म चन्दननाथ: जुम्ला आउनुहोस् दशैको सुरुवात गरौं

चन्दननाथ
चन्दननाथ

च च चन्दननाथा चारै लिंगा,
च च पूर्वतिर ढल्क्यै हजुर ।।


तपाईँहरुले यो गीत बिर्सनु भयो? मैले त बिर्सेकै छैन।

म चन्दननाथ। अर्थात तपाईले मानेको चन्दननाथ बाबा। म सदाबाहार छु, भुमध्य रेखाको वातावरण जस्तै। मान्नुस् न म सधैको लागि बसन्त ऋतु हुँ। त्यसैले त तपाई मलाई सधै प्रेम गरिरहनुहुन्छ। पुजिरहनुहन्छ। 

तपाईं कन्फ्युज नहुनु होला त्यो चन्दननाथ र यो चन्दननाथ भनी। म एउटै हुँ। सधैको लागि। विशेष त तपाईहरुको लागि। तिथि, मितिमा केही अलमल होला वा कुनै ठोस विश्वसनीय लिखित इतिहास नभेटिएको होला तर चाल-चलन र रितिरिवाजले जुम्लामा उत्पादन हुने कालीमार्सी धानको विकास र विस्तारको जस तपाईले मलाई नै दिनुभएको छ। पश्चिममा भए तपाई मलाई वैज्ञानिक भनी सम्मान गर्नुहुन्थ्यो। हामी पूर्वमा छौं। त्यसैले तपाई मलाई पुजा गर्नु हुन्छ। 

मेरो आग्रह छ म भन्दा बडी सम्मान गरिनुपर्ने लछालकृति पैकेलो हो। जसले धानको बीउ जिल्लाभर पुगायो। तपाईहको भाेजन मिठो बनायो। 

समग्र कर्णालीको इतिहासमा नयाँ अविस्कारको रुपमा धान विकास हुन सम्भव भएपछि म प्रति तपाईहरुको अथाह लगाव थियो र रहिआएको छ। सुखद कुरा त के भने नी धान खेती सम्भव भएका ठाउँका मान्छेले श्रद्धा त गर्नुभयो नै, तर धान खेती नहुने ठाउँका मान्छेहरुले पनि उत्तिकै आदर गरिदिनुभयो। नयाँ कामलाई सबैले सम्मान गर्छन् र त्यो सदाबाहार हुन्छ भन्ने कुरा तपाईहरुले देखाइरहनु भएको छ।

मैले अघि नै भने धान मेरो अनुसन्धानबाट  पत्ता लागेको भएपनि मेरो बलशाली शिष्य लछालकृती पैकेलोले यसको प्रयोग, विकास र विस्तार गर्ने काम गरेको थियो। जुन जुम्लाको कृषि क्रान्तिमा महत्त्वपूर्ण हिस्सा हो। त्यसैले लछालकृती पैकेलोलाई पनि उत्तिकै सम्मान गर्न मेरो आग्रह छ। तथापि तपाईहरुले नगरेको भनेर भन्न म सक्दिन। 

तपाईले मेरो नाममा स्थापना गर्नुभएको मन्दिरमा कालिकोटबाट ९६ धार्नी घ्यू आउँथ्याे भने हुम्लाबाट २६ धार्नी मह आउँथ्याे। (एक धार्नीमा साडे दुई माना हुन्छ।) जसले मलाई सम्मान गर्न आउने सबैलाई मिठो प्रसादले जिब्रो स्वादिलो बनाउन सकिने भयो।

धानखेती हुने पान सय दराबाट अक्षेता र धानखेती नहुने लेकका बस्तीबाट मास, गहत र गुराैस मेरै लागि पठाउने तपाईहरुप्रति मेरो पनि उत्तिकै श्रद्धा छ। धानखेती निकै कम हुने चाैधबीस दराबाट गहुँ पठाउने चाैधबिसे प्रति मेरो विशेष सम्मान छ, जसले जुम्लाको नामलाई आकाश छुने उचाइमा पुगाइदिनु भएको छ। विश्वका अग्लाे स्थानमा धान फलाउने चाैधबिसे जुम्ली जतिका मेहनती सायदै यो दुनियाँमा होलान।

