रेडियो भित्रबाट बिहानी पखको समाचार सकिएको सन्देश आयो।
यसपालि गाउँमा पनि पोहोर परार जस्तो रौनक छैन। दशैको रौनक त रत्तिभर छैन तर मौसम भने दशै आएको संकेत दिइरहेछ। विहानी पख अलिअलि कुइरो लागेको देखिन्छ। (बिहान उठ्नुपर्छ त्यसका लागि) पोहोर झैँ यसपालि पनि दशै अघि नै धान काटेर, माडिसकेपछि सुकाउन राखिएको छ आगनमा। कान्छा खत्रीको नाति रुँदै थियो।
घर नजिकै गएर ‘कहिल्यै नरुने रन (पुरानाम रनबिर खत्री) आज किन रोएछ?’
‘यसका बा ले अरुबेला नयाँ कपडा पठाउँथ्यो। अहिले साल यस्तै छ। हेर्न, भोलि किनिदिउँला भनेको मान्दैन।’ कान्छा खत्री बोले।
‘आजै किनिदिए भैगो त।’ मैले सम्झाए जस्तो गर्दै गरेँ।
‘अस्ति शनिबार समुहमा ऋण मागेकी छु। भोलि दिन्छन् अरे। त्यही पैसाले किनिदिउँला भनेकि छु।’ कान्छा खत्री कि घरिनाले मधुर स्वरमा भनिन्। (खत्रेनी काकी)
‘ए... लौनुस, हिजो बेलुकी बुवाले दौराको कपडा ल्याएर आइस भनेर दिएको पैसा हो यो। आज उदारो दिहाल्छ साथीले भोलि तपाईको आएपछि तिरौँला। यसलाई चाहिँ अहिले ल्याइदिनस्।’
‘नाइँ, नाइँ बाबू राख्नुस्। यसलाई भोलि किने पनि हुन्छ। नरो तँ भोलि किनौँला।’ भाउजुले ( कान्छ खत्रीकि बुहारी) रनलाई हकार्दै भित्र जान संकेत गरिन।
‘होइन, होइन यसलाई नरुवाउनुँस्, विचरा। उसका साथीहरुले नयाँ लुगा लगाएको देख्दा नरमाइलो लाग्ला। बरु मै गएर किनेर ल्याइदिन्छु। बस् आइजो गाडीमा।’ रन दगुर्दै बाइकमा बस्यो। बजार गएर उसका लागि भेष्ट र जिन्सको पाइन्ट र बुवाको दौराको कपडा ल्यायौँ।
म खान खाइ नसक्दै नयाँ लुगा लगाएर खुशी मुद्रामा बुरुकबुरुक उफ्रदैँ रन आइपुग्यो।
‘बज्यै बज्यै सचिन अंकलले नयाँ कपडा किन्दिनु भयो।’
हाम्री आमालाई देखाउन थाल्यो।
‘छ्या आक्का रैछ तैँले लगाको त। हेर मेरो कति हाइ..अ छ।’ आमाले हिलाम्य आफ्नो धोती देखाउँदै जिस्किनु भयो। (हाम्रो तिर केटाकेटिसँग जिस्किने तरिका यही हो। तपाईको तिर फरक केही भए त्यसै गरि सोच्नसक्नुहुन्छ।)
‘अँ खुब मेरो अघि भर्खर किनेको तपाईको हिलै हिलो छ।’
रन दगुर्दै आफ्ना साथी भएतिर गयो।
यसरी अघिल्ला वर्षहरुमा पनि रन खुशी हुन्थ्यो। उसका घरका सबै खुशी हुन्थे। कान्छा खत्रीको छोरा विदेश गएदेखि कहिल्यै ऋण गर्नु परेको थिएन। यसपालि कोरोनाले गर्दा छोरा विदेशमा ६/७ महिना देखि बेरोजगार भएर कोठामै बस्नुपरेको अघिल्लो महिना ऊसँगको संम्वादले थाहा पाएको थिए।
