तस्करी रोक्न खोज्दा मारिए असई गोविन्द

अनलाइनखबर

काठमाडाैं

२ कात्तिक, काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकले दुई दिनअघि मात्रै सीमा क्षेत्रबाट अवैध सुर्ती बरामद गरेका थिए ।

नेपाल–भारत सीमामा हेर्ने यो बिटमा विकले नेतृत्व सम्हालेको पनि धेरै भएको थिएन । 

लामो समयदेखि चल्दै आएको तस्करीको लाइन छिट्टै भत्काउन लागि परेपछि उनी सबैको तारो बनेका थिए । कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर राणा भन्छन्, ‘उनी एकदमै मेहनती थिए, केही गर्छु भन्ने भावना बोकेर भर्खरै मात्र सीमामा गएका थिए ।’

०७४ सालमा दिपालयस्थित प्रहरी तालिम केन्द्रबाट असईमा सेवा प्रवेश गरेका बिक कैलाली बहुमुखी क्याम्पसमा हालै स्नातकोत्तरमा समेत भर्ना भएका थिए । २८ वर्षीय उनी प्रहरी निरीक्षकमा प्रतिष्पर्धा गरेर काँधमा खुकुरी चिह्न भिरेर देशको सेवा गर्ने तयारीमा लागेका थए ।

त्यसका लागि दर्खास्त पनि दिइसकेका थिए, हालै काठमाडौंमा स्वास्थ्य परीक्षण गराएर कैलाली फर्किएका थिए । अन्य परीक्षाको तयारी त्यहीँबाट गरिरहेका थिए ।
तर, दुर्भाग्य जनताको जीउधनको रक्षा गर्ने प्रण गरेका उनको ज्यान भने जोगिएन । कानुन कार्यान्वयन गराउने क्रममै उनको ज्यान गयो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी भन्छन्, ‘उनको ट्र्याक रेकर्ड एकदमै राम्रो थियो, पछिल्लो समय तस्करहरूलाई उनको कामले तनाव भएको थियो ।’

शनिबार बेलुकी बिक जवान रामबहादुर साउदलाई लिएर बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका थिए । त्यसक्रममा तस्कर समूहले उनको योजनाबद्ध रुपमा घाँटी रेटेर हत्या गरेको छ ।

प्रकाशित मिति: : 2020-10-18 18:16:00

प्रतिकृया दिनुहोस्