मेरो नाममा अउने मानोमुठोले पनि मप्रतिको श्रद्धालाई म आफैले मापन गर्न सकिरहेको छैन। त्यसैले पनि म सदाबहार हुन पाए। युगयुग बाँचिरहन पाए।

कारण यिनै हुन जसले जुम्लामा दशै परम्पराको सुरुवातलाई भिन्न बनाउन सकिने भयो। मलाई पछि आएका हिन्दुहरुले पनि आफूले मनाउने दशैलाई यहाँको संस्कृतिलाई अंगाले। त्यसको एउटा गतिलो प्रमाण हो जुम्लामा लिंगा खडा गर्ने संस्कार र संस्कृति।

मस्टो परम्परामा बाह्र भाइ मस्टो र नौ दुर्गा भवानी हुन्छन्। चारवटा पुर्णिमामा विधिवत पुजा गरि बाह्र भाइ मस्टोको पुजा गर्ने र बहिनीहरुको पुजा दशैको बेला गर्ने गरिन्छ। यसरी नवदुर्गा पुजाको सुरुवात गर्ने दिनलाई अन्य क्षेत्रभन्दा फरक बनाउन तपाई हामीले नै योगदान गरेका छौं। 

म त्यही थिए। जिल्लाका सबै दराखाेलाका गन्यमान्य मान्छेहरुको भेला भई चन्दननाथ र भैरवनाथको मन्दिरमा लिंगा खडा गर्नेबारे छलफल भयो। तपाईहरु सबैले संस्कृतमा फरक पना दिन घटस्थापनाको दिन मन्दिरमा लिंगो खडा गर्ने सरसल्लाह गरि निर्णयमा पुग्नुभयो। मैले नाई भन्ने कुरा आएन। त्यसैले हालको क्यालेन्डरमा घटस्थापना भएपनि तपाईको  बाेलीमा लिंगा खडा गर्ने दिन भनेर आइरहन्छ। जसले दशै प्रारम्भ भएको संकेत गर्छ। यसलाई मेरो पराक्रमसँग जोडेपछि म सदाबहार हुने नै भए।

लिंगो कत्राे आकारको हुने, भन्ने विषयको छलफल घनिभुत भयो। एक वर्षमा ५२ हप्ता हुन्छन्। यसैलाई आधार मानी हप्ताको एक हातका दरले ५२ हातको लिंगा खडा गर्ने योजना बन्यो। लिंगा बनाउने सल्लाको रुख थपालाका गाउँलेले आफ्नो जंगलबाट ल्याउन दिने भए। 
कोणधारी जंगलमा लिंगा बनाउने काठको अभाव हुने कुरै आएन। हुन त केहीले तराईमा बाँसको लिंगो पनि हाल्ने गरेका छन्। तर बाँसको लिंगोको स्वाद हुँदैन। त्यसले व्यङ्ग्य स्वरुप गीत गाइन्छ, 'बाँसको लिंगो के लिंगो? आखिर त्यो पनि नुहिन्छ........।'

त्यस यताका दिन ५२ लाई आधार मानेर हालसम्म पनि चन्दननाथ मन्दिमा भेटी चढाउनु परेमा वा हर्जना तिर्नुपरेमा ५२ रुपियाँ दिने चलन तपाईहरुले नै बसाल्नु भयो। जुम्लालाई संस्कृतिमा धनी बनाउने तपाईहरुको पराक्रम मेरो भन्दा कम्ताको छैन। सरसल्लाह सबै तपाईहरुकै हो। यत्ति हो मेरो उपस्थितिलाई तपाईहरुले ओझिलो बनाउने काम गर्नुभयो।

प्रत्येक वर्ष तीन वटा नयाँ र एउटा पुरानोलाई रंगरोगन गर्ने रित बसालियो। सबैभन्दा ठुलो ५२ हाते लिंगो ल्याउन जंगलमा सरकारी कर्मचारी र असी दराका २७ गाउँका क्षेत्रीहरुसमेत जानुपर्ने भएकाले त्यसलाई पल्टनियाँ लिंगो नामाकरण गरियो।  थपालाको जंगलबाट काठ ल्याइने हुनाले अर्कोलाई थपाले लिंगो भनी नामाकरण गरियो। उक्त लिंगो थपाला लगायतका बाहुनहरुले ल्याउने हुनाले त्यसलाई बाहुने लिंगो पनि भनियो।