कैयन युवाहरु जो आफ्नी आमाको साडी फेर्न, घरमा टिनको छानो लगाउन, घरको ऋण तिर्न, बालाई दौरा सुरुवालमा ठाँटिएर हिँडेको हेर्न, आफ्ना छोराछोरी र श्रीमती खुशी राख्न विदेशीएका थिए। यस्तै सपना कान्छा खत्रीको छोराले पनि देखेको थियो होला। तर उनीहरु सबको महिनौं देखि रोजगारी गुमेको छ। त्यहाँ बसाइँको आफ्नो खर्च जुटाउन समेत हम्मे हम्मे छ।
युवाहरु नेपाल फर्किन नचाहेको पनि होइनन्। सरकारले आफ्नै खर्चमा आउनु पर्छ। आफ्नो खर्चमा उपचार गर्नुपर्छ। आफ्नै खर्चमा क्वारेन्टाइन बस्नुपर्छ भनेर विज्ञप्ति निकाले पछि सक्नेहरु ऋण गरेर पनि आए, नसक्नेहरु उतै भयभित भएर बसेका छन्।
म बाहिर आगनमा सुकाइएको विस्कुनमा भँगेरा नआउन भनेर भँगेराको गोठालो बसेको थिएँ। आमाले भित्रबाट सचिन फोन आयो भनेर मोबाइल ल्याइदिनुभयो। ‘ट्रू कलर’ ले कतारबाट फोन आएको संकेत दिइरहेको थियो। फोन उठाए।
हेल्लो भन्न नपाउँदै उताबाट आत्तिएको स्वरमा कोहि बोल्यो ‘सचिन सचिन, यहाँ रत्न सिरियस बिरामी परेको छ। कोरोना पोजिटिभ देखियो हिजो।’
यति भनेपछि फोनमा बोल्ने रत्न (कान्छा खत्रीको छोरा) सँगै बस्ने पुर्वी रुकुमको साथी ‘सागर’ हो भनेर चिने। पहिले रत्नसँग कुरा हुँदा उसँग पनि सामान्य कुराकानी भएको थियो। त्यसपछि हामी फेसबुकमा जोडियौँ। अनि अहिले उसँग कहिले कसो रिचार्ज पठाइदिने सम्मको साथीत्व छ।
‘ओहो! अनि उपचार भैराकै होला। घरकालाई खबर गर्याै त?’
‘छैन। तिमीले भन्देउला भनेर तिमीलाई नै फोन गर्या। छोरा सिकिस्त बिरामी भएको खबर कसरी दिउँ यार?’ अहिले ऊ मलिन भएर कुरा गरिरहेको थियो।
बिहान मात्रै रनलाई खुशी पार्दा घरका पनि खुशी देखिन्थे। अब फेरि दुखी हुने खबर लिएर कसरी पो जाने होला। सोच्न बाध्य भएँ एकछिन। तर पनि मलिन अनुहार लिएर कान्छा खत्रीको घर गएँ।
रन आगनमा सुकाएको बिस्कुन खेल्दै हजुरआमालाई सताइरहेको थियो। ( कति बिस्कुनकै कुरा गरेको भन्नुहोला यो अन्न भित्राउने समय पनि हो।)
‘काकी के छ? अहिले त रोएको छैन यो?’
रन मेरो छेउमा आइसकेको थियो, त्यतिन्जेल।
‘हेर्न अघि कपडा ल्याएदेखि नखोली घरी ओल्लो घर, घरी पल्लो घर गरिराख्या छ। यो हिजो दाएको धान भकारीमा राख्यौँ। पुरानो धान र अलिकती नयाँ धान कुटाउनु पर्याे भनेर सुकाउन राख्याैँ। खुट्टाले उछिट्याएर हैरान गरिसक्यो।’ काकीले गुनासो गरिन।
‘रन जा पानी ल्याएर आइजो।’ छोराको अघि उसको बुवा बिरामी छ भन्ने आँट आएन मलाई। उसलाई पानी ल्याउने निहुँमा पठाए।
‘काकी रत्न सँग केही कुरा भाछ कि आजभोली?’
