६७ वर्षीय कृष्णप्रसाद शर्मा कुनै दिन बिहान ढिलो उठे भने गाउँले ढोकामा हान्न आइपुग्छन्।
उनको घर तुलसीपुर बजारदेखि ९ किलोमिटर पश्चिम दंगीशरण गाउँपालिका-५ को पोटली गाउँमा पर्छ।
उठेर नित्यकर्म सकेपछि टिनले पाली हालेको सानो घरको चुलोमा उनले आगो बाल्छन्, कराही बसाल्छन्।
त्यसपछि सुरू हुन्छ पेडा बनाउने काम।
बिहान पाँच बजे त उनको चुल्हो बलिसकेको हुन्छ। गाउँलेहरू आउन पनि सुरू गर्छन्। उनीहरूले आफ्ना गाईभैंसी दुहेपछि सिधै उनको कराहीमा खन्याउन ल्याइपुर्याउँछन्।
दूध भकभकी उम्लिरहन्छ। उनी उम्लिएको दूधको रखवाली बसिरहन्छन् बिहानभरि।
‘एक छिन छोड्यो कि दूध उम्लेर आगोमा पोखिन्छ,’ शर्माले भने ‘दूध लगाउँदा निकै ध्यानपूर्वक कराहीको अगाडि बसिरहनु पर्छ । यसलाई चलाइरहनु पर्छ।’
जिन्दगीका आधाभन्दा बढी बिहान उनले यसरी नै सुरू गरे। दूध पाकेपछि पेडा बनाउने र बेच्ने गरेर उनका दिन अन्त्य भए।
उम्लिएको दूध घोट्दै लगेपछि क्रमश: सुक्दै (खिइँदै)जान्छ। तरलबाट दूधले ठोस आकार ग्रहण गर्न थाल्छ। त्यसलाई बोलिचालीको भाषामा कुराउनी भनिन्छ।
कुराउनीलाई उनले हातमा लिएर साना-साना गोलाकार डल्ला बनाउँछन्। यो उनको पेडा बनाउने तरिका हो।