त्यस्तै तिस्रो लिंगोको नाम चाहिँ कमसले राखियो। कथित दलितहरुले तेस्रो लिंगो ल्याउनुपर्ने रित चलाइयो। त्यसबेलाको समाजले सार्की, कामी, दमाई लगायत थरका मान्छेलाई कमसल वस्तु सरह मान्ने हुनाले पनि उक्त तेस्रो लिंगोको नाम कमसले राखिएको अनुमान लगाउन सकिन्छ। मलाई आज पनि पछुतो छ यतिका काममा मेरो हात रहे पनि समाजको एक हिस्सा बनेको मेरो भन्दा बढी आविस्कार गर्न सक्ने दलित समुदाय र अरु उस्तै हुन भनेर भन्न सकिन। यदि त्यसबेला मेरो ध्यान विभेदको जरा उखेल्नेतिर गएको भए समाज यति पछि पर्ने थिएन। त्यसैले आज म तपाईहरु सबैको सामु आत्मआलोचित हुन्छ। 

उसाे त मेरो जसरी यो देशका नेता, सत्ता संचालकले पनि कमजोरी स्वीकार्न सकेको भए समाज कति अघि बढ्दाे हो?

२०४६ पछि कथित तल्लाे जातीका मान्छेले एक खालको आन्दाेन चलाए। 'लिंगो ल्याउने तर मन्दिरमा पस्न नदिने हो भने लिंगो ल्याउन नजाने' भने। त्यसपछिका दुई वर्ष उनीहरु लिंगो ल्याउन गएनन्। बहिस्कार गरे। पछि लिंगाको फरकफरक नामाकरण नगरेर सबै गाउँका मान्छेसँगै गइ लिंगा ल्याउने चलन चलाइयो भने हाल मन्दिर पस्नेलाई तिमी फलानो जातको वा तिमी अर्को जातको भनेर छुछ्याउने नगर्दा मलाई एक हदसम्म आन्दानुभूति भयो। मन आैधि रमायो। जुन समाज अघि बढ्नुपर्ने हो त्यही समाजको चेतनास्तर बढ्नु पनि नौलो आयम हुँदाे रहेछ।

अँ! म पूरा कुरा गर्दै थिए बीचमा प्रसंग अर्को आयो। आउनै पर्ने कुरा आयो नी! एकछिन है, लिंगा खडा को बाँकी कहानी पूरा भएकै छैन। सुन्नुस् है पूरा।

चन्दननाथ, भैरवनाथ मन्दिरमा खठा गरिने लिंगाको टुप्पाेमा राख्ने चाैरी फुर्को मुगुका भाेटेले दिने, टुप्पामा बेर्ने ठेटुका मुगु खत्याड, साेरु र गल्बका क्षेत्रीले दिने, नेजा र ध्वाजा बाँध्ने थाप्का(उनीका डाेरी) हुम्लाका भाेटेहरुले दिने तथा चन्दननाथ भैरव नाथको मन्दिरमा बलि दिने बाेको चाैधबीसको रिनी र कुडारी तथा छिनाबाट दिने छलफल चल्दा सर्वसहमति जुट्याे। बलि दिनेले लिंगा गाड्ने खाल्डाे खन्न पाउँने भए। त्यस्तै लिंगा खडा गर्न बल लगाउने कैँची(सल्लाका ठाँक्रा) बाेहरा गाउँकाले ल्याउनुपर्ने कुरामा पनि सहमति जुट्याे। नदि पारिबाट ठूरा रुख ल्याउन सम्भव नभएपछि साना कैँची ल्याउने जिम्मा लाग्याे। दुखको कुरा आजभाेली कैँचीसँगै जंगलको सारा काठ पनि बजारमा सप्लाई हुने गरेको छ। रात रातै भैगो, दिन दाहाडै पनि।