‘खोइ, दुई तीन दिन कति भयो। बुहारीसँग पनि कुरा भाको छैन अरे। म सँग त झन् मोबाइल पनि छैन।’ काकीले कुनै कुराको पनि शंका नगरी यति भनेपछि मलिन स्वरमा रत्न बिरामी छ रे केही नमान्नु भनेको छ भनेर सुनाएँ।
‘लौन! के भएछ? ए बुहारी सुन त! जेठो बिरामी छ अरे।’ काकी हत्तारिदै यति भनेपछि भाउजू भित्रबाट बोल्नुभयो,‘मेरो पनि कुरा नभएको धेरै भयो। के भएछ? कस्तो छ अरे बाबू?’
‘केही होइन अलि अलि ज्वरो आको छ रे।औषधि खाँदैछ। ठिक भैहाल्ला। फोन गर्न पाको छैन, तँ सुनाइदे है भन्दै थियो अघि।’
मलाई आमाको अघि छोरालाई कोरोना पोजिटिभ भएर ‘आईसीइयु’ राख्या कुरा सुनाउने आँटै आएन। झुटो बोल्यो नठान्नुस् है त।
‘ए खत्रीनी काकी, यहाँ तपाईको गाइले साग खाइसक्यो।’ करेसाबाट आवाज आएपछि त्यतै दगुरिन काकी।
मैले पनि यहि मौका खोज्या थिए।
‘भाउजू रत्नलाई कोरोना लागेछ। आइसोलेसमा राख्या छन रे।’ एक सासमा भनिदिएँ।
भाउजू आँखा भरी आँसु ल्याएर बोल्नुभयो। ‘तीन चार दिन अघि कुरा हुँदा घाँटी दुखिराछ। ज्वरो पनि आइराको छ। जिब्रोले संवाद पनि पाउन छोड्यो भन्दै हुनुहुन्थ्यो।’
‘अँ हिजो मात्रै रिपोर्ट आयो रे। अहिले आईसीइयु राख्या छन् रे।’ मलाई ऊसँगै बस्ने सागरले फोन गर्या थिएँ।
यति भन्दै थिएँ, ‘कठ्ठै मेरो एक्लो छोरालाई यो के भयो होला। यो बिराम पनि कहाँबाट आयो होला। रेडियोले दिनमा कति मर्याे मात्रै भन्छ।’ रुँदै खत्रीनी काकीले मलाई रत्न लाई फोन लगाउन भनिन्।
(काकीलाई नसुनाउन खोजेको सबैकुरा सुन्नुभएछ। काकी रोएको देख्दा म पनि एकछिन मलिन भएँ।)
‘काकी नआत्तिनुस् निको भैहाल्छ। पारी थापाको छोरालाई त सन्चो भइसक्यो। रत्नलाई पनि केही हुन्न। यो रेडियो र अरुले मरेको मात्रै कहाँ सुनाउँछन्, त्यहाँ ठिक भएको पनि भन्छ। मान्छे यो रोग लागेर केहि भैहाल्ने भन्ने हुँदैन। यो रोग पनि अरु रोग जस्तै निको हुने रोग हो। हामीले नबुझेर मात्रै हो। अघि म सँग कुरा हुँदा अस्पतालमा छाैं। बिहान फोन गर्नु भनेर भनेका थिएँ।’ यत्ती भनेर काकीलाई सान्त्वना दिएँ।
काकी रुँदै थिइन्। भाउजू टोलाएर बसेकी थिइन। रन भित्र टि भि हेर्दै रमाएको थियो। खत्री काका दशैँका लागि बोको ल्याएर आइपुगे।
आगन छेउको खाली ’किलो’मा बोका बाँध्दै। के ‘भयो यिनका सासू बुहारीलाई? ए रत्न कि आमा यो बोको ठिकै होला नि यसपालिको दशैँका लागि। ११/१२ घर छन् हाम्रा।’
म भए ठाउँ आएर गोजीबाट पैसा झिक्दै, अघि रनलाई किनेको कपडा कतिका हुन् ल भन्दै तीन हजार थम्याउन खोजेँ।
‘होइन राख्नु न अहिले। कहाँबाट ल्याउनुभयो, बोको र पैसा?’
