भारतीय जनता पार्टी (बिजेपी) को पहिलो प्रधानमन्त्री अटलबिहारी बाजपेयीको सरकारमा उनी विदेश मन्त्री नियुक्त थिए।
यसै बेला २४ डिसेम्बर सन् १९९९ मा काठमाडौंबाट इन्डियन एयरलाइन्सको फ्लाइट नम्बर आइसी–८१४ विमान हाइज्याक भयो।
पहिले यसलाई पाकिस्तानको लाहौर पुर्याइयो। यसपछि भारतकै अमृतसरमा ‘फ्यूलिङ’ का लागि राखियो। र, फेरि लाहौर हुँदै काबुल, दुबई भएर कन्धार विमनस्थलमा राखिएको थियो। यतिबेला ‘प्लेन हाइज्याक’ गर्ने व्यक्तिसँग नियमित सम्पर्कमा थिए, तत्कालिन विदेश मन्त्री जशवन्त सिंह।
‘प्लेन हाइज्याक’ गर्ने आतंकवादीको माग थियो, भारतीय जेलमा कैदीको जीवन विताइरहेका मुस्ताक अहमद जरगर, उमर सईद शेख र मौलाना मसूद अजहरलाई मुक्त गर्नुपर्ने। र २० करोड डलर फिरौती रकम दिनुपर्ने। प्रधानमन्त्री बाजपेयी आतंकवादीको माग मान्ने मुडमा थिएनन्।
तर, विपक्षीको चर्को दबाब र प्लेनमा रहेका यात्रुहरूको परिवारको आग्रहपछि बाजपेयी आतंकवादीको माग मान्न राजी भए। तर, त्यसलाई कार्यान्वयन कसरी गर्ने? यो ठूलो समस्या थियो। यस कामका लागि बाजपेयीले आफ्ना विश्वास पात्र विदेश मन्त्री सिंहलाई लगाए।
पाकिस्तान तथा अफगानी आतंकवादीहरूको अपरेशनमा ‘प्लेन हाइज्याक’ भएको थियो। त्यसैले आफ्नो काम पुरा भएपछि प्लेनमा बन्दी बनाइएका यात्रुहरूलाई छोड्छन भन्ने कुनै विश्वास थिएन।
तर, सिंहले विश्वासको वातावरण बनाए। उनी आतंकवादीको मागअनुसार भारतीय जेलमा कैदी जीवन बिताइरहेका सबै आतंकवादीलाई आफ्नै रोहवरमा कन्धार लिएर गए। र, उनी यात्रुलाई छुटाउन सफल भए। फिरौती मागिएको २० करोड डलर वार्तापछि हटाइएको थियो।
यस प्लेनमा नेपाली यात्रुहरू पनि थिए। सिंहको परिपक्व कदमसँगै नेपालीहरू पनि आतंकवादीहरूको चंगुलबाट छुटेर घर फर्किन सफल भए।
यही बेलादेखि जसवन्त सिंहलाई नेपालीहरूले पनि चिनेका हुन्। भारतमा यसअवधिमा थुप्रै व्यक्ति विदेश मन्त्री बनिसकेका छन्। तर, इन्डियन एयरलाइन्सको ‘हाइज्याक’ पछि नेपालीहरूले सबैभन्दा चिनेको नाम हो, जसवन्त सिंह।
राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि संवेदनशील बनेको नेपाल–भारत सम्बन्धको नयाँ आयामलाई पुर्नभाषित गर्न पनि जसवन्तको भूमिका थियो। उनले नेपाल–भारत व्यापार सम्झौंता नवीकरण गर्न पनि योगदान गरेका थिए।
उनै सिंहको ८२ वर्षको उमेरमा आइतबार बिहान राजधानी दिल्लीको आर्मी अस्पतालमा निधन भयो।
राजनीतिमा प्रवेश गर्नुअघि उनी सेनाका अवकाशप्राप्त मेजर थिए। त्यो उनको स्वभावमा पनि झल्किन्थ्यो।
