने छौं।
कोभिड आइसियुमा ड्युटी गर्दा सबभन्दा गाह्रो काम के होला?- ड्युटी सकी घर आएर बिछ्यौनामा पल्टिँदा यो प्रश्न आफैंलाई सोध्ने गरेको छु।