आइपुग्ने छैन अब दसैंको बाडुली

हेमन्त विवश

काठमाडौं

घाँस काट्दा बाउलीमा बिझ्यो अथरिङे बिऽन 
लाइदिऊ कि बाडुले खुट्को बिउझाइदिउकि निन (निद्रा)

पुराना डेउडादेखि उखानटुक्काहरु थुप्रै सम्झाइन यसपल्ट देउसराले। भेटमा तेस्र्याइन कैयौ प्रश्नहरु पनि। अनि बारम्बार निकालिरहिन् चाडपर्वहरु र आमाको प्रसंग। 

अँगेनामा भुरभुर गर्ने आगो र एकाएक हिक् हिक् लगिरहने बाडुली सन्देशका सूचक ठान्थे कयौंले  विगतमा। शिरानीमा रखिएका गीतका पंक्ति सम्झाएकी हुन् उनले यसपल्ट। उनले यी पंक्ति सुनाइरहदा मनमा खेलिरह्यो एउटै कुरा  – आइपुग्ने छैन अब दसैंको बाडुली। 

वर्षौसम्म पठाइरहनु भयो आमाले बाडुली। हरेक वर्ष दसै नआउँदै सम्झिनु हुन्थ्यो मलाई। शायद औंलामा दसैं आउने दिनहरु गन्नु हुन्थ्यो होला आमा। घर पुग्दा मैले ढोगेर टाउको ठाडो पार्न खोज्दा मुसार्दै  च्यूँडो झार्नु हुन्थ्यो हर्षका आँसु। 

सुकुम्बासी जिन्दगी बोकेर भौतारिएको मनले सकेन आमाको स्याहार सुसार गर्न। आमाको मसँग बस्ने धोको अधुरै रह्यो। मैले झुपडी बनाएको देख्ने सपना अपुरै रह्यो। दसैं मेरा लागि आमासँग भेटघाट गर्ने पर्व थियो। अचेल लाग्दैन दसैं जस्तो दसैं पनि। आमा धर्ती छोडेर गइसक्नु भयो क्षितिज पारि कतै अज्ञात लोकमा। 

कोरोना कहरका कारण म सम्राटहरुको सहर छोडेर पहाडमा भौतारिरहेको छु। छैन धेरै दिन जन्मेको गाउँमा पनि बस्न सकेको। धेरै भैसक्यो सपनामा आमा नदेखेको पनि। बाडुली नै त अब कहाँबाट आउँथ्यो र। निर्धो बनेर टुलुटुलु हेरिरहेझै लाग्छ आँगन। भत्काइएको घरको अवशेषले बाको याद दिलाइरहेकै हुन्छ। कुन्नि के छ त्यहाँ जहाँ दिनहुँ एक न एकपल्ट पुगिरहन्छ मन। पर्खिरहेझैं लाग्छ ती उकाली ओराली र चौतारीहरुले। उतै छन् जस्तो लाग्छ जीवनका बान्की मिलेका सुन्दर अक्षरहरु पनि। गाउँ, गाउँ मात्रै कहाँ थियो र। धेरै चिजको खानी थियो। जहाँ भेटिन्थे प्रश्न, उत्तर, माया, जीवन, वैभव जस्ता सारा कुराहरु। के भेटिदैनथ्यो र त्यहाँ ? 

यतिखेर त्यही विगतको जिन्दगीका छाल सम्झेर बाँचिरहेको छ मन र समय। विगत त इतिहास बनिसकेकै थियो। गाउँ समेत एक इतिहास भैगएछ मेरा लागि। साक्षी छैनन् मसामु त्यो पलका कुनै मनहरु। आआफ्नो कामको खोजिमा बसाइँ सारेर  हिँडिसके कैयौं मनहरु। को कता छन् को कता। तर, पनि उस्तै छन् त्यो धर्ती र आकाश। अचेल त्यो  आकाश हेरिरहन्छु जो चियाइरहन्थ्यो विगतमा बादलको घुम्टो ओढेर मेरो बस्तीभरि। त्यो समय रहेन अब जो रचिरहन्थ्यो प्रेमको इतिहास। जुनेली रातमा निर्धक्कसँग पैतली मार्ने मनहरु पनि छैनन् यहाँ। 

वर्षौसम्म भेटाइनँ सम्राटको व्यस्त सहरमा जिन्दगीको मंगल धुन। भेटिएन निश्चल निश्कपट मायाको बिनेटो पनि। जहाँ वैभवका सपना उमार्छ मान्छे। फुर्तीफार्तीका मञ्च सजाउछ मान्छे। अनि सानोमा गाउँघरतिर बालबालिकाले कतै प्वालबाट, झयलबाट, जंगलमा रुखको बीचबाट चियाएझैं चियाइरहन्छ राज्यको भँडारमा। मौका खोजीरहन्छ घुस खाने उपायको। आफु मात्रै बन्दैन बेइमान बनाइदिन्छ समयलाई पनि बेइमानी। 

