राज्यको तीन अर्ब ७८ करोड लगानी भएको गेटा मेडिकल कलेजले पढाउने स्वीकृति पाएन

डा. गोविन्द केसी १६औँ सत्याग्रहमा बस्दा सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने सहमति गरेको थियो । तर, नयाँ कलेजको प्रगति त परै जाओस्, पहिले नै पूर्वाधार निर्माण भएका कलेज सञ्चालन गर्न पनि सरकारले रुचि देखाएको छैन । 

कैलालीको गेटामा सरकारी ढुकुटीको पौने चार अर्ब खर्च गरेर तत्काल मेडिकल कलेज सञ्चालन गर्न सकिने भव्य भौतिक पूर्वाधार बनेको छ । त्यस्तै, राप्ती र कर्णालीमा पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान बनिसकेका छन् । दुर्भाग्य ! डा. केसी यी कलेजमा पढाइ सुरु गर भनेर २४ दिनदेखि १९औँ सत्याग्रहमा छन्, जसलाई सरकारले नजरअन्दाज गरिरहेको छ ।

कैलालीको गेटा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढेको ११ वर्ष बितिसकेको छ । भौतिक पूर्वाधार निर्माणमा तीन अर्ब ७८ करोड खर्च भइसकेको छ । तर, अध्यापन सुरु गर्न सरकारले चासो दिएको छैन ।  

मेडिकल कलेजको कार्ययोजनाले यही वर्षदेखि अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको थियो । तर, कुनै विश्वविद्यालयको सम्बन्धनमा वा छुट्टै प्रतिष्ठानको रूपमा सञ्चालन गर्ने भन्ने निक्र्यौल भएको छैन । कलेजको पूर्वाधार विकास निर्माण समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदका अनुसार सरकारले शैक्षिक कार्यक्रम सञ्चालनको ‘मोडेल’ बनाउन बाँकी रहेकाले शैक्षिक गतिविधि कहिलेबाट सुरु हुने भन्ने यकिन छैन । 

कार्यकारी निर्देशक साउदले यो वर्ष अस्पताल पनि सञ्चालन गर्न नसकिने बताए । 

प्रकाशित मिति: : 2020-10-08 07:50:09

प्रतिकृया दिनुहोस्