दशैंको अग्रिम टिकट बुकिङ अन्योलमा, असोज २५ पछि निर्णय हुने

दशैंमा अग्रिम टिकट बुकिङ अन्योलमा परेको छ। यातायात व्यवस्था विभागले आज बुधबारबाट बुकिङ खुलाउन व्यवसायीलाई प्रस्ताव गरेको भए पनि  व्यवसायीले अहिले चलिरहेका बसमै पर्याप्त यात्रु नभएको भन्दै थप छलफल गर्नुपर्ने भनेर बुकिङ खुलाएनन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङबारे छलफल गर्न शनिबार लामो दूरीमा सवारी चलाउने सदस्य कम्पनीका अध्यक्षहरुसँग छलफल गर्ने भएको छ।

त्यो छलफलपछि महासंघको बैठक बसेर अग्रिम टिकट बुकिङबारे निर्णय गर्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले बताए। ‘अहिले पनि काठमाडौंबाट छुटिरहेका बसले पर्याप्त यात्रु पाएको छैनन। महामारीको अवस्थामा अग्रिम टिकट बुकिङ आवश्यक छ/छैन भनेर हामी छलफल गर्छौं,’ कमचार्यले भने,’कम्पनीहरुको अनुभवका आधारमा महासंघले निर्णय गर्छ ।’

स्वास्थ्य मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार पुग्दा लकडाउन गर्न सिफारिस गरेका कारण पनि अग्रिम टिकट बुकिङ खुला गर्न समस्या देखिएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले अहिलेसम्म लामो दूरीको बसमा चाप नदेखिएकाले यो वर्ष अग्रिम बुकिङ खोल्ने निर्णय गर्न ढिलाइ भएको बताए । उनले अब केही दिनको अवस्था हेरेर महामारीको कारण यात्रु कति घट्छन् भन्ने स्पष्ट आँकलन गरेपछि त्यसकै आधारमा बुकिङ खुलाउने बताए।

हमालका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा उपत्यकामा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । अहिले सक्रिय संक्रमतिको संख्या २३ हजार नाघेको छ ।

सरकारले सकेसम्म यात्रा नगर्न अनुरोध गरेको भन्दै हमालले  यो वर्ष काठमाडौं छाड्ने संख्या सानो हुन्छ भन्ने अनुमान रहेकाले अवस्था हेरेर असोज २५ पछि निर्णय लिने बताए।

सरकारले यो वर्ष दशैंका बेला ५ लाख व्यक्ति उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ।

प्रकाशित मिति: : 2020-10-06 16:12:25

प्रतिकृया दिनुहोस्