‘तँलाई रमेशले प्रायः हेरिरहेको देख्छु । अनेक बहाना बनाएर तेरो क्याबिनतिर गइरहन्छ ।’ लन्च खाँदै गर्दा रीताले सुनाई । ‘नचाहिने कुरा ! मलाई यस्तो कुरा गरेको मन पर्दैन भन्ने जान्दाजान्दै पनि किन मसँग यस्तो कुरा गर्छेस् ?’ खाँदै गरेको खाजालाई टेबलमै छोडेर उठिदिन्छु म ।
‘खोई; सबैले त्यही भन्छन् अफिसमा ! नपत्याए आफैँ विचार गर् न !’ थप्दै भन्छे रीता ।
उसले भनेको एक-दुई दिन त त्यो कुरालाई दिमागमा आउनै दिइनँ । त्यसपछि चाहँदा नचाहँदै पनि मेरो ध्यान रमेशमा जान थाल्यो । अकस्मात् दिमागमा कुनै कुरा घुसाई दिइसकेपछि त्यसलाई फ्याँक्न कहाँ सजिलो हुँदो रहेछ र ? अब गम्न थालेँ म; रीताले मलाई त्यसो किन भनी भनेर ।
रमेश मेरो क्याबिनमा आउँथ्यो । सकेसम्म मसँग बढी समय बस्न चाहेको छनक् दिन्थ्यो । छोटो कुरा छ भने पनि भूमिका बाँधेर त्यसलाई लामो पाथ्र्यो । उसको यस्तो व्यवहारबाट ऊ मसँग अनेक बहाना गरेर बढी समय बिताउन चाहन्थ्यो भन्ने मैले बुझिसकेकी थिएँ । झन् हाँसोउठ्दो कुरो त के थियो भने, मेरो क्याबिनबाट बाहिरिएपछि पनि फर्केर एकपटक मलाई हेरेकै हुन्थ्यो !
उसको यो क्रम सुरु भएको एक सातासम्म त मलाई कस्तो-कस्तो लागिरह्यो । त्यसपछि भने यसलाई सामान्य रूपमै लिन थालेँ । भोलि अफिस पुगेपछि क्याबिनमा बोलाएर राम्ररी सम्झाउनुपर्ला भन्ने मलाई लाग्यो ।