१२ कक्षाको परीक्षा दिएर बसेको मलाई कता जाउँ, के गरौं भईराखेको थियो। यसैबिच साथीले दिल्ली जाने सुझायो। बुवा पनि उतै भएकाले मलाई पनि खोजे जस्तै भयो।
पैसाका लागि ममीलाई फकाएँ। २०६८ साल असार २२ गते। झमझम पानी परिहरहेको थियो। कच्ची बाटो भएकाले ममीले यस्तो झरीमा नजान भन्दै हुनुहुन्थ्यो। तर योजना बनिसकेकाले केही हुन्न ममी भन्दै हिडेँ।
पाल्पाहुँदै साँझ सुनौली पुगियो। सुनौलीबाट दिल्लीका लागि हरेक हरेक १० मिनेटमा डीडीसीका बस लाग्दो रहेछन्। तर कहिल्यै ट्रेन नचढेकाले रेल चढ्न मन लागेको थियो। सुनौलीमा रेल नपाइने, रेल चढ्नका लागि गोरखपुर जानुपर्ने भयो।
गोरखपुर जान बस या ट्याक्सीमा जानुपर्ने रहेछ। बसमा ५-६ घण्टा लाग्ने जानकारी पाइयो। फेरि ट्याक्सीमा जान पनि साह्रै महंगो थियो। कोही साथी भए त भाडा सेयर गरेर जान मिलथ्यो भन्ने सोचेर यसो गोरखपुर जाने कोही छ कि भनेर खोज्दै थिएँ। त्यतिनै बेला मेरो अगाडि एउटा ट्याक्सी आएर रोकियो। ‘भाइ गोरखपुर जाने हो?’, भनेर सोधे। सीमामा रहेका भारतीयले पनि राम्रै नेपाली बोल्न जानेका हुँदा रहेछन्।
आफूलाई खोजे जस्तै भयो।
‘जान त जाने तर एक्लै पैसा यति धेरै तिर्न सक्दिनँ?’ ट्याक्सी ड्राइभरलाई भनिहालेँ।
‘अरे यार के चिन्ता लिनुहुन्छ? हामी खोजिहाल्छौं नि’, ड्राइभर बोले।
‘म त १०० रूपैयाँ मात्र दिन्छु,’ मैले भने।
‘नेपाली होइन आइसी १०० दिनेभए चढ्नू, अरू ३ जना पनि राख्ने हो,’ ड्राइभरले सर्त राख्यो।
मलाई जानुपर्ने थियो, फेरि सोचेजस्तै भयो। हुन्छ भने। एक घण्टामा अरू ३ जना दिल्ली जाने यात्रु खोजेर ट्याक्सी अगाडि बढ्यो। दुई जना इन्डियन आर्मीका केटा र १ जना अलिअलि हाइफाई देखिने अर्धबैसे मानिस थिए गाडीमा।
चार जना भएपछि करिब बेलुकाको ६ बजे तिर ट्याक्सी गोरखपुरका लागि हिँड्यो।
सँगै ट्याक्सीमा जाने मध्ये अलिक हाइफाई जस्ता देखिने नुवाकोटका रामकृष्ण श्रेष्ठ रहेछन्। काठमाडौं र दिल्लीमा व्यापार रहेको भन्दै उनले आफ्नो परिचय ३/४ मिनेटमा सिध्याए। अरू २ जना भर्खर इन्डियन आर्मीमा जागिर खाएका उनीहरू तालिम सकेर पहिलो पटक ड्यूटीका लागि जाँदै थिए।
‘राम दाजु तपाईँको व्यापार चाहिँ के को?’, मैले सोधेँ।
‘भाइ मःमः पसल चलाउँछु नि,’ उनले सहजै जवाफ दिए।
‘काठमाडौंमा कहाँ दाजु?’, आफू काठमाडौं नगए पनि सोधेँ।
‘गोंगबुमा भाइ, दिनमा २ सय प्लेट मःमः बेच्छु नि त्यहाँ, एक प्लेटको ४० रूपैयाँमा दिन्छु। त्यसैले मेरोमा भिडभाड हुन्छ। आधा त पुरै नाफा हुन्छ,’ उनले एकै सासमा उत्तर दिए।
खासमा त्यो समयमा बजारमा एक प्लेट मःमः लाई ५० रुपैयाँ पर्दोरहेछ। अनि भैसीको मासु राखेर बनाएको मःमःलाई बफ भन्दा रहेछन्।
