अर्मेनिया र अजरबैजानबिच सीमा क्षेत्रको हिंसा अन्त्यका लागि अस्थायी शान्ति सम्झौता

अर्मेनिया र अजरबैजान युद्धविरामका लागि तयार भएका छन् । 

मस्कोमा शनिबार बिहानदेखि सुरु भएको १० घण्टाको लामो वार्तापछि दुवै पक्ष  विवादास्पद सीमा क्षेत्रलाई लिएर भएको हिंसा अन्त्यका लागि अस्थायी शान्ति सम्झौतामा सहमति भएको छ ।

गएको सेप्टेम्बर अन्तिममा विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोना मध्ये एक युद्ध पुनः बिउँतिएको थियो। वर्षौँपछि अर्मेनिया र जरबैजानबिच विवादास्पद क्षेत्रलाई लिएर भएको भिडन्त अन्त्यका लागि अस्थायी शान्ति सम्झौतामा सहमति बनेको रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले बताएका छन् ।

क्यास्पियन सागरबाट तेल विश्व बजारमा ल्याउने महत्वपूर्ण करिडोर रहेको सीमा क्षेत्रमा भिडन्त भएको हो ।

नागोर्नो–काराबाख पहाडी क्षेत्र हो । आधिकारिक रुपमा यो अजरबैजानको हिस्सा भए पनि सन् १९९४ को युद्धपति यस क्षेत्रमा अर्मेनियाले कब्जा गर्दै आएको छ । 

पूर्व सोभियत संघको हिस्साका रुपमा रहेका अर्मेनिया र अजरबैजान नागोर्नो–काराबाख क्षेत्रलाई लिएर सन् १९८० र ९० को दशकको सुरुवातमा एकअर्काबीच लडेका पनि थिए । त्यस अवधिमा करिब ३० हजारभन्दा बढीले ज्यान गुमाएका थिए । १९९४ मा भएको युद्धविरामपछि पनि दुई देशबीच लगातार गतिरोध जारी रहेको छ ।


सीमा क्षेत्र नार्गोनो–काराबाख क्षेत्रमा दुई हप्तादेखि भइरहेको तनाव तत्कालका लागि रुसी मध्यस्थतामा अन्त्य हुने देखिएको छ ।

रुसी विदेशमन्त्रीका अनुसार रेडक्रसले द्वन्द्वग्रस्त क्षेत्रमा मध्यस्थता र मानवअधिकारका कार्यक्रम सञ्चालन गर्नेछ । 

सहमति अनुसार स्थानीय समय अनुसार शनिबार मध्यान्ह देखि युद्ध रोकिने छ । त्यसपछि दुवै तर्फबाट बनाइएका बन्दी रिहा गरिने छ भने शव संकलन हुने छ ।

गत सेप्टेम्बर २७ यता सुरु भएको दुई देशबीचको युद्धमा करिब ३ सय जनाको मृत्यु भएको हजारौंको संख्यामा मानिसहरु घरबारविहीन भएको अलजजीराले उल्लेख गरेको छ । २०१६ देखि उक्त सीमा क्षेत्रमा दुई देशबीच पटक–पटक झडप हुँदै आए पनि पछिल्लो पटक युद्धकै स्तरमा दुवै देशद्वारा गोली हानाहान र ड्रोन आक्रमण भएको हो ।

नागोर्नो–काराबाख क्षेत्रको क्षेत्रफल ४ हजार ४ सय वर्गकिलोमिटर रहेको छ । अन्तर्राष्ट्रि रुपमा यस क्षेत्रलाई अजरबैजानकै हिस्साका रुपमा मान्यता दिए पनि यस क्षेत्रमा बढी बसोबास भने अर्मेनियाली मूलकै बासिन्दाको रहेको छ ।

रुसी विदेशमन्त्री लाभ्रोमले युरोपेली सुरक्षाका लागि साझेदारी (ओएससीई) को मिन्स्क समूहले दुई देशबीच शान्ति पुन:स्थापनाका लागि पहल गर्ने बताए । मस्कोमा अर्मेनिया र अजरबैजानका विदेशमन्त्री सहभागी थिए ।

कोकसेस माउन्टेन क्षेत्रका विगत तीन दशकदेखि बेलाबेलामा भिडन्त हुने गरेको थियो। तर अहिलेको भिडन्तले सघन रुप लिएको हो । गएको जुलाईमा सीमा क्षेत्रमा भएको भिडन्तमा कम्तीमा १६ जनाको ज्यान गएको थियो । त्यसपछि अजरबैजानको राजधानी बाकुमा वर्षौँ यताकै ठूलो प्रदर्शन भएको थियो । प्रदर्शनकारीले नागोर्नो–काराबाख क्षेत्र आफ्नो नियन्त्रणमा लिन माग गरेका थिए ।

प्रकाशित मिति: : 2020-10-10 05:01:00

प्रतिकृया दिनुहोस्