बिध ल्याबका भण्डारी भन्छन्– ‘सबै निजी ल्याबलाई प्रति कोभिड टेस्ट ५ सय नाफा दिएर काम गर्न तयार छु’

‘सरकारले अनुमति दिए १५ दिनमा ६ सय बेडको कोरोना अस्पताल बनाउँछौं’

नेपालमा कोरोना संक्रमण दर बढ्दै जाँदा स्थापना भएको बिध ल्याबले छोटो समयमै लोभलाग्दो सफलता र लोकप्रियता कमायो ।

कोरोना महामारी बढ्दै जाँदा सरकारले निर्धारण गरेको पीसीआर परीक्षण शुल्कमा निजी अस्पताल तथा ल्याबहरूले परीक्षण गर्न नमानिरहेको अवस्थामा बिध ल्याबले फरक तरिकाले सेवा दिइरहेको छ ।

सरकारले तोकेको भन्दा पनि सस्तो शुल्कमा यस ल्याबले पीसीआर परीक्षण गर्दै गर्दा ल्याबको लोकप्रियता बढ्दै गएको हो । 

कोरोना महामारीकै बीचमा स्थापना भएको यस ल्याब र यसका भावी योजनाका बारेमा लोकान्तरकर्मी परिवर्तन देवकोटाले बिध ल्याबका अध्यक्ष बिके भण्डारीसँग कुरा गरेका छन् । ​प्रस्तुत छ, भण्डारीसँगको कुराकानीको सम्पादित अंश :

कोरोना महामारी शुरू भएसँगै बिध ल्याब सञ्चालनमा ल्याउनुभयो, यो कन्सेप्ट कसरी आयो ? 

नेपालमा कोरोनाको संक्रमण बढ्दै गएको थियो । त्यतिखेर सरकारले लकडाउन गर्‍यो । त्यतिबेला निजी प्रयोगशाला थिएनन् । 

कोरोना संक्रमण दर दिनदिनै बढ्दै जाँदा सरकार एक्लैले कोरोना परीक्षण गरेर धान्न सक्ने अवस्था रहेन । त्यतिखेर सरकारी प्रयोगशालाहरूमा २५ हजारसम्म स्वाब नमूना होल्ड हुन्थे ।

त्यसैकारण हामीले जेठ १६ गते स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेका थियौं । त्यसको एक महिनापछि मन्त्रालयले एलओवाई दियो । उसले १५ दिनभित्र ल्याब बनाउनू भनेर एलओवाई दिएको थियो । हामीले ५ दिनमै ल्याब बनायौं ।

त्यसपछि हामीले अनुगमन गर्नका लागि मन्त्रालयलाई बोलायौं । एक हप्तापछि उसले आएर अनुगमन पनि गर्‍यो र लाइसेन्स दियो । 

कोरोना परीक्षण कहिलेदेखि शुरू गर्नुभयो ? 

जतिबेला नेपालमा कोरोना संक्रमणको दर एकदमै कम थियो । त्यतिबेला निजी क्षेत्रहरू यसमा थिएनन् । हामीले कोरोना नियन्त्रणमा निजी क्षेत्रको भूमिका रहन सक्छ भनेर नै यो कन्सेप्टलाई अगाडि सारेका हौं ।

साउन १३ गते लाइसेन्स पायौं र साउन १५ गतेदेखि दैनिक रुपमा कोरोना परीक्षणमा सहभागी बन्यौं । 

हामीले शुरूका दिनमा दिनमा ६/७ सय पीसीआर परीक्षण गर्दथ्यौं, अहिले त्यो संक्रमण दर बढ्दै जाँदा परीक्षण दर पनि बढ्दै गएको छ । हामीले अहिले दिनको १५/१६ सय परीक्षण गर्दै आइरहेका छौं ।

कोरोना परीक्षण गर्दै जाँदा शुरूमा सरकार र हामीबीच अलिकति द्वन्द्वजस्तै भयो । सरकारले पोजेटिभ केस पोजेटिभ देखिएको व्यक्तिलाई शुरूमै जानकारी नगराउनु, ईसीडीलाई जानकारी गराउनु भनेको थियो । हामीले शुरू देखि नै पोजेटिभ केस सम्बन्धित संक्रमित, उसका परिवारलाई खबर गर्ने गरेका थियौं । 

सम्बन्धित संक्रमित व्यक्तिलाई शुरूमै थाहा दिन सकिएमा उसले सावधानी अपनाउँछ र अन्यलाई सर्ने जोखिम कम गर्न सकिन्छ भन्ने थियो । अहिले पनि हामीले त्यही गरिरहेका छौं ।

हामीले जुन ट्रेण्ड बसाल्यौं, सरकारले त्यसलाई नै आधार दियो र उसले अहिले संक्रमित भएको जानकारी शुरूमै सम्बन्धित व्यक्तिलाई दिन थाल्यो । 

बिध ल्याबको क्षमता कति हो ? कस्ता सुविधाहरू समावेश छन् ? 

बिध ल्याबमा हामीले अहिले दैनिक ४ हजार जनाको कोरोना परीक्षण गर्न सक्छौं । शायद नेपालमा भएको सबैभन्दा ठूलो ल्याब हाम्रै हो । यस्तै काठमाडौं उपत्यकाभित्र रहेका करीब ९० प्रतिशत अस्पतालले पीसीआर परीक्षणका लागि हाम्रोमा पठाउनुहुन्छ । 

हाम्रो आफ्नै स्वाब कलेक्सन सेन्टर रहेको छ । दिनमा ५/६ सय जनासम्मको स्वाब कलेक्सन अहिले पनि भइरहेको छ र त्यो परीक्षण पनि हुन्छ । 

प्रकाशित मिति: : 2020-10-06 16:41:30

प्रतिकृया दिनुहोस्