कृृष्ण लामिछने
पुनराम न्यौपाने अर्घखाँचीबाट अस्थायीरुपले पोखरा आएर एउटा सामाजिक संस्थामा रात्रि चौकिदारीको काम गर्दा रहेछन् । उनले मलाइ सोधे– ‘सर ! मैले कर किन तिर्ने ? मैले तिरेको कर कहाँ जान्छ ?’ मेरै गाउँका साहिँला बाले मलाई सोधे– ‘कान्छा ! अहिले त जग्गाको तिरो पनि बढेछ । यसरी बर्सैपिच्छे बढेको तिरो कहाँ जन्छ ?’ मेरा भतिज प्रीतिराज लामिछाने गाउँमै व्यावसायिक कृषि गरेर बस्छन् । उनले पनि सोधे– ‘काका ! मैले तिरेको करको दायरा अव्यावहारिक छ ।
यो कर गाउँपालिकाले कहाँ–कहाँ खर्च गर्छ र यसबाट कसले के–के सुविधाहरु पाए त ?’ मेरो एकजना साथी दयाराम सुवेदी विगत १२ वर्षदेखि पृथ्वीनारायण क्याम्पसमा ज्यालादारी शिक्षकका रुपमा समाजशास्त्र पढाउँदै आएका छन् । उनलाई पनि त्यति मेसो रहेनछ कि उनले तिरेको १५ प्रतिशत ज्याला कर कहाँ पुग्छ भनेर ? मेरा एकजना मित्र संस्थागत विद्यालयका सञ्चालक छन् । उनले पनि प्रत्येक वर्ष चानचुन १२ लाख रुपयाँ कर तिर्दा रहेछन् । उनी पनि अलमल नै छन् कि आफूले तिरेको कर कहाँ खर्च हुन्छ भनेर !
तपाईंहरुलाई पक्कै हेक्का हुनुपर्छ । हामीले १ सय रुपियाँको टेलिफोन वार्ता गर्दा २८ प्रतिशत कर कट्टा हुँदो रहेछ । अनि १ लिटर पेट्रोल खर्च गर्दा २५ प्रतिशत त करमै खर्च हुँदो रहेछ । अनि विदेशबाट कुनै यातायात साधन तथा इलेक्ट्रोनिक सामान ल्याउँदा त झन् २ सय प्रतिशतभन्दा बढी पो भन्सार कर तिर्दा रहेछौं त । यी सबै साथीहरुले मलाई सोधे– हामीले तिरेको कर कहाँ जान्छ ?
यी सबै प्रश्नको उत्तर मसँग थिएन अनि मैले भनेँ– ‘यसको उत्तर गाउँपालिका, नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको कर नीति र मौद्रिक नीति निर्माताहरुलाई नै हेक्का हुनुपर्ने हो र तत्–तत् ठाउँका प्रमुखहरुको जवाफदेहिता हुनुपर्ने हो ।’ यसको सही उत्तर तीनवटै तहका सरकारहरुसँग छ, मसँग यसको उत्तर छैन भनिदिएँ ।