बुद्ध एयर ‘उडाउन’ तयार हुँदैछिन् दोस्रो पुस्ताकी आस्था

नेपाल खबर

काठमाडौं
बुद्ध एयरले सोमबार ट्वीटरमा एउटा तस्बिर पोस्ट गर्यो, जसमा छन्– बुद्ध एयरका दुई पुस्ता अर्थात्, वीरेन्द्रबहादुर बस्नेत र उनकी छोरी आस्था

बुद्ध एयरको लागि आइतबार विशेष दिन थियो– २३ वर्ष निरन्तर उडिरहेको बुद्ध एयर २४ औं वर्षमा प्रवेश गर्दैै थियो।

गत वर्षहरुमा भव्य रुपमा वार्षिकोत्सव मनाइन्थ्यो– कर्मचारी र व्यवस्थापनका लागि नयाँ आशाको दिन।

तर, आइतबारको वार्षिकोत्सव कसरी आयो र गयो, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले नै चाल पाएनन्। त्यसैले मोबाइल वालेट खल्तीको ‘ह्याप्पी बर्थडे’ केक सोमबार मात्रै बस्नेतको कार्यकक्षमा पुग्यो।

‘अरुले नसम्झे पनि खल्तीले सम्झियो,’ बस्नेतले भने, ‘मैले त झन्डै चालै पाइनँ।’

६ महिनायता कोरोना संकटले गर्दा निजी क्षेत्रको व्यवसाय अस्तव्यस्त छ। उड्डयन क्षेत्रमा महामारीको असर अझ बढी छ। कम्पनीका वार्षिक तालिका बिग्रेका छन्। योजनाहरु भताभुंग छन्।

बिग्रेकै तालिकाबीच पनि बुद्ध एयरले आइतबारका केही यात्रुलाई मायाको सौगात बाँड्यो। सामाजिक सञ्जालमा केही प्रतिबद्धता जाहेर ग¥यो।

बुद्ध एयरले सामाजिक सञ्जालमा एउटा तस्बिर पनि पोस्ट गरेको छ। जसमा छन्, बुद्ध एयरका दुई पुस्ता अर्थात्, बस्नेत र उनकी छोरी आस्था।

२३ वर्षदेखि अनवरत रुपमा लागिरहेका बस्नेतले बुद्ध एयरलाई निजी क्षेत्रको मुलुककै ठूलो उड्डयन कम्पनी बनाए। अबको दुई वर्षमा उड्डयन व्यवसायलाई विस्तार गर्दै कम्पनीलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य बस्नेतको छ।

त्यही लक्ष्य पूरा गरेको दिन यो कम्पनीलाई पूर्ण रुपमा नयाँ पुस्तामा हस्तान्तरण गर्ने घोषणा उनले गरिसकेका छन्। र, सो बुद्ध एयर हाँक्ने भूमिकाका लागि तयार हुँदैछिन्, बस्नेतकी कान्छी छोरी आस्था। 

‘मैले नयाँ पुस्तालाई दिने–नदिने भन्ने होइन,’ वीरेन्द्र भन्छन्, ‘नयाँ पुस्ताले नेतृत्वका लागि आफूलाई प्रमाणित गर्नुपर्छ।’

पारिवारिक व्यवसाय भएकाले कम्पनीको नेतृत्व गर्ने अधिकार आस्थाकै हो। उनकी दिदी अलग्गै बुटिक व्यवसायमा व्यस्त छिन्।

आस्थाले यो अधिकारको सदुपयोग कसरी गर्छिन्, आफूले एक वर्ष हेर्ने वीरेन्द्र बताउँछन्।

‘अबको एक वर्षमा त्यो मूल्यांकन हुन्छ,‘ उनी भन्छन्।

AsthaBasnet1

२७ वर्षीया आस्था पनि बुबाको चाहनालाई पूरा गर्ने लक्ष्यमा छिन्। कम्पनी हाँक्न सक्छु भन्ने आत्मविश्वास उनीसँग छ।

बुबाले अबको दुई वर्षमा कम्पनी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भनेपछि उनी झनै उत्साहित छिन्।

प्रकाशित मिति: : 2020-10-13 09:34:00

प्रतिकृया दिनुहोस्