‘दिल्लीमा चै कहाँ छ नि राम दाजु,’ म पनि उतै जाने भएकाले मःमः भन्ने के रहेछ खानुपर्ला भनेर सोधेँ।
त्यो समयसम्म मलाई मःमः भन्ने थाहा थिएन। विदेशी खाना होला जस्तो लागेको थियो। गाउँमा हुर्केको मलाई के थाहा मःमः भन्ने।
कुरा गर्दागर्दै गोरखपुर रेल्वे इस्टेसन आइपुगेछौं। १ सय आइसीका दरले सबैले पैसा बुझायौं। २ जना आर्मी आफ्नो बाटो लागे। म त नयाँ मान्छे मेरो लागि भारत विदेश नै थियो। भारतमा पहिलो पटक हो भनेर मैले राम दाइलाई पहिले नै बताइसकेको थिएँ। उनले पनि दिल्लीसम्म पुर्याउने बाचा गरेका थिए। विश्वास त थिएन् तै पनि पछिपछि लागेँ।
‘भोक लाग्यो होला भाइ, पहिले खाना खाउँ अनि रेल चढौंला’, राम दाजुले भने। मैले टाउको मात्र हल्लाएँ। आफूलाई पनि भोक त लागेकै थियो।
‘मैत त रेलको टिकट पनि काटेको छैन दाजु’, उनलाई भनेँ।
‘हैट भाइ चिन्ता नगर न मैले पनि काटेको छैन। दले भइहाल्छन् नि १० रूपैया बढी आयो भने मिलाइदिइहाल्छन् नि’, राम दाजु टिकट काट्नेमा ढुक्क थिए।
तर मलाई विश्वास लागिरहेको थिएन। दिल्ली आउने/जाने गाउँका अंकलहरूले टिकट नपाएर रेल स्टेशनमा २-३ दिन सुत्नुपर्छ भन्ने कुरा बेलाबेलामा सुनाउने गर्थे।
मनमा कता कता डर जस्तो पनि लागेको थियो। ठुटे हिन्दी र ठुटे नै इङलिस् त आउँथ्यो। तर त्यतिले नपुग्ने पो हो कि भन्ने लाग्यो।
रेल्वे इस्टेशन नजिकैको एउटा पञ्जाबी ढावामा खाना खान बस्यौं। त्यहाँ काम गर्ने पनि नेपाली नै रहेछन्। सादा दालभात खायौं।
राम दाजुले सुटकेश बोकेका थिए, मैले सानो झोला। एक जना होटलमै काम गर्ने ५० वर्ष हाराहारीको देखिने नेपाली हुँ भन्नेले खाना थप्ने निहुँमा हाम्रो छेउमा आएर भने, ‘भाइ लगेज रहेछ। पैसा पनि होला हेर्नुस् त त्यता यी सबै चोरहरु हुन्, ख्याल गर्नुहोस है,’ उनले अर्को टेबलमा बसेका ४ मानिसतर्फ देखाँदै भने।
मलाई अलिअलि डर लाग्यो। मेरो व्यागमा त केहि पनि थिएन्। खल्तीमा ५ सय आइसी मात्र थियो। तर रामदाजुसँग पैसा थियो होला।
त्यतिकैमा रामदाजुले ती मान्छेलाई झपार्दै भने, ‘तिमी कुरा बुझ्न आएका हौं। त्यहीँ ग्याङको मान्छे हौं जस्तो छ’, त्यति भन्न नपाउँदै ४ जना मान्छे उठेर गए त्यो मान्छे पनि हिँड्यो।
बल्ल थाहा पाएँ ती त पैसा छ कि? भनेर बुझ्न पो आएका रहेछन्।
‘भाइ हेर यहाँ सबै चोरहरु हुन्छन्। साला लुट्ने मात्र छन्। सानो स्वरमा बोलेरै हुँदैन्। टाठै (ठूलो स्वर) मै भन्नुपर्छ,’राम दाइले भने।
खानाको १ सय २० रूपैयाँ तिरेपछि रेल्वे स्टेसन तर्फ लाग्यौं।
