हिजो बिहीबार (अक्टोबर १, २०२०) संसारभर तीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो । राष्ट्रसङ्घको आह्वानमा मनाउन थालिएको यो दिवसमा ज्येष्ठ नागरिकलाई कोभिड–१९को प्रभावबाट कसरी जोगाउने भन्नेबारे नेपालमा पनि धेरै परिचर्चा भए । राष्ट्रपतिले ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन आह्वान गर्नुभएको छ ।
संसारभर कोभिड–१९ ले ज्येष्ठ नागरिक अत्यधिक प्रभावित र मृत्यु पनि यही उमेर समूहका व्यक्तिको भएको छ । ज्येष्ठ नागरिकको सुरक्षाप्रति चिन्ता विश्वकै एजेन्डा बनेको छ । हरेक व्यक्तिले जन्मेपछि ज्येष्ठ नागरिक बन्ने प्रक्रिया पार गर्नुपर्छ । ज्येष्ठ नागरिकको सुरक्षा गर्नु भनेको प्रत्येक व्यक्तिले आफ्नो सुरक्षाको उत्कट चाहना व्यक्त गर्नु हो ।
देशलाई एउटा परिवार मान्ने हो भने हाम्रो राष्ट्रपति देशको ज्येष्ठ नागरिक हो । राष्ट्रपति पदको गरिमा यसैमा रहेको छ । बोलीचालीमा ज्येष्ठ नागरिक भनेको बूढाबूढी, वृद्धवृद्धा, हजुरबा÷हजुरआमा हो । राष्ट्रपति सम्मानित र आस्थाको धरोहर हुन् । विश्वासको धरोहर हुन् । परिवारको मियो हुन्, जोसँग कुनै कार्यकारी अधिकार छैन !
हजुरबा — हजुरआमा
हजुरबा÷हजुरआमाको नामको लालपुर्जा छोरा÷बुहारी र नातीनातिनाकहाँ पुगिसकेको हुन्छ । ढुकुटी पनि सुम्पिइसकेका हुन्छन् । तर पनि हजुरबा÷हजुरआमा यतिबल र प्रभावशाली, यतिविघ्न आधिकारिक हुन्छन् कि उहाँहरूको सहमतिबेगर परिवारका कोही फिटिक्कै चल्दैनन् । परिवारमा अधिकारको होइन, सम्मान, विश्वास र पहिचानको प्रभाव रहेको हुन्छ । जो उहाँहरूको ज्ञान, सीप र अनुभवप्रतिको सम्मान हो । राष्ट्रपतिले सन्देशमा भन्नु पनि भएको छ–‘मातृ देवो भव, पितृ देवो भव !’ सबैमा जगजाहेर छ कि हजुरबा÷हजुरआमामा रहेको त्यो आधार, आस्था, विश्वास र जिम्मेवारी यस्तो गाम्भीर्य हो कि परिवारमा कोही कसैको विवाह÷व्रतबन्ध वा कुनै शुभकार्य गर्नुपरेमा उहाँहरूको मञ्जुरी र स्वीकृतिले निर्णयमा प्रभाव पार्छ । कुनै जग्गा बेच्नुप¥यो भने पनि सल्लाहको परिपालना हुन्छ । जब कि त्यो सम्पत्तिको धनीपुर्जा उहाँहरूको नाममा समेत हुँदैन ।
राष्ट्रपति भनेका हाम्रो राष्ट्रका हजुरबा÷हजुरआमा हुन् । एकताको प्रतीक हुन् । राष्ट्रको गरिमा हुन् । परिचय हुन् । यही भूमिका हाम्रो संविधानले पनि राष्ट्रपतिलाई दिएको छ । संविधानसभाबाट संविधान जारी हुनुअघि प्रथम राष्ट्रपति बन्नुभयो– डा. रामवरण यादव ! उहाँ सङ्क्रमणकालमा राष्ट्रपति बन्नुभएको हो । नेपालमा भएको उथलपुथल सामन्तवादविरोधी राजनीतिक–साँस्कृतिक क्रान्तिभन्दा पनि उपल्लोस्तरको युगान्तकारी परिवर्तन हो । त्यसबाट जनताका छोराछोरी देशको राष्ट्राध्यक्ष बन्ने आमूल परिवर्तनकारी थालनी भयो । राष्ट्रपति डा. यादवले संविधानसभाले बनाएको नेपालको संविधान ०७२ लाई ढोगेर असोज ३ गते संभिधानसभा भवनबाट जारी गर्नुभयो ।
नेपालमा गणतन्त्र स्थापना राजनीतिक–सामाजिक–आर्थिक क्रान्तिमात्र होइन, यो त्यसभन्दा पनि उच्चतहको महान् साँस्कृतिक क्रान्ति हो, जसको प्रतीकका रूपमा राष्ट्रपतीय संस्था स्थापना भएको छ । र यो त्यस्तो संस्था हो, जहाँ जुनसुकै धर्म, संस्कृति, वर्ग, लिङ्ग, भाषा र क्षेत्रको व्यक्ति पदासिन भएर राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न पाउँछ । प्रथम राष्ट्रपतिले संविधान जारी गर्दा राष्ट्रको मूल कानुनलाई ढोग्नु भनेको उहाँको त्यसप्रति आस्था, विश्वास र निष्ठा छ भन्ने ज्वलन्त प्रमाण हो । राष्ट्राध्यक्षको जिम्मेवारीमा रहेर, राजनीतिक–आर्थिक–साँस्कृतिक क्रान्तिको फल भनेर, उहाँले राष्ट्रपतिलाई संविधानको संरक्षक एवम् पुजारी बनाउँदै ढोगेको कुरा घामजत्तिकै छर्लङ्ग छ ।