जिन्दगीको, दसैंको, रमाइलोको सबैको आआफ्नै अर्थ होला तर मलाई कुनै अर्थको खोजी गर्नु छैन। खोजी गर्नु थियो गाउँबाट आउने बाडुलीको। मेरी आमाले पोत्ने त्यही सुन्दर घरको। म घर पुग्दा पहिले चाख्न दिइने न्वागीको। तर ती केही पनि छैनन् अब। बाडुलीको लय बिलायो आमासँगै। न्वागी बनाउने हात पनि बिलाए धुँवासँगै। धान फलाउने गराहरु सबै बाझै रहे। घर बिक्री गरिदिएपछि भत्किदै, एक्ला बने र गए अन्तै कतै ती निदाल पलेटा र धुरीखामा पनि। जसरी मेरा पाइला सरे पराइ सहरतिर उस्तै गरी सरे छन् ती पनि अर्कै गाउँतिर। यतिखेर सबै कुरा सम्झाउने याद छ अलिकति। अनि छ यो सम्झिने मन। आखिर मन छ र त बाँच्नुको पनि सार छ। रुनुको पनि अर्थ छ। जीन्दगी भन्नु जीउन अपनाइने सोचहरुको भ¥याङ  न रहेछ। समग्रमा त्यो बाटो भविष्य  निर्माणको बाटो हो जुन बाटोमा भेटिन्छन् जिन्दगीरुपि सोचका सिडीहरु, भ¥याङहरु।

शुक्ल पक्षको समय होस् पूर्ण चन्द्रको आवागमन होस्, एउटा फकिरले झै मस्ती गर्न पाइयोस् त्यो मस्ती अवोध बालकको जस्तै होस्  निश्चल निस्कपट र निस्वार्थ होस्।  त्यो प्रकृति त्यो सुन्दरता त्यो आफ्नोपन सबैलाई हृदयमा बोकेर हिँड्न पाइयोस्। कसैसँग हात थाप्नु नपरोस्। 

स्वाभिमानी अनि कर्मठ बनेर प्रेमिल जिन्दगी बाँच्ने क्रममा नदुखोस् कहीं कतै मनको पाटो। त्यही नदुख्ने मन बोकेर हिँड्न पाए कति आनन्दको हुन्थ्यो जिन्दगी। तर, सोचे जस्तो कहाँ हुन्छ र जिन्दगी। आखिर गरिबको मन भन्नु नै  संवेदनाका छालहरु, भावनाका तरंगहरु, कल्पनाका लयहरु र विगतका सम्झनाहरुले तयार पारेको सोचाइले पोतिएको  क्यानभास जस्तै त रहेछ।

उहिले निकै शान्त शालिन र सम्य हुन्थे गाउँघरतिर यो समयमा हरेक साँझहरु। गर्मी कम हुँदै गइरहेको र जाडोले विस्तारै आफ्नो आगमनको तयारी गरिरहेको आभास पनि दिलाउछ दसैंले। लाहुरेको आगमनको संकेत पनि दिलाउँछ र बिछ्याउन लगाउछ मनभरि आत्मीयता र प्रतीक्षाको कम्बल। 

केटाकटीहरुले नयाँ कुरा पाउने मिठो खान पाउने धेरै दिनसम्म मनाइने चाड हो दसैं। श्राध्द पक्षमा पितृहरुको सम्झना, केटाकेटीले खान पाउने श्राध्दको भातको रौनक सकिएपछि सुरु भइहाल्थे नवरात्रीका दिनहरु। यो वर्ष मलमासले धकेल्यो। कोरोनाले त्रसित तुल्यायो। तर पनि गाउँघरतिरको प्राकृत सौन्दर्यलाई शरदीय यामको शोभा र सुन्दरतालाई शब्दमा व्यक्त कहाँ छ र त्यति सजिलो। जसरी डोलीबाट ओर्लेर विस्तार बिस्तारै सिडी टेक्छन् नव दुलहीका पाइलाहरु उस्तै गरी भैरहेको हुन्छ शरदीय यामको पनि आगमन। 

टन्टलापुर घाम लागिरहदा खोलामा एकाएक बाढी उर्ले जस्तो। एक्कासी बादलुले धेरेर दिउँसै अँध्यारो भए जस्तो। गड्याङ गुडिङ गरेर मेघ गर्जिदा एक्लै ढोका थुनेर घरभित्र काँपिरहेको बालक जस्तो।  कोठा उज्यालो पारिरहेको बिजुलीको चिम फ्यूज हुँदा रात आफैमा रोए जस्तो। बाँच्छीले आई गरेर बोलाउँदा बोलाउँदै कसैले बाहिरैबाट गाईलाई अन्तै लगिदिएजस्तो। 

