९ वर्ष अगाडि उनीहरु बिहे भयो, नुवाकोटका सोनिका र हरिकुमार तामाङको। बिहे भएको केही समयपछि सोनिका गर्भवती भइन्। सोनिकाको खुसीले सीमा नाघिरहेको थियो। उनीहरु नयाँ पाहुनाको स्वागतका लागि चाहिने सबै थोक तयार पार्दै थिए।
हरि र सोनिकाको खुसी लामो समयसम्म टिक्न सकेन। सोनिका गर्भवती भएको तीन महिनामै उनको गर्भ खेर गयो। दुवै जनाले एकअर्कालाई सम्हाले। अर्कोपटक ठीक होला भन्ने आशा राखे।
समय बित्दै गयो। बिहे गरेको दिन, हप्ता, महिना हुँदै डेढ वर्ष बित्यो। सोनिका फेरि गर्भवती भइन्। यो पटक उनीहरुको मनमा खुसी अनि डर सँगसँगै पलाएको थियो। पहिलो बच्चा खेर गएका कारण उनीहरुको मनमा डरले डेरा जमाइरहेको थियो। दोस्रो पटक पनि त्यही कुरा दोहोरिने हो कि भनेर उनीहरुलाई झस्काइरहेको थियो।
तर पनि उनीहरु बाबुआमा बन्ने कुराले उत्तिकै उत्साहित थिए। दोस्रोपटक पनि बुवाआमा बन्ने सपना हरि र सोनिकाको पूरा हुन सकेन। उनीहरुको उत्साह निराशामा परिणत भयो। सोनिकाको साढे दुई महिनाको गर्भ खेर गयो।
उनीहरुलाई यो कुराले बेस्सरी झस्कायो। के गर्ने, कसो गर्ने? किन गर्भ खेर गइरहेको छ? उनीहरु एक अर्कासँग यहीबारे छलफल गर्ने गर्थे। बच्चाको चाहना त थियो नै। तर त्यो भन्दा पनि अझ धेरै आवश्यकता थियो, हरिलाई आफ्नो परिवारलाई आर्थिक रुपमा स्थीर राख्नु।