बडादशैं तथा विजया दशमी

हामी नेपालीहरू संस्कृति र चाँडपर्वका धनी छौं। हरेक चाँडपर्वभित्र धार्मिक,सामाजिक,सांस्कृतिक, आध्यात्मिक र मनोवैज्ञानिक तथ्यहरू लुकेको पाइन्छ। सबै चाँडहरूमध्ये दशैंको छुट्टै गरिमा छ। 

धनी,गरिब सबैले आफ्नो सामर्थ्य अनुकूल यो पर्वलाई हर्षोल्लासका साथ मनाउने गर्छन्। दशैं विशेषतः मातृशक्तिको पूजा अर्चना, ठूला बडा मान्यजनको मान गरि उनीहरूको आशीर्वाद ग्रहण गर्ने पर्व हो। 

दशैं दुई प्रकारका छन्। अहिले हामीले मनाउन लागेको दशैं बडा दशैं हो। चैत महिनामा पनि एउटा दशैं पर्छ। जसलाई चैतेदशैं भनिन्छ। 

यसलाई शारदीय र वासन्तीय नवरात्र पनि भनिन्छ। नवरात्रमा विशेषत शक्तिको पूजा गर्न्छि। मान्छेलाई चाहिने ३ शक्ति हुन– शारीरिक शक्ति, आर्थिक शक्ति र बौद्धिक शक्ति। यसर्थ हामी यी शक्तिको आराधना गर्छौं।  हामीले दुर्गा,लक्ष्मी र सरस्वतीको पूजा गर्दछौं । 

कुनै पनि शक्तिको अभावमा मान्छे निर्बल र अपाङ्ग हुन्छ। मातृशक्तिको प्रथम रूप नै दुर्गा हो। दुर्गाले नै सबै बिघ्नबाधा, खराब भावना र दुःखद स्थितिहरूको विनाश गर्छिन भन्ने हाम्रो विश्वास छ। 

वेदपुराणमा मात्र हैन बाइबल र कुरानमा पनि मातृशक्तिलाई सम्मान दिएको छ।

दशैंमा शक्तिको पूजा गर्दा निरपराध पशुहरूलाई वलि दिने प्रथा भने उचित हैन। यो भूत तथा तामसी पूजा ठहर्छ। असलमा नवरात्रमा शक्तिको व्रत,पूजा, ध्यान गरी आफूभित्रका ५ शत्रुलाई वलि दिनु भनेको हो। यसैलाई पञ्चवलि भनिन्छ। काम,क्रोध, लोभ, मोह र मदको वलि।

दशैं संगठन शक्तिको पनि द्योतक हो। जहाँ संगठन छ त्यहाँ विजय छ। रामको बादर सेनाको संगठन शक्तिको समक्ष रावण नै पराजित हुनुपर्‍याे। 

हिन्दू तथा महायानी बौद्ध धर्मावलम्बीहरूले आ–आफ्ना ढंगले यो पर्व मनाउँछन। तर नेपाली जगतमा दशैंको बढी महत्व छ टीका र जमराको।

दशैंको दिन आफ्ना मातापिता र मान्यजनको हातबाट दही चामलको टीका र जमरा लगाई आशीर्वाद थाप्न सबैका दाजु–भाई, दिदी–बहिनी र छोराछोरी अघिका रिस,वैमनश्यता मेटाएर आ–आफ्ना मूलघरमा जम्मा भई ठूलाबडाको हातको टीका,जमरा र आशीर्वाद थाप्दछन् भने परिवारमा एकताको स्तम्भ गाड्दछन्। 

दशैंका दिन पत्नीले पनि आफ्नो पतिको हातको टीका ग्रहण गर्दछिन्।  पत्नीको लागि त पति नै मान्य पुरुष हो। 

दशैंमा बृद्ध मातापिता तथा मान्यजनका हातको टीका थापेर दक्षिणा लिनुको सट्टा हामीले नै केही उपहार दिए उचित हुनेथियो होला। 

हामीलाई चाहिएको त मात्र आशीर्वाद हो। दशैं मान्नु टीका थाप्नु नेपालीजगतको स्वायत्ताको परिचय हो। अतः यसमा मलिनता आउन नदिई यस्को संरक्षण गरौं तर घृणास्पद र हास्यात्मक प्रथाहरूमा भने सुधार ल्याऔं।

यो वर्षको विजया दशमी तथा दशैं सबैका लागि मंगलदायी र सुखदायी बनोस् । 

विशेषतः दशैं पश्चात संसारले पनि कोरोनामाथि विजय प्राप्त गर्न सकोस् भन्ने शुभकामनाका साथ।

प्रकाशित मिति: : 2020-10-23 09:11:00

प्रतिकृया दिनुहोस्