लिंगा खडा गर्ने संस्कारका केही कमजोरी बाहेक सबै जातजाति र भाषाभाषीलाई समेत मिलाएर लिन खाेज्नु नमुना समाज निर्माण गर्ने उत्तम चेष्टा हो। यो संस्कार, सांस्कृतिक समन्वयको प्रतिक पनि हो। जसलाई जुम्लीहरुको दशै संस्कृतिसँग जोड्न सक्नु अनुपम कला हो।

चन्दननाथ र भैरवनाथका मन्दिर गरि चारवटा लिंगा फेरीएसँगै दशैंको औपचारिक सुरुवात गर्ने रित बसाल्न सक्नु पनि एक विशिष्ट कार्य थियो। त्यही दिन साँझ जिल्लाभरी सबैले आफ्नो खेतमा पाक्नै आँटेको थाेरै धान काटेर चिउरा कुट्ने, त्यो चिउरालाई मह र दहीसँग मिसेर खाने र परिकारलाई जुम्लीहरुले नगि नामकरण गरे। जसलाई घरका सबैले त खान्छन् नै त्यसबाहेक बिहे गरेर गएका छाेरीचेलीको भाग पनि छुट्याउने गरिन्छ। त्यसैले जुम्लामा घटस्थापनाको दिनलाई नगिको दिन वा लिंगा खडा गर्ने दिन भनेर चिनाउने काम तपाईहरुबाट भयो। त्यही दिन घरमा जमरा राख्ने नयाँ काम हिन्दुहरुले गरेपछि यहाँक रैथानेले पनि सिके।

नगिको दिन चन्दननाथ भैरवनाथ मन्दिरमा लिंगा फेरिएसँगै जिल्लाभरिका थुप्रै मन्दिर र थानहरुमा लिंगा फेर्ने कार्य निरन्तर चल्छ। कालिका र भगवतिका थानहरुमा नवमीको दिन लिंगा फेर्ने चलन छ। 

जुम्लाको सिंजा मोफ्लामा रहेको राहदेवको थानमा कोजगरात पूर्णिमाको दिन जिल्लाकै सबैभन्दा ठुलो ६२ हाते लिंगो फेर्ने चलन छ। त्यहाँ हरेक वर्ष लिंगो नफेरेर प्रत्येक दुई वर्षको एक पटक फेर्ने गरिन्छ। पहिले फेरेको लिंगो दोस्रो वर्षमा ढलाएर त्यसैमा रंगरोगन गरी, ध्वजा, आलिन नयाँ फेरेर फेरी ठडाइन्छ भने तेस्रो वर्षमा फेरी नयाँ फेर्ने चलन रहेको छ।

सबै भन्दा पहिला चाहिँ मष्ट देवताका मुख्य भाइ 'ढँडार मष्ट'को थानको लिंगा फेरिन्छ, भदाै पुर्णिामाको दिन। जो थान सिंजा लुड्कुमा अवस्थित छ। 
जुम्लाका अधिकांस मन्दिरमा लिंगा फेर्ने काम कार्तिक पूर्णिमासम्म पनि चलिरहन्छ। त्यसैले जुम्लामा लिंगा फेर्ने काम दशैको सुरुवातसँगै तिव्र हुन्छ। जुम्लाको लिंगा फेर्ने चलन काठमाडौंको नेवार संस्कृति भन्दा फरक छ। व्यापारको सिलसिलामा जुम्ला पुगेको नेवारहरु हुर्केकै जस्तो ठाउँमा पुगेपछि त्यही बसोबास गर्ने र लिंगा फेर्ने चलानमा हातेमालो गर्ने काम भयो।

जुम्लामा नेवारहरुको आगमनभन्दा पहिला नै यो चलन चलिआएको थियो। जुन मष्टो परम्परासँगै जोडिएको संस्कृति हो। पछि मष्टो परम्पराको हिन्दुकरणसँगै संस्कृतिको पनि हिन्दुकरण भयो।

०००
तपाईलाई जुम्लीहरुले दशै मनाउने तरिका कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नछुटाउनुस् है! आजलाई मेरा कुरा यत्ति बाँकी अर्को भेटमा।

प्रकाशित मिति: : 2020-10-17 13:46:00

प्रतिकृया दिनुहोस्