नवीन ढुंगाना
उपभोक्ता हित संरक्षणको उद्देश्य बोकेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पछिल्लो समयमा भुत्ते भएको भन्दै आलोचित बनिरहेको छ । विभागको कार्यशैलीबाट न उपभोक्ता सन्तुष्ट छन्, न व्यवसायी ।
उपभोक्ताहितमा काम गर्नु पर्ने विभाग संगठित र ठूला व्यापारी जोगाउने तथा सानालाई कज्याउन अभ्यस्त बनेको उपभोक्ता अधिकारकर्मीले आरोप लगाएका छन् । राजनीतिक संरक्षणमा रहेका ठूला व्यापारीलाई विभागले कडा कारवाहीबाट जोगाउने गरेको उनीहरुको दावी छ । व्यवसायीहरु चाहिँ विभागले आफूहरुलाई अनावश्यक झमेला दिइरहेको भनेर असन्तुष्ट छन् ।
उपभोक्ता हित संरक्षण र स्वच्छ बजार कायम गर्नका लागि १७ वटा ऐन कार्यान्वयनको जिम्मेवारी पाएको विभाग यसरी आलोचनामाथि आलोचना खेपिरहेको छ ।