नेकपा शीर्ष नेताहरूको भेटघाट बन्द

प्रधानमन्त्री केपी ओलीको सचिवालयमा कार्यरत प्रमुख राजनीतिक सल्लाहकारदेखि सचिवालयका अन्य सदस्य र सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेता होम आइसोलेसनमा बसेका छन्। प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह अफिसियल फोटोग्राफर र निवासमा कपाल काट्ने नाईलाईसमेत संक्रमण देखिएपछि सबैलाई परीक्षण गर्दा प्रमुख राजनीतिक सल्लाहकारसहित सुरक्षाकर्मीलाई संक्रमण देखिएको हो।

अहिले प्रधानमन्त्रीको स्वास्थ्यमा निकै सावधानी अपनाइएको छ। साथै अत्यावश्यकबाहेक उनका सबै भेटघाट बन्द गराइएको छ। आइतबार दिउँसो दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच दुई घण्टा भेटघाट भए पनि अन्य नेतालाई भने बालुवाटार प्रवेशमा रोक लगाइएको छ। ‘प्रधानमन्त्री ओलीले भेट्नै परेकाले उच्च सतर्कताका साथ भेटघाट भएको र दुई अध्यक्षको भेट पनि दूरी कायम गरेर भएको हो,’ स्रोतले भन्यो।

प्रधानमन्त्रीनिवासमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आइतबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक पनि स्थागित गरिएको छ। दुई अध्यक्षबीच भेटघाट हुँदा कोरोना संक्रमण नियन्त्रण र त्यसको उपायबारे छलफल भएको साथै अन्य सरकारी नियुक्तिबारे पनि छलफल भएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अत्यावश्यकबाहेक सबै भेटघाटलाई बन्द गरिएको छ। अहिले तत्कालै सचिवालय बैठक वा अन्य बैठकको सम्भावना पनि नरहेको बालुवाटार स्रोतले जानकारी दियो। महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी बुटवलमै हुनुपर्छ भन्ने अडान राखेकाले दुई अध्यक्षबीच सो विषयमा छलफल भएको बताइएको छ। ‘प्रदेश ५ को राजधानी दाङमा तोकिएपछि महासचिव विष्णु पौडेलले दुई अध्यक्षसँग असहमति प्रकट गर्नुभएको थियो। आजको भेटमा उहाँहरूबीच यो विषयमा पनि छलफल भएको छ,’ बालुवाटारनिकट स्रोतले भन्यो। प्रदेश ५ को राजधानी विवादलाई लिएर अहिले बुटवलमा आन्दोलन चलिरहेको छ। प्रदेश राजधानी विषयमा विवाद उत्पन्न भएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल शनिबार काठमाडौं आएर महासचिव पौडेलसँग भेटघाट गरेर आइतबार नै फर्केका छन्।

प्रकाशित मिति: : 2020-10-05 08:08:33

प्रतिकृया दिनुहोस्