दिनभरी थाकेको जीउ जहाँनेर बिसायो त्यही रात काटौं जस्तो, ओछ्यानमा सुत्दा श्रीमतीसँग बनेको दुरी छोट्याउने तागत नभएपछि जीउँदो र मुर्दामा फरक नछुट्टिने। आफ्नै प्रिय शरीर प्यारो लाग्न छोडेको पनि वर्षौं भइसकेछ।

मन्द मुस्कानसहित श्रीमतीले आमन्त्रण गर्दा पनि जीउ तरंगित हुन छोडेको कुनै हिसाब छैन। जिन्दगीको क्याल्कुलेटर बिग्रेजस्तो। बिहान बेलुका हातमुख जोर्नेलाई जिन्दगीको हिसाब सुरू भएपछि कयौं सुखद् हिसाब मिलेनन्। श्रीमती आफै नजिकिँदा पनि शरिरमा तरंग प्रवाहित हुँदैन। सायद रिस उठ्छ। फतफताउँदै पिठ्यूँ फर्काउँछे। सुनिन्छ एक नमिठो वाक्य, ‘नामर्द’।

ओहो! झन् पिरलो पो भयो। आफ्नो निरीहपनलाई धिक्कार्न मन लाउँछ। थाकेर आराम गर्नुपर्ने जिउ श्रीमतीको कटु वाक्यले नवीन विभासको ‘रात पनि ऐठन परेको रातमा’ झैं हुन्छ। साँच्चै ‘नामर्द’ जस्तै।

००००

बिहे भएको पहिलो वार्षिकोत्सव नसकिदै छोरो जन्मियो। त्यसपछि लगातार दुई अरू थपिए। भए दुई छोरा, एक छोरी। गरिबहरुको एउटा मात्र मनोरञ्जनको साधन हो, सेक्स। त्यसैले बढाइरहेछ हरेक वर्ष जनसंख्या वृद्धिदरको रेटिङ।

बाको अनुहारमा निचोरेको कपडा जस्तो गरी मुजा परेपछि। दुधमुखे भाइ हुँदै आमाले परान छाडेपछि। जिम्मेवारीको भारी उसै उसै बढेर पहाड बनेको थियो। त्यसमाथि थपिएकि थिइन श्रीमती। थुप्रिएका थिए लालाबाला।

सदरमुकाममा मात्र हाइस्कुल। गाउँगाउँमा भएका प्रा.वि स्कुलसम्म पहुँच नपुगेपछि अक्षरसँग साक्षात्कार हुनु कहाँबाट? नपढेको जिन्दगीले नोकरीको सम्भावना सकियो। ज्याला मजदुरी एउटा मात्र विकल्प भयो। बचेको जिन्दगीलाई अगाडि बढाउने संकल्प।

एक युवा अवस्थाको अदक्ष कामदार। काम सिक्नै पर्ने चुनौती भएकाले अग्रजको साहारा लिनुपर्ने र सँगै उनीहरुले भनेको मान्नु पनि पर्ने समय आयो। उनीहरुबाट काम सिक्न ज्वावलहरुको भारी बोकी दिनुपर्ने। भनेको मान्नुपर्ने। अक्षर चिन्न मास्टरले भनेको माने जसरी। त्यसैले मिस्री बन्न हिँडेको केटाको अवस्था उतिबेलाको गुरुकुल शिक्षा लिने चेलाहरुको भन्दा फरक भएन। जति हल्का हुन सक्यो उति काम सिक्ने मौका। जसले जस्तो काम अह्राए पनि आफै गर्दा राम्रो हुने। गारो सारो सबै काम प्रिय। कफी र आइसक्रिम सँगै मन पराएको ‘मिष्टर फेइमन’को जोक जस्तो।

जिन्दगी चलाउन पातजस्तो हल्कापनको नराम्रो असर भने ओछ्यानमै देखिने।

‘नामर्द’!

थुप्रै दिनहरुमा ‘नामर्द’, रातमा ‘नामर्द’।

००००

जागिर मिल्यो। त्यसबेला सरकारी कार्यलयका सबैभन्दा तल्लो दर्जाको कर्मचारी ‘पिएन’ हुन्थ्यो। त्यही पद गैरसरकारी संस्थामा ‘कार्यालय सहायक’ले चिनिने। कार्यालयको हाकिम आफन्त थियो। जिल्लामा भएका थोरै एनजीओ संचालकमा मध्येको नामी व्यक्ति। जडिबुटीमा खुब रुचि भएको। उसले जडिबुटी संकलन गर्न कार्यालय सहायकलाई पनि लगाउथ्यो।