सन् १९९८ मा भारतले पोखरणमा परमाणु परीक्षण गरेपछि अमेरिकाले भारतमा प्रतिबन्ध लगायो। यसको ठिक एक वर्षपछि १९९९ मा कारगिल युद्ध सुरु भयो। यो युद्धमा अमेरिकासँग बिग्रिएको सम्बन्धलाई ठिक गर्न जसवन्तले ठूलो भूमिका निर्वाह गरेका थिए।
आफ्नो काम इमान्दारीताका साथ गर्ने कारण पनि बाजपेयीले उनलाई आफ्नो कार्यकालमा तीनवटा महत्वपूर्ण मन्त्रालयको कार्यभार सुम्पिएका थिए। उनले अर्थ र रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हाले।
कुनै बेला पार्टीको सबैभन्दा लोकप्रिय अनुहार रहेका जसवन्त सिंह जीवनको अन्तिम समय पार्टीबाट बाहिर थिए। सन् २०१४ मा लोकसभा चुनावका लागि टिकट नपाएपछि जसवन्तले पार्टी परित्याग गरे।
यसबेला बिजेपीको नयाँ नेतृत्वको ठूलो आलोचना भएको थियो। तत्कालिन पार्टी अध्यक्ष अमित शाहले यतिबेला भन्नुपरेको थियो, ‘सबै निर्णय नाफा–नोक्सान तौलिएर गरिएको हो।’
जसवन्त सिंह सबैभन्दा बढी विवादमा त्यतिबेला आएका थिए, जब उनले पाकिस्तानका संस्थापक नेता मोहम्मद अली जिन्नाको विषयमा सन् २००९ मा एउटा विवादास्पद किताब लेखेका थिए, ‘जिन्नाः इन्डियन–पार्टिसन, इन्डिपेन्डेन्स’। यो किताबमा उनले जिन्नालाई धर्म–निरपेक्ष भनेर चित्रण गर्न खोजेका थिए भने पण्डित जवहारलाल नेहरु र सरदार बल्लवभाई पटेललाई भारत–पाकिस्तान विभाजनका प्रमुख पात्रको रूपमा उभ्याएका थिए।
किताब प्रकाशित भएपछि उनलाई पार्र्टीबाट निस्कासित गरिएको थियो। सन् २०१० मा उनी पुनः बिजेपीमा समावेश भए। उनलाई २०१२ मा उपराष्ट्रपति पदको उम्मेदवार पनि बनाइएको थियो। तर, उनी कांग्रेसको युपिए सरकारले उठाएको हामिद अन्सारीसँग पराजित भए।
सन् २०१४ मा लोकसभा चुनावमा उनको स्थानमा बाड्मेर सिटबाट कर्नेल सोनाराम चौधरीलाई बिजेपीले मैदानमा उतारेको थियो। उनी स्वतन्त्र उम्मेदवारको रूपमा चुनावमा उत्रिएका थिए। तर, पराजित भए।
यही वर्ष उनको टाउकोमा चोट लागेको थियो। त्यसयता उनी कोमामा थिए।
जसवन्त सन् १९५७ देखि १९६६ सम्म सेनामा कार्यरत थिए। उनले पाकिस्तानविरूद्ध १९६५ को युद्ध पनि लडेका थिए।
सेनाबाट अवकास पाएपछि उनी जोधपुरको महाराज गज सिंहको सल्लाहकार बनेका थिए। उनलाई १९७७ मा तत्कालीन मुख्यमन्त्री भैरों सिंह शेखावतले राजनीतिमा प्रवेश गराएका थिए। सन् १९८० मा बिजेपी पार्टी स्थापना हुँदा उनी प्रमुख भूमिकामा थिए।
शेखावतकै आग्रहमा बाजपेयीले उनलाई पहिले राज्यसभामा पठाएका थिए। सन् १९८९ मा उनले जोधपुरबाट लोकसभा चुनाव लडेका थिए। जहाँ उनले अशोक गहलोत (हालका मुख्यमन्त्री) लाई पराजित गरेका थिए।