‘पारी जेठदाइको छोराले दस हजार लग्या थियो। त्यही मागे। सात हजार बोकालाई तिरे। ल यो तीन हजार बच्या छ।’
‘ठिकै छ राख्नु न अहिले पछि दिनुहोला।’
अँ के भयो यिनीहरुलाई? फेरि झोक्रिएका सासू बुहारी तिर हेर्दै सोधेँ।
‘रत्न बिरामी छ रे काका। त्यही खबर सुनाउन आको रुन थालिहाल्नु भयो।’
‘कोरोना त लागेन कतै?’ काका पनि आत्तिए।
‘हो, कोरोना पोजिटिभ भएछ हिजो। हिजो देखि नै आइसीइयू मा राख्या छ रे।’
‘अस्ति एक दिन कान्छा बुवा (मेरो हजुरबुवा) त भन्नुहुन्थ्यो। रत्नका केतु ग्रह छन् भनेर। एक पटक फेरि जानू पर्ला बिहान हेराउन। केही हुन्न छोरालाई, यो पाली केतुको पुजा पनि गरौँला बरु। ग्रह शान्त भए पछि केही हुन्न। जा त्यो धान उकेर।’ काकी र भाजुलाई सान्त्वना दिँदै म तलसम्म गएर आएँ भनेर हिँडे।
‘ल काकी, ल भाउजू म लागेन अहिले। भोलि बिहान तपाईहरु पनि आउँनुहोला काकासँगै हेराउन। त्यतिबेला रत्नसँग पनि कुरा गरौँला।’ म निस्किएँ।
बुढा पाखालाई हेराउन कोराउनमा निकै विश्वास हुन्छ। उनीहरु बिरामी पर्दा पहिला झारफुक गर्छन् अनि बल्ल अस्पताल जान्छन्।
म बिहान नउठ्दै, हल्लाखल्ला सुरु भइसक्या थियो। राती अबेरसम्म नसुत्ने बानीले बिहान सात बजे मात्रै उठेँ। फ्रेस भएर बाहिर निस्किँदा हेराउन कोराउन सकिसकेको थियो।
‘काका, काकी, भाउजू नमस्कार है।’ के देखियो धुलौटोमा?
‘ग्रहमा केतु आएर बस्या रैछन्। यसपालि केतुलाई वैदुर्य मणि, सुन, फलाम, कालो तिल, फुस्रो रंगको कपडा, कालो बोको, फलामे भाँडा, नून, फुस्रो रंगको फूल, हात-हतियार, कंबल, नरिवल, सप्तधान्य, कस्तुरी चडाउनुपर्ने देखियो।‘ हजुरबुवाले बेलिविस्तार पार्नुभयो।
‘भोलि कालरात्री भैहाल्यो, म बोको खोज्न गएँ। कान्छा बुवा अरु सामान के के चाहिन्छ, आफै खोजेर राख्नुस् है।’ यति भनेर काका हिँडे।
‘बाबू दाइलाई फोन लागेन?’ भाउजू मलिन भएर सोध्नु भयो।
‘छैन। भाउजू, हिजो आएको नम्बर स्विच अप छ। अनलाइन पनि छैनन्। लाग्यो भने म खबर गरौँला।’
कालो बोको खोज्न हिँडेका काका राती अबेर रित्तो हात फर्केछन्। सायद चाहिएजस्तो कालो बोको पाइएनछ क्यारे। केतुलाई कालो बोको बाहेक अरु नचढ्ने रहेछ।
पात्रहरु सबै काल्पनिक हुन। कसैसँग मेलखाएमा संयोग हुनेछ।
वडा दशैको शुभकामना