रेल बेलुका ८ बजे दिल्लीको लागि जाने रहेछ, राजधानी एक्प्रेस। तर टिकट काट्ने ठाउँमा हजारौं मान्छेको भिड थियो। टिकट काट्नेको तँछाड मछाड थियो। मलाई भने अब आज दिल्ली जान नपाउने भइयो जस्तो लाग्यो। तर पनि राम दाजुले मिलाउँछु भन्दै थिए।
केही छिनमा उनी हराए। लाग्यो यी पनि स्वार्थी नै रहेछन्।
भिडभाडमा छिचोेल्दै काउण्टरमा गएँ।
सर जी दिल्ली के लिए टिकट दिजिए।
तेरा बापका रेल तुमको टिकट मिल्ने के लिए ? नै देखता इता आद्मी लोक हे। ठुलै स्वरमा टिकट दिने कर्मचारी करायो। सवैलाई त्यसै गरी नै थर्काइरहेको थियो भित्रबाट आउने लाई २० बढि लिँदै दिँदै गरेको स्पष्टै देखिन्थ्यो।
गाउँघरमा अंकलहरुले भनेको सम्झीएँ ३०÷४० बढि दिए मिलाउँछन् भनेर। हातमा ५ सय ६० रुपैयाँ राखेर दिएँ तर पनि छैन भनेपछि निरास हुँदै भिडबाट निस्कीएँ।
घर फर्किने सुरमा बाहिर निस्कीदै थिएँ एउटा दले आइहाल्यो।
‘बेटा किदर जारहे हो?’
‘दिल्ली’ एक शब्द मात्र बोलेँ।
‘एसी मेँ खाली हे जाओगेँ?’ उसले मेरो पछिपछि लाग्दै भन्यो।
‘मेरे पास इत्ना पैसा नै हे चाचा जी’, जवाफ दिएँ त्यति बेलासम्म मैले उसको मुखमा पनि हेरेको थिएन। मनमा अब घर फर्कने सुर चल्दै थियो।
राम दाइ कताबाट फेरि टुप्लुक्क देखिए।
‘दाजु कता हराएको तपाईँ’, उनी केही बोलेनन्। त्यो मसँगै कुरा गरेको देखेर आएका रहेछन् पछि मात्र थाहा पाएँ।
खासमा उनी टिकट नपाएर भौतारिरहेका रहेछन्।
उनले त्यो दलेसँग एसी वाला टिकट भए पनि हुने भन्दै थिए।
‘मसँग पैसा छैन दाजु। म त घर फर्किन लागेको’, मैले रामदाजुलाई आफ्नो कुरा सुनाइहालेँ।
‘ए भाइ चिन्ता नगर न म मिलाउँछु क्या’, उनले भने।
२५ सय आइसीमा उसले २ जनालाई एसीको टिकट ल्याइदियो।
५ सय कमिशन खाएको रे रामदाजु भन्दै थिए।
राम दाजुले खानेकुरा किनेर ल्याए पछि हामी रेलमा आफ्नो सिटतिर लाग्यौं।
आफूसँग पैसा नभए पनि उनैको पैसाले दिल्ली यात्रा त्यो पनि एसी क्याविनमा, निकै रमाइलो हुने भन्दै मख्ख थिएँ।
क्याविनमा २ वटा सुत्ने ठाउँ थिए। आ–आफ्नो सिटमा बस्यौं।
रेल कुदेसँगै रामदाजुले आफ्ना विगतका धेरै कथा सुनाउनुभयो। कतिपय रमाइला पनि थिए त कतिपय बोर लाग्दा थिए।
लगभग १२ घण्टाको यात्रा पछि दिल्ली एक्प्रेसले पुरानो दिल्ली पुर्यायो।
पुरानो दिल्ली पुगेपछि हामी ओर्लियौं। बाहिरको एउटा पिसिओबाट बुवालाई फोन गरेँ। नेपाली देखेर होला १ रूपैयाँ उठेको बिललाई ५ रुपैयाँ आइसी ठटाइहाल्यो पिसीयो वालाले।
मैले फोन गरेपछि बुवा सरप्राइज हुनुभयो। सायद ममीले फोन गर्नु भएको थिएन क्यार। गर्नु पनि कसरी? फोन गर्न स्टालाइट फोन प्रयोग गर्नु पथ्र्यो त्यो पनि २ घण्टाको पैदल हिँडेर, त्यत्रो फुर्सद कहिले निक्ल्योस् र ममीलाई?
