१८ असोज, काठमाडौं । ‘१५ सयमा आउँछ भने दिनुस्, नत्र म गएँ’ भोटोहिटीको सानो गल्लीमा कपडा पसलेलाई घुर्क्याउँदै ग्राहक बोलिन् । ‘लु सय रुपैयाँ थप्नुस्’ पसलेले भने । ती ग्राहकलाई विदा गर्न नपाउँदै अर्का ग्राहक साँघुरो कपडा पसलभित्र छिरे । पसल पहिल्यै खचाखच थियो । दुईजना व्यापारीलाई ग्राहकसँग मोलमोलाई गर्न भ्याई–नभ्याई थियो ।
नजिकै रहेको अर्को पसलमा ‘सेल, सेल’ लेखिएको प्लेकार्ड देखाइएको छ । विभिन्न आइटमका कपडाहरु पसल अगाडि बक्समा राखिएका छन् । ‘लु लैजानुस्, चार सय नब्बे, चारसय नब्बे’ पसल अगाडि उभिएका युवा कराउँछन् । त्यहाँ पनि उस्तै भीड छ । ग्राहकहरु हारालुछ गरिरहेका छन् ।
‘चार सय रुपैयाँमा आउँदैन ?’ बक्समा राखिएको एउटा कपडा निकालेर एक महिलाले सोधिन् । ‘फिक्स रेट हो, नलैजाने भए जानुस्’ व्यापारी रुखो गरी प्रस्तुत हुन्छन् ‘अरुले ४९० नै तिरेर लैजान्छन् ।’
भोटोहिटी अगाडि असनमा पनि यस्तै भीडभाड छ । सबै आफ्नै तालमा यताउति हेरिरहेका छन् । कोही पसलमा किनमेल गर्दैछन् त कोही बाटो तताइरहेका छन् ।
सामान बोक्ने भरियाहरुलाई पनि भ्याई नभ्याई छ । ‘ए…ए…. बाटो छाड्नुस्’ भन्दै काँधमा भारी बोकेर भरियाहरु कराउँदै हिँडिरहेका छन् । चार पाङरे गाडी पस्न सक्ने अवस्था छैन । मोटरसाइकलमा हिँडेकाहरु पनि भीडमा सास्ती खेपिरहेका छन् । मोटरसाइकलभन्दा चाँडो मान्छे नै हिँडिरेहका छन् । अपरिचित मान्छेलाई नछोई हिँड्न सक्ने अवस्था छैन ।
असनजस्तै इन्द्रचोकमा पनि कम छैन भीडभाड । फुटपाथमा राखिएका पसलहरु नगरपालिकाका प्रहरी आउँछन् कि भनेर डराउँदै व्यापार गरिरहेका छन् । ‘ए एक सय नब्बे, ए एक सय नब्बे’ भन्दै कोही कराइरहेका छन् । कसैले ५ सयमा दुईवटा टिसर्ट आयो भन्दै दशैंका ग्राहकलाई बोलाइरहेका छन् ।
विशाल बजार अगाडि काठमाडौं महानगरपालिकाको स्मार्ट पार्किङ छ । त्यहाँ मोटरसाइकल खचाखच देखिन्छन् । पार्किङ गर्ने ठाउँ छैन । छेउमा मोटरसाइकल रोकेर पार्किङका लागि ठाउँ कुर्दै गरेका दृश्य देखिन्छ ।
न्यूरोडको अवस्था त त झन् के कम हुन्थ्यो । त्यहाँ झन् ठूलो भीड छ । पसलमा मान्छे पस्न मिलेसम्म खाँदिएर पसेका छन् । गल्ली, सडक कतै उभिनै नसकिने भीड छ । मास्क सबैले लगाएका छन् । कसैको मास्क झरेर चिउँडो मुनि झरिसकेको छ । भौतिक वा सामाजिक दूरीको त त्यहाँ कुरै नगरौं ।