‘सामान्य रहेनछ कोरोना भाइरस’

नागरिक दैनिक

काठमाडाैं

कलाकार तथा नेपाल वायुसेना निगम (नेवानि) का वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्। कोरोना संक्रमणको उपचार गराइरहेका उनले सोमबार विजय लामा अफिसियल युट्युब च्यानलमार्फत आफ्नो अनुभव सुनाएका थिए। ‘पिसिआरको रिपोर्ट पोजेटिभ आएपछि उच्च मनोबलसहित मैले यसलाई सकारात्मक रूपमा लिइरहेको छु,’ करिब २८ मिनेट लामो भिडियोमा उनले भनेका छनर, ‘कोरोना भाइरस महामारीको अवस्थामा सेवा दिँदा संक्रमित भएको हुँदा दुःखीचाहिँ छैन। कोरोना भाइरसलाई जितेर फेरि नियमित उडानमा फर्कनेछु।’

दक्षिण सुडानका लागि भएको चार्टर्ड उडानबाट फर्केपछि गत साता उनलाई कोरोना संक्रणम पृष्टि भएको थियो। कोरोना भाइरस संक्रमण पुष्टि भएलगत्तै उनी सोल्टी होटलको आइसोलेसनमा बसिरहेका थिए। उनले शान्ति मिसनमा खटिएको नेपाली सेनाको एक टोलीलाई निगमको २७४ सिटको एक वाइडबडी जहाजमा लिई अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए। ज्वरो आएपछि होटलको आइसोलेसनमा उनलाई ललितपुरको स्टार अस्पताल लगिएको थियो। ‘ज्वरोसँगै टाउको दुखेको महसुस भएपछि औषधि सेवन गरिरहेको छु,’ भिडियोको सुरुमा उनले भनेका छन्, ‘जिउभरि एकदम पीडा महसुस भइरहेको छ। प्रशस्त पानी र फलफूल खाइरहेको छु। कोरोना भाइरस संक्रमण भयो भनेर डराएको चाहिँ छैन।’

प्रकाशित मिति: : 2020-09-23 14:26:38

प्रतिकृया दिनुहोस्