हाकिम नामी भएपनि रक्सी खाएर कुनाम गराइरहेको थियो। सुरुमा उसले रक्सी धेरै खायो। पछि उसँग रक्सीले बदला लियो। उसले बालिबैंसै यो संसारबाट बिदा लियो।

सहायक कयौंपटक पाटनमा पुग्यो। जंगल जंगल चहार्यो। अनकौं महत्त्वका जडिबुटी देख्यो। तिनको दैनिक जीवनमा हुने उपयोगिता सिक्दै गयो। जागिरे जीवन र जंगलको दौडधुपले रात, आधा रातमा घर पुगाउथ्यो। तर ओछ्यानमा लखतरान बेवारिसे अवस्थामा रहँदा बिउझै रहेका कानले सुन्थे उही नमिठो वाक्या, ‘नामर्द’!

नमर्द ! नामर्द ....!! नामर्द ......!!!

००००

बढ्दै गएको चेतना। बन्दै गरेको धारणा। संसद भंग भएपछिको माननीय जस्तो एनजिओको सहायक पदको जागिर भएपछि। मनले हरेक दिन समीक्षा गर्थ्यो। अब विकल्व के? ज्याला मजदुरी या अरु केही? निष्कर्ष थियो, ‘गरिबहरुको ठूलो समस्या नुन तुल हो। नुनतेल नै नभएपछि अरु सोच्न भ्याइदैन।’ खुल्यो एउटा खुद्रा पसल। अब नुन तेलको टन्टा साफ।

सहायक भएर जंगल डुल्दा डुल्दा उसले थाहा पायो जंगल जडिबुटीको भण्डार हो। अब यही उपयोग गर्नुपर्छ। भुल्ते, कुटकी, सुगन्धवाल, पदमचाल, विषम लगायत जडिबुटी किन्न व्यापारी गाउँ आउन थालेका थिए। सिजनमा मौका छोपे राम्रै कमाई हुने। तर जीउ उसैगरि लखतरान हुने।

जीउ जति गलाए उत्तिकै ‘नामर्द’ भइने खतारा! इको कानमा गुञ्जिरहने, ‘नामर्द’..! ‘नामर्द’......!!

००००

ओहो। अब भएन। असन्तुष्टि बढ्दै गयो। सन्तोष हर चिजको सत्रु हुन्छ। असन्तुष्टि बढ्नु नराम्रो थिएन।

‘जंगलबाट कोरेर व्यापार गर्ने जति सबै जडिबुटी खेति गरेर व्यापार गर्‍यो भने फस्टाउन सकिन्छ। सँधै जंगलका जडिबुटीमा भर परे एकदिन यी सबै जडिबुटी लोप हुनेछन्। प्रतिबन्धित अवस्थामै पाँच औंले लगभग लोप भइसक्यो। अरु जडिबुटी हिजोको तुलनामा निकै घटिसकेका छन्। अब जसरी हुन्छ खेती गर्नुपर्छ।’ यो थियो जागिरे जीवनले दिएको चेतना। स्मृतिको गहिराइमा डुबेको उसले अन्तिम विकल्प रोज्यो, जडिबुटी खेती।

तर कसरी गर्ने भन्ने कुनै आइडिया विना नै जंगलबाट भुल्ते, कुटकी, सुमयोका जरा ल्याएर लगायो। भएन! यो जडिबुटी हो भनेर थाहा पाउने बित्तिकै त्यसलाई ल्याएर पाखो बारी र खेतमा दुबैमा रोप्यो, त्यो पनि भएन! जडिबुटी खेतीबारे कुनै किताब थिएन। भएपनि पढ्न नआउने।

आइडिया फुर्‍यो, अब नजोतेको खेतमा बीउ छर्नुपर्छ। अँह! भएन। अर्को आइडिया फुर्‍यो, ती जडिबुटी भएका ठाउँनेरको माटो ल्याएर त्यसैको बेर्ना बनायो, विस्तारै बीउ उम्रन थाल्यो। कुनै जडिबुटी कम मेहनतमा भए। केहीलाई हुर्काउन निकै कष्ट गर्नु पर्‍यो। यसले जगाएको आशासँगै साँझमा एक गिलास रक्सि चढीहाल्थो। यो देखेर स्वास्नी फिसिक्क हाँसी। सुत्दा दुरी घट्यो। एकछिनमा दुबैको मुखबाट तातो सास निस्कियो। ‘नामर्द’ शब्द गायब भयो।

००००

समयको अन्तरालमा जडिबुटी उत्पादनले बिस्तारै गति लियो। अनुभव बढ्दै गयो। सम्बन्ध विस्तार भयो। त्यही समयमा उसले स्याउका बुटामा कलमी गर्न सिक्यो। नर्सरीमा उत्पादन भएका स्याउका बोटले ग्राहक पाउन थाले।

