राजीवले देखेको गुट, दाउपेच र भागबन्डाको कहानी

सुरू गरौं, राजीव उपाध्यायको हालै प्रकाशित पुस्तक 'कबाल्स एन्ड कार्टेल्स' भित्र समेटिएका तीन प्रतिनिधि घटनाबाट। मैले यहाँ संक्षेपमा प्रस्तुत गरेका ती घटनालाई जस्ताको तस्तै पढ्न भने पुस्तक नै उठाउनु पर्छ।

घटना– १

संकटग्रस्त नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको पुनरुत्थान गर्नुपर्ने थियो। राष्ट्र बैंकका तत्कालीन गभर्नरले सहयोग गरिरहेका थिएनन्। यसमा गिरिजाप्रसाद कोइरालाले केही सहयोग गर्लान् कि भन्ने लागेको थियो। अशोक बास्कोटाले बानेश्वरस्थित उनको घरमा कोइरालालाई भेट्ने चाँजोपाँजो मिलाइदिएका थिए। 

हामी पुगेको एकैछिनमा गिरिजा पनि आफ्ना विश्वासपात्र सुशील कोइरालासँगै बास्कोटाको घरभित्र छिरे। एक छिनको भलाकुसारीपछि हामीले उनलाई नेपालको वित्तीय प्रणालीमा जोखिम बढ्दै गएको जानकारी गरायौं। भावभंगिमा हेर्दा स्पष्ट देख्न सकिन्थ्यो, उनीहरूलाई हाम्रा कुराले झ्याउ लागिसकेको छ। 

गिरिजाले बिचैमा हाम्रो कुरा काट्दै भने, 'हामी छिट्टै प्रधानमन्त्री भट्टराईलाई हटाउँदै छौं। त्यसपछि हामी महेश आचार्यलाई सरकारमा ल्याउँछौ।' 

यो हामीले खोजेको भन्दा धेरै माथिको कुरा थियो।

घटना– २

प्रधानमन्त्री मनमोहन अधिकारीको चीन भ्रमणमा सांघाईका मेयर, जो चिनियाँ कम्युनिस्ट पार्टीको वरियतामा शक्तिशाली सदस्य हुन्छन्, छु क्वाङ्दीले रात्रीभोज आयोजना गरेका थिए। स्वागत भाषणमा एकपछि अर्को उदाहरण दिँदै उनले निजी उद्यम र राज्य पुँजीवादबाट प्राप्त हुने लाभको लामो चर्चा गरे। 

उनले पुदोङमा स्थापना हुँदै गरैको आर्थिक क्षेत्रलाई 'ड्रागनको शिर' का रूपमा व्याख्या गरे। भ्रमण दलका सदस्यहरूलाई अर्को बिहान त्यो क्षेत्र देखाउने आफू आतुर रहेको बताए। 

यो सबै कुरा भ्रमण दलका एक सदस्य वरिष्ठ वाम चिन्तक तथा पत्रकार सुकदेव नेपाल 'अग्निशिखा' लाई पचिरहेको थिएन। उनले हाम्रो सहयोगका लागि खटाइएकी चिनियाँ युवतीलाई सोधे, 'कमरेड ली फेङलाई के भयो? उनले दिदी भन्ने गरेकी ती महिलालाई के भयो?'

चिनियाँ कम्युनिस्टहरूले वाहवाही गर्दै आएका ती आदर्श पात्रहरूका बारेमा उनले सोधेका थिए। ती पात्रहरू बारे युवतीले अज्ञानता प्रकट गर्दै भनिन्, 'सायद तिनीहरू काल्पनिक थिए।' 

प्रकाशित मिति: : 2020-10-07 09:02:09

प्रतिकृया दिनुहोस्