कान्लाबाट तल घाँसको भारी बोकेर पाइला चाल्ने गोरेटोतिर दृष्टि पु¥याउँदै गर्दा पछाडीबाट कसैले धकेलेर लडाइदिए जस्तो। ३४ वर्ष पछि पुनः उम्रिएको छ छातीभरि पीडाको बन्सो। सोचिरहन्छु निधारसम्म पुगेर अक्षता लगाइदिने बाआमाका औलाहरु। आमाले निकै मेहनत गरेर पकाएको भोजन। सरदीय याम सुरु नहुँदै आमाले पठाउने गरेको बाडुलीको लय। परालमा लपेटेर खाडलमा राखी तलबाट धानको भुस्सा जलाएर धुवाको सहायताले पाक्ने गरेको केरा। गाउँभरि कमेरो र राता माटाले छिपेर टलक्क टल्किरहेका घरहरु।  उकालोको टुप्पामा धानको भारी बिसाएर तमाखु सल्काइरहेका मनहरु।  

बाटाभरी चियाइरहन्थे लाखौ ताराहरू। टिल्पिलाइरहेका हुन्थे एदाकदा जुनकीरीहरू। नाचिरहेका हुन्थे उकालोको टुप्पामा बटुवाको प्रतीक्षामा सधैभर दृष्टि बिछाइरहने बरपीपलका पातहरू। बिस्तारै छोएर जान्थ्यो सिरसिरे बतासले पनि। अतित जति प्रिय कहाँ हुन्छ र वर्तमान। अतितको सम्झना नगरिकन मान्दैन मन पनि। त्यो त्यही अतित हो जसले चाहिने भन्दा बढी संवेदनशील बनायो। कतै रुवायो, कतै बीचबाटोमा जङ्गलको रुखझैं चुपचाप अडिन सिकायो। सरद ऋतुको आगमनसँगै पलाउन थाले यादका मुनाहरु। उब्जाइदिए तिनले छातीमा भक्कानो। बढाइरहे सम्झनाको जरो। यति बेलासम्म आमाले पठाइसक्नु हुन्थ्यो बाडुली। 

बिज्ञानले छुट्टै ढंगले अथ्र्याउला बाडुलीलाई। धेरैले सजिलैसँग भनिदिन्छन् ति रुढीवादी कुराहरु। कहिलेकाही केही कुराहरु यसरी आइदिन्छन् जसको तर्क गर्न मन लाग्दैन। सधै तर्कले मात्रै पनि चल्दो रहेनछ जिन्दगी। वर्षौ आइपुग्थ्यो यति बेला बाडुली। काटिसकेको हुन्थे घर जानलाई  गाडीको टिकट पनि। पूर्णभावमा रमाइरहन्थ्यो यो मन। आमा बा हुनुहुन्थ्यो र दसैंको महत्व थियो। 

खोजिदैन थियो बाडुलीको वैज्ञानिक कारण। मात्र ठान्थ्यो मनले आमाले सम्झिन। विगतको यादले, संवेदनाका धर्साले र पुराना मूल्यमान्यताले सिकाउदा रहेछन् धेरै कुराहरु। पढाउदा रहेछन् जिन्दगीको पाठ। दर्साउदा रहेछन् बेलाको महत्व। आज यो विरानो सहरमा अँध्यारो रात आढेर सम्झिरहेको छु – आमा अनि दसैं नआउँदै  आमाले पठाउने गरेको बाडुलीको लय। दसैंको भोलिपल्ट पारि डाँडामा सुनिएका ढोलक  दमाहा र जुनेली रातमा चालिएको पैतलीको चाल, जो जिन्दगीका प्रतीक थिए।

बाडुली हाम्रो मानसिक परम्पराको इन्द्रेणी हो। स्नेह ममता र आफ्नोपनको रैवार पनि हो। मनमा संवेदना र भावुकता पैदा गराउने तरङ्ग पनि हो। आज विगत सम्झिदै एकान्तमा सोचिरहेको छु – जिन्दगी त उतै छोडेर आइएछ, जहाँ गृष्ममा ठेस लागेर नङ नै उछिट्टिएको नाङ्गो खुट्टाले गृष्मको धुलौटे गोरेटोमा निशानी छोडेको थिएँ। वर्षातमा जंगलमा बर्सादी ओढेर कानका औंला घुसार्दै ठाडी भाका सुसेलेको थिएँ। अनि हिउँदमा बटन हराएको कमिजका दुबै पाटा (फाल) लाई दुई हातले च्याप्दै मूर्तिझैं उभिएर नीलो आकाश हेरेको थिएँ।  सहरमा त केवल जिज्ञाशु पाइला मात्र बिछाएको हुँ। 

प्रकाशित मिति: : 2020-10-25 14:25:00

प्रतिकृया दिनुहोस्