करिब १ घण्टा पर्खिएपछि मलाई लिन राजु अंकल आइपुग्नु भयो। उनको पुरा नाम राजकुमार श्रेष्ठ थियो धादिङका उनी राह्रै चतुर। उनको बारेमा बुवाले धेरै कुरा गर्नुहुन्थ्यो। रामदाजुलाई मैले त्यहीँबाट विदा गरेँ। खै कता पो जान्छु भन्थे मैले सम्झिन सकिनँ।
राजु अंकल र म फेरी पुरानो दिल्लीको रेल्वेस्टेसनबाट नयाँ दिल्ली तर्फ लाग्यौं बसमा त्यो समयमा लगभग ५० रुपैयाँ प्रतिव्यक्ति भाडा लिएको थियो।
‘यार जैसी साह्रै रिसाएको छ। किन आएको होला पागल भन्दै थियो, व्यस्त भएर आउन पाएन। गएर भक्कु गाली खाने भइस भटिज्,’ बाटोमा राजु अंकल नेवारी लवजमा भन्दै थिए।
मलाई अलिअलि डर पनि र अलिअलि रमाइलो पनि लागिरहेको थियो। गाउँको मान्छे दिल्ली जस्तो सहरमा त्यो पन एक्लै। घरका कुराकानी गर्दा गर्दै नयाँ दिल्ली बस स्टेसन आइपुगियो। त्यहाँबाट पनि हामीलाई महावीर नगरको गल्ली नम्वर १४ को घर नम्बर २१४ मा जानुपर्ने थियो। रिक्सा लिएर घर पुग्न नपाउँदै बुवाले बाटैमा थर्काउन थाल्नुभयो।
बुवाको गाली सुन्नु र सहनुको कुनै विकल्प थिएन। गज्जबै गाली खाइयो। त्यहीँ बेलामा राजु अंकलले बुवालाई सम्जाउन थाले, ‘किन गाली गर्छस् है जैसी? नआउनु थियो आइहाल्यो अब केही महिना काम गर्छ, घुम्छ रिजल्ट आएपछि जान्छ।’
बुवा बस्ने घरमा गए पछि आराम गरेँ। बेलुका लगभग ११ बज्न लागेको थियो, थकाइ पनि साह्रै लागेकोले भुसुक्कै निदाएछु।
००००
दिल्ली बसाइको १५ दिनपछि बुवा एमएलएसँग मुम्बई जानुभएको थियो। घरमा राजु अंकल र म मात्र थियौं। ‘जैसी छैन आज वियर खानुपर्छ’ उनले भने। ‘वियर?’ मलाई त त्यो पनि थाहा थिएन्। होला केही जुसको नाम होला भनेर ‘हुन्छ’ भन्दिएँ। कहिल्यै नखाएको नयाँ चिज चाख्न पाइने भयो भन्ने लाग्यो मनमनै।
राजु अंकलले १ सय रूपैयाँ दिएर ३ वटा वियर लिएर आउ भन्दै अह्राए। मलाई लाग्यो गल्ला (किराना) पसलमा पाइन्छ जस्तो लागेर सोध्न गएको व्यापारीले झण्डै हानेन ढकले।
‘भ्यान कि.. तुँ किसका वेटा है। सरम् नै हैँ तुजको? पुलीस वोलाँदुँ। मारदुँ तुजको?’, त्यो पसलेले के के हो के के गाली गर्यो। मैले कुरा त बुझिनँ। त्यसबेलामा उसले ताकेको ढक मात्र बुझेर कुलेलम ठोकेँ।
घर पुगेर राजु अंकललाई सबै सुनाएँ। बुढा हाँसेर झण्डै ढलेनन्। त्यसपछि पो बल्ल थाहा भो मलाई वियर भनेको रक्सी रहेछ। दिल्लीमा विषेश ठाउँमा भन्दा अन्यत्र नपाइँदो रहेछ।
राजु अंकललाई त्यस क्षेत्रमा धेरैले चिन्ने र मेरो बुवालाई भनिदिने भएकाले आफैं नगएका रहेछन्। मलाई बुवाको नाम अर्कै भन्नु भनेका थिए, राजु अंकलले। एक घण्टाको बसाइ पछि बल्ल पालो आयो।
रक्सी पसलेले सोध्दै थियो।
‘तुमारा नाम?’
‘गणेश।’
‘क्या बोले गणेश?’
हाँ।
चिच्चाएरै भन्दै थियो।
सराबीका नाम गणेश।
सराबीका बापका नाम?