घोडमच्चो, तुलसि, बन कचुर, गुन्नाइनो, बायजडी, पदम चाल लगायत आठ वटा जडिबुटी मिलाएर पछि स्वादिलो ‘हिमाली अर्गानिक जडिबुटी चिया’ नामको हर्बल चिया बनाउने आइयिया फुर्यो, गहुँको रोटी फुरेझैं। सुरुमा चियाका ग्राहक थिएनन्। बनाउन समय लाग्यो। बिस्तारै थोर बहुत ग्राहक पाइए। पछि बजार विस्तार भयो। ग्राहक बढे।

कसैले सुझायो कानूनी रुपमा उद्योग दर्ता गरी अघि बढ्नुपर्छ भनेर। अनि सरकारले प्रतिवर्ष राजस्व पाउने गरी एकैपटक दुईवटा उद्योग दर्ता भए। जसको नाम रह्यो ‘फलफूल तथा नर्सरी उद्योग’ र ‘हिमाली अर्गानिक चिया मसला उद्योग’। तर दुई उद्योग दर्ता गराउन दुई वर्ष लाग्यो। ‘पावर र पहुँच नहुँदा साह्रै कष्ट हुँदो रहेछ।’ उसले कर्णाली नदिजस्तै लामो सुस्केरा हाल्यो।

कृषि कार्यालयले उबाट स्याउका बुटा खरिद गरेर किसानलाई अनुदानमा वितरण गर्ने कार्यक्रम गर्दा कमाइ राम्रै भयो। पछि सरकारी अनुदानको कार्यक्रम रोकियो। बुटा बिक्री हुन छोडे। ऊ त भन्छ, ‘बुटाले धोका दिए। एउटा बुटा दुई रुपियाँमा पनि बिकेनन्। राजस्व तिर्न सकिन। सारा मेहनत त्यसै खेर गयो।’ उसले समीक्षा गर्न सकेन धोका बुटाले दिएका हुन वा सरकारले? तर उसले राजस्व तिर्नलाई भएपनि बुटा कलमी गर्न छोडेन।

हरेक वर्ष अलिअलि भएपनि बुटा बिक्री गर्ने प्रयास गरिरहयो। सरकारले धोका दिए पनि उसले सरकारलाई राजस्व छलेर धोका दिन सकेन।

उसको जडिबुटी खेती राम्रो भइरहेको थियो। प्रयोग गरेको १३ औं वर्षमा उसको अनुभव भनौं वा अनुसन्धान पछि पसिनाको स्वाद स्वरुप फल पाइन थालेको थियो। त्यही बेला जिल्लाको घरेलु तथा साना उद्योग विकास समितिले एउटा सुनौलो अवसर दियो। कृषिजन्य उत्पादन फलफूल तथा जडिबुटी उत्पादनमा सबैभन्दा राम्रो भएपछि उसलाई एक हप्ताको लागि विकसित देश थाइल्याण्ड भ्रमणमा लगियो।

थाइल्याण्डमा उसको जस्तो सोच भएका, आफ्नो मेहनत र लगावले, सरकारको उत्प्रेरणाले ठूला बनेका उद्यामीसँग भेट भयो। ठूला फर्महरुको इतिहास बुझ्न पायो। त्यहाँको उद्यमशीलताको बारेका सात दिन सम्म बयान गर्दा पनि थाक्दैन ऊ।

फर्किने बेलासम्म शरीरमा फरक खालको जोस भरियो, गाग्रीमा पानी भरिएसरी। नयाँ काम गर्ने, नयाँ खोज गर्ने उत्साह बढ्यो सयपत्री फूलका पत्रहरु थपिएझैं। घरकी जहानको मुहार जुन उदाए जस्तो उज्यालो भयो। ऊ बलेको दियो जस्ती देखिन थाली। तिता वाक्यको इको गुञ्जिन छाड्यो।

उसले थाइल्याण्डमा सिकेको महत्त्वपूर्ण पक्ष पेटेन्ट राइट(अग्राधिकार) थियो। उसलाई पनि आफ्नो उद्योगबाट सबैभन्दा बढी बिक्री हुने ‘चिया’को पेटेन्ट राइट लिनुपर्छ भन्ने लाग्यो। त्यसका लागि सबै प्रक्रिया पुरा गर्‍यो। वनस्पति विभागबाट प्रयोगशालाको रिपोर्ट चिया गुणस्तरीय छ भनेर आइसकेको छ। ‘तर पनि केही सुधार गर्नुपर्नेछ। सबै प्रक्रिया पूरा भयो भने पेटेन्ट राइट सुरक्षित हुनेछ। पेटेन्ट राइट लिन कम्तीमा तीन महिना लाग्छ। काठमाडौं जानुपर्छ। खर्च धेरै हुन्छ। यत्ति गर्न सकिए ठूलै सफलता मिल्ने थियो।’ उसको आशा बढ्दैछ।

