कोरोनामा पनि बढ्यो रेमिटेन्स, साउनमा भित्रियो झन्डै ९३ अर्ब

रुद्र खड्का

कोरोना महामारीले वैदेशिक रोजगारी ठप्प भए पनि रेमिटेन्स भने वृद्धि भइरहेको छ । गत आर्थिक वर्षको अन्तिम महिना असारमा अहिलेसम्मकै बढी रेमिटेन्स एक खर्ब एक अर्ब रूपैयाँ भित्रिएको थियो । चालु आवको पहिलो महिना साउनमा पनि अघिल्लो साउनमा भन्दा बढी रेमिटेन्स भित्रिएको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउनमा ९२ अर्ब ७१ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ । गत वर्षको तुलनामा चालु वर्षको साउनमा भित्रिएको रेमिटेन्स २३ प्रतिशतले बढी हो । विगतका वर्षको तथ्यांक हेर्ने हो भने साउन, भदौमा रेमिटेन्स तुलनात्मक रूपमा कम आएको देखिन्छ । कोरोना कहरकै बीचमा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रेमिटेन्स अघिल्लो साउनमा भन्दा बढी भित्रिएकाले आगामी दिनमा पनि खासै घट्दैन कि भन्ने अनुमान गर्न थालिएको छ ।  

कोरोना महामारीले वैदेशिक रोजगारीमा रहेका युवा समस्यामा परेको समाचार आइरहेका छन् । कोरोनाकै कारण फागुन २७ यता सरकारले पहिलोपटक वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । दुई महिनाअघि पुनः श्रम स्वीकृति दिन थाले पनि साउनमा भित्रिएको रेमिटेन्समा नयाँ श्रम स्वीकृति पाएकाको योगदान छैन । पुनः श्रम स्वीकृति दिन थालेयता करिब चार हजारजना वैदेशिक रोजगारीमा गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।  

प्रकाशित मिति: : 2020-09-26 09:00:36

प्रतिकृया दिनुहोस्