तातोपानी नाकाबाट भित्रिए ११ कन्टेनर

बिएल संवाददाता

सिन्धुपाल्चोक

नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच यही असोज १३ गते तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आजदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ । आज ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले  चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिए। आइतबार ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ। भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ पठाइनेछ।

कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड, अनलोड गर्न तयारी अवस्थामा राखेको छ ।

यसैबीच असार २५ गतेदेखि बन्द तातोपानी नाका सोमबारदेखि सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन हुन लागेको हो । नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ। रासस

प्रकाशित मिति: : 2020-10-04 22:14:36

प्रतिकृया दिनुहोस्