सुरुका वर्षमा सय प्याकेट चिया बेच्ने ऊ अहिले वार्षिक पन्ध्र हजार प्याकेट बेच्छ। अबको लक्ष्य बीस हजार प्याकेट चिया बेच्ने रहेको छ। बजार विस्तार भैरहेको छ। पहिला सपरिवार बेकामे हुन्थे। अहिले सबै आफ्नै उद्योगमा कार्यरत छन्।

००००

जडिबुटी झन् राम्रो हुँदैछ। सुमयो १५ देखि २० किलो उत्पादन हुन्छ। अत्तिस डेढ कुइन्टेलसम्म उत्पादन भैरहेको छ। दुई हजार रुपियाँ किलोमा बिक्री हुन्छ।

अहिले उसलाई पिर लाग्न थालेको छ, जंगलबाट अव्यवस्थित जडिबुटी संकलन हुनाले बीउ मासिने पो हो की! देशमै औषधि उत्पादन गर्ने उद्योग नहुँदा सुन भन्दा महंगो जडिबुटी कौडीको मोलमा इन्डियालाई बिक्री गर्नु परेको छ। नेपाली जडिबुटीबाट बनेको औषधि सुन भन्दा महंगो मोलमा नेपालले नै किन्नुपरेको छ। जसरी पनि गरिब बन्ने मेसो चलिरहेको छ। ‘औषधि उद्योग र जडिबुटी प्रशोधन केन्द्र नेपालमै नभई भएन।’ उसको अन्तिम इच्छा हो।

यो बेला ऊ बजारमा सबैभन्दा बढी माग भएको वन लसुन र ह्याड्या(सेतो चिनी) को बीउ उत्पादन गर्ने तयारी गरिरहेको छ। उसलाई लाग्छ ‘सफल भयो भने ठूलै काम हुनेछ।’

उसले जिल्लामा पाइने ११० वटा जडिबुटीको सूचि बनाएको छ। यो सुची वनस्पति कार्यालयको भन्दा बढी हो। उसको जति खोजी वनस्पति कार्यालयले पनि गर्न सकेको छैन।

केही संस्थाहरु जडिबुटीको भण्डारबाट बीउ मास्ने गरि लागेका छन्। उनीहरु जति सकिन्छ जडिबुटी संकलन गर र पैसा कमाउ भन्दैछन्। रामदेवहरु पाटन कब्जा जमाउन सरकारलाई समेत प्रभाव पार्दैछन्। ‘मियाके जुत्ते मियाके शिरपर’ हुँदैछ। यो काम रोक्न ऊ एक्लै सक्ने छैन। सरोकारवाला र सरकारले सोच्नुपर्नेमा रामदेवलाई देउता मान्छन्। तर ऊ सकेजति गरिरहेको छ।

एक पटक इन्डियन बहुराष्ट्रिय कम्पनी डाबरले उसलाई जंगलबाट अत्तिसका चार हजार बिरुवा ल्याउन भनेको थियो। उसले बीउ मासिने खतरा देखेपछि उसँग काम गरेन। बरु बीउ संकलन गरेर आफूले खेती गर्‍यो। ऊ एक जना सतेच भएपनि सरकार सचेत हुन सकेको छैन।

गाउँघरमा आयुवेर्दिक पद्धतिबाट उपचार गर्ने परम्परागत सीप भएका थुप्रै मान्छेहरु छन्। कति सिपालु मान्छे मरेसँगै उनीहरुको सीप र उपचार पद्धति पनि मरेका छन्। उसले पनि उपचार गर्ने सीप सिकेको छ। गाउँघरमा कसैलाई सानोतिनो बिमार लाग्यो भने ऊ वैद्यको काम गर्छ। ग्यास्ट्रिक, दम, सुगर लगायत रोग निदानको औषधि बनाउँछ। गाउँलेले सेवा लिइरहेका छन्।

जीवनमा आएको यु-टर्नले ऊ खुसी छ। उभन्दा बढी श्रीमती खुसी छे। बा खुसी छन्। लालाबाला हाँसेका छन्। परिवार र ओच्छ्यानको दूरी  छोटिएको छ।

प्रकाशित मिति: : 2020-09-26 11:57:00

प्रतिकृया दिनुहोस्