हिरासतमा विजयरामको मृत्यु प्रकरण: रौतहटका तत्कालीन एसपीमाथि कारबाही गर्न गृहको सिफारिस

गृह मन्त्रालयले रौतहटका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) रविराज खड्कालाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ।

भदौ ११ गते बिहीबार बिहान इलाका प्रहरी कार्यालय, गरूडाको हिरासतमा रहेका गरुडा नगरपालिका ८ का विजयराम चमारको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएकाे थियाे।

भदौ १६ गते उक्त प्रकरणमा मुछिएका प्रहरी निरीक्षक नविनकुमार सिंह, प्रहरी हवल्दार हिरोज मिया धुनियाँ र मुन्ना सिंह निलम्बन गरिएकाे थियाे।

त्यसपश्चात भएकाे अनुसन्धानमा प्रमुख खड्काको कमजोरी देखिएको भन्दै मन्त्रालयले उनलाई कारबाही गर्न सिफारिस गरेको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्र बहादुर बुढाले जानकारी दिए। 

घटनामा एसपी खड्काको नियन्त्रण र निर्देशनमा हुनुपर्ने त्यसो नहुँदा सोमबार कारबाही गर्न सिफारिस गरिएको उनले बताए। 

'घटनामा उनको नियन्त्रण र निर्देशनमा हुनुपर्नेमा नभएको पाइएको हो,'प्रवक्ता बुढाले भने,'उनी त्यस घटनामा प्रत्यक्ष रूपमा संलग्न नभए पनि अप्रत्यक्ष रूपमा जिम्मेवारीमा कमजोरी देखियो।' 

त्यस्तै, गृहले तत्कालीन डिएसपी ज्ञानबहादुर कुमार महत्तोलाई पनि कारबाही गर्न सिफारिस गरेकाे छ। दुबै जनालाई जिम्मेवारी पूरा नगरेको भन्दै कारबाही गर्न सिफारिस भएको हो। 

गत भदाै १ गते रौतहटस्थित गरुडा नगरपालिका ८ जिगडियामा रहेको सच फलफूल नर्सरीमा काम गर्ने २० वर्षीय निरञ्जनको हत्यामा संलग्न रहेकाे आरोपमा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ का बिवेक यादव, १९ का अर्जुन राम, १९ का सिकिन्द्र राम, १९ का विजयराम चमार, शेख आजादसहित ७ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेकाको बयान र प्रमाणको आधार देखाउँदै डीएसपी महतोले सातै जनामाथि ज्यान सम्बन्धी मुद्धा दायर गरेर जिल्ला अदालतबाट म्यादसमेत थपेर सोही दिन सार्वजनिक गरेका थिए।

शेख आजादको परिवारका एकजना महिलासँग अबैधसम्बन्ध रहेकै कारण आजादकै योजना अनुसार छिमेकी साथीसँग मिलेर निरञ्जन रामको हत्या गराएको प्रहरीको निस्कर्ष रहेको छ।

त्यसकाे १० दिनपछि विजयरामकाे पिसाबमा समस्या देखिएपछि स्थानीय अनामिका अस्पतालमा उपचारका लागि भर्ना गरिएकाे प्रहरीले जनाएकाे थियाे। 

उपचारको क्रममा विजयरामको किड्नी सम्बन्धी समस्या देखिएकाले डाक्टरको सलाह अनुसार थप उपचारको लागि नेशनल मेडिकल अस्पताल वीरगञ्ज रेफर गरिएको थियो। उनकाे उपचारकै क्रममा निधन भएकाे थियाे। 

हत्या अभियोगमा पक्राउ परेका विजयरामको मृत्यु, प्रहरीले यातना बढी दिएकाे आराेप

विजयरामको शरीरमा चोटपटक देखेपछि पीडित परिवारले प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएका थिए। 

प्रवक्ता बुढाले भने पोष्टमार्टम रिपोर्ट अनुसार उनको मृत्यु चोटपटकबाटै भएको बताएका छन्। 

'प्रहरीले यातना दिएको हो भनेर भनेका छैनन्। तर पोष्टमार्टम रिपोर्टमा पनि चोटकै कारणले मृत्यु भएको भनेको छ,'उनले भने।

प्रकाशित मिति: : 2020-09-24 19:05:54

प्रतिकृया दिनुहोस्