भर्खरै चिनजान भएका एक पुरुष मित्रले आफू दुई छोरीको पिता भएको तर तेस्रो सन्तानको रूपमा छोराको चाहना नराखेको कुरा गर्वले सुनाए । सन्तानका रूपमा यो जन्ममा छोराको जायजन्म नभए मरेपछि पिण्ड दिएर स्वर्ग तार्ने व्यक्ति हुनेछैनन् भन्ने सोच राख्ने हाम्रो जस्तो समाजमा छोरी मात्रै पाएर खुसी हुने बाउ हुन् या आमा, भेट्टाउनु अनौठो तर खुसीकै कुरो हो ।
सतहमा बुझ्दा लैंगिक विभेद नगर्नेझैँ देखिने छोरीहरूका ती पिताले एक प्रसंगमा उल्लेख गरेका थिए कि दोस्रो सन्तानको रूपमा फेरि छोरी जन्मेलगत्तै उनले श्रीमतीको स्थायी बन्ध्याकरण गराइदिने फैसला गरे । पढेलेखेका उनले श्रीमतीसँग एक वचन नसोधी सीधै डाक्टरसँगको सल्लाहमा श्रीमतीको स्थायी बन्ध्याकरण गराउन ढिला गरेनन् । कान्छी छोरी जन्मिएकै दिन श्रीमतीको गर्भाशयको स्थायी बन्ध्याकरण गराइयो । उनकी कान्छी छोरी अहिले सात वर्षकी भइन् ।
स्थायी बन्ध्याकरणकै प्रसंगमा अर्काे पनि चाखलाग्दो सन्दर्भ छ– चिनजानकै एक परिवारका जेठो छोराले गत वर्ष आत्महत्या गरे । दुई छोरामध्ये एकले आत्महत्या गरेपछि छोराको मृत शरीरमा अँगालो हाल्दै आमाले भनिन् ‘मलाई दुई छोरापछि एक छोरी पनि पाउन मन थियो । पापीले मलाई घुँचेडेर अपरेसन गर्न अस्पताल लग्यो ।’ ‘पापी’ अर्थात् उनको लोग्ने, उनले आफ्नो इच्छाबेगर स्थायी बन्ध्याकरण गर्न लगाएकोमा पहिलोपटक बाध्य भएर मुख खोलिन् ।
छोराको मृत्युको अति पीडामा हृदय बाँध्न नसकेर उनले त समय घर्किसकेपछि नै भए पनि मुख खोलिन्, तर माथि उल्लेखित दुई छोरीकी आमाले अझैसम्म लोग्नेसँग सोध्न सकेकी छैनन्, ‘तिमीले मलाई एक वचन पनि नसोधी आफ्नै मनमौजीमा मेरो गर्भाशयको स्थायी बन्ध्याकरण किन गरायौ ? मेरो शरीरलाई कसरी उपयोग गर्ने भन्नेबारे मेरो अनुमति र सहमतिबेगर नै किन निर्णय लियौ ?’