सागको खर्च सार्वजनिक गर्न किन चुके सिलवाल? ब्याडमिन्टनमा अनियमितता गर्नेलाई होला कारबाही?

नेपाल खबर

काठमाडौं
नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गरेको १० महिना बितिसकेको छ।
लक्ष्मी जि.सी

नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गरेको १० महिना बितिसकेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले साग सकिएको ९० दिनभित्र साग आयोजनासम्बन्धी सम्पूर्ण हिसाब सार्वजनिक गर्ने घाेषणा गरेका थिए। तर आफ्नै वाचा पुरा गर्न भने उनी चुकिसकेका छन्।

सागअन्तर्गतकै एउटा खेल ब्याडमिन्टनका सामान खरिदमा अनियमितता भएको प्रतिवेदन समेत अहिले सिलवालकै टेबलमा पुगेको छ।

आफ्नै वाचाअनुसार खर्च सार्वजनिक गर्न नसकेका सदस्यसचिव यो बीचमा पदमुक्त भएर दोस्रो पटक सोही पदमा बहाली भइसकेका छन्।

खर्च सार्वजनिक गर्ने प्रतिबद्धता पूरा नगरेका सिलवालले ब्याडमिन्टनको सामान खरिदमा दोषी पाइएकाहरुमाथि कारबाही गर्छन् कि गर्दैनन् भन्ने गम्भीर प्रश्न उठेको छ।

राखेप बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा रहेको समितिले झन्डै डेढ महिना लगाएर अध्ययन गरी असोज २० गते राखेप सदस्यसचिव सिलवाल र उपाध्यक्ष शिव कोइरालालाई प्रतिवेदन बुझाएको थियो।

राखेपले प्रतिवेदन सार्वजनिक नगरेपछि सामान खरिदमा ठूलाे अनियमितता भएकै कारण ती गतिबिधि गाेप्य राख्न खाेजिएकाे आशङ्कामा बल पुगेकाे बताइएकाे छ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले ब्याडमिन्टनको सामान खरिदमा अनियमितता भएको गुनासोलाई आधार मानेर राखेपलाई छानबिनका लागि निर्देशन दिएका थिए।

नेपाल ब्याडमिन्टन संघकै उपाध्यक्ष समेत रहेका राखेप सदस्य सुवास श्रेष्ठले नै सागको सामान खरिदमा अनियमितता भएको आरोप लगाएका थिए। त्यसपछि मन्त्री विश्वकर्माको निर्देशनअनुसार छानबिन समिति बनाउन राखेप बाध्य भएको थियो।

प्रकाशित मिति: : 2020-10-16 17:21:00

प्रतिकृया दिनुहोस्