जैसी। क्या बोला। जैसी। अरे तुँ जेसीका वेटा है।
हाँ। तुजको किसने पठाए भाइ बोलो?
अंकल। मेरो यत्ती नै जवाफ दिएँ। धेरै त आउँदैनथ्यो।
ठिक है....
सराबीका बापका नाम जैसी मोहल्ला थर्किने गरि बोलेर लेख्दै थियो।
२५ रूपैयाँमा वियर आउँथ्यो। नाम त याद भएन। तर १ सयमा ४ वटा बोकेर आएँ। पहिलो चोटी राजु अंकलले वियर पनि खुवाए। तितो तितो स्वाद भएकाले नमिठो मानीमानी खाएँ।
२ दिनपछि बुवा फर्किनुभयो। घर भित्र छिर्न नपाउँदै गाली शुरू भयो। रक्सी पसलले पहिल्यै बाटोमै भन्दिएछ। झण्डै कुटाइ खाइनँ। राजु अंकल गाली गरून्जेल ट्वाइलेटबाटै निस्कीएनन्।
००००
फेरि पनि बुवालाई एमएलएसँगै कतै बाहिर जानुपर्ने भएछ। फेरि पनि रक्सी खाए चौकीमा थुनीदिने चेतावनी सहित ५ दिनको लागि भन्दै कर्नाटक जानुभयो।
अंकललाई बुवा निस्केपछि साह्रै रमाइलो लाग्दोरहेछ। अर्को दिन बेलुका राजु अंकलले भतिज ब्ल्यू फिल्म हेर्ने हो भने। फिल्म भनेपछि हुरूक्कै हुने म ‘हुन्छ’ भन्दिएँ तर के हो ‘ब्ल्यू फिल्म’ थाहा थिएन।
‘महँगो पर्छ। राति १० बजेपछि मात्र चक्का किन्न पाइन्छ’, अंकल भन्दै थिए। यसपालि पनि यीनले फसाउँछन् जस्तो लाग्न थाल्यो। ‘यो पाली त म एक्लै किन्न जान्नँ है अंकल’ भने।
तँलाई त दिँदैनन्। म त जानै पर्छ। हैन के स्पेशल रहेछ। आज रमाइलो फिल्म हेर्न पाइने भो जस्तो लाग्यो। बाटोमा सोधेको पनि थिएँ। ‘अंकल सलमान खान त हुन्छ नि?’
‘कस्तो झाँठ रैछ यो त। तलाई थाहा छैन ब्ल्यू फिल्म?’ उनले भने।
‘छैन नि?’ मैले यति भनेपछि उनले ‘हेरेपछि थाहा पाउँछस्’ भन्दै अघिअघि हिँड्दै थिए।
लगभग रातको साढे १० भइसकेको थियो। केही पर पुगेपछि एउटा सटरमा तलबाट हात छिराएर माग्नुपर्ने रहेछ।
सटर माथिसम्म नखोलिँदो रहेछ। अंकलले माग्न लगाए हात छिराएर। १५ रुपैयाँ थियो एउटा सिडीको तर १ सय रुपैया डिपोजिट राख्नुपर्ने रैछ। एक सय पन्ध्र रुपैया हातमा लिएर भित्र हात छिराएँ। भित्र केटीहरू रहेछन्। ५ मिनेट पछि मेरो हातमा पेन्सिल हिलको स्यान्डीलले झण्डै प्वाल पारुँला जस्तो गरेर कुल्ची। मैले हात निकालेँ। सटर आधा माथि तानेर गाली दिन थाली। राजु अंकलले कुरा बुझाए।
पछि थाहा भयो केटाहरुले हात छिराएर सिडी चोर्दा रहेछन्। केटीहरु टिभीमा ब्ल्यू फिल्म हेरेर मस्त भएको बेलामा।
यती कुरा गरिरहँदा अन्य ४/५ जना केटीहरु टिभि हेरेरै हर्कत गर्दै थिए। हामी निस्कियौं।
त्यसबेलामा थाहा भो ब्ल्यू फिल्म के रहेछ भनेर। बाटोमा अंकललाई नहेर्ने भन्दै करकर गर्दै आएँ। तर घर आएपछि के मान्थे अंकल चक्का लगाएर शुरू भइहाले। मैले पनि पहिलो चोटी ब्ल्यू फिल्म हेरेँ।