नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरू

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरू भएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक सुरू भएको हो। 

यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए।

बालुवाटारमा बसेको २६ भदौको बैठकको शुरुमा संक्षिप्त सम्वोधनपछि पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालनको जिम्मा लगाएर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका थिए।

ओली बाहिरिएपछि बैठकको अध्यक्षता प्रचण्डले गरेका थिए।  गत मंसिरमा कार्यकारी अध्यक्षको जिम्मा पाएका प्रचण्डले बैठकको अध्यक्षता गर्न नपाएको गुनासो गर्दै आएका छन्।

आजकाे बैठकमा गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने नेकपा नेताहरुले बताएका छन्। साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुनेछ।

सोही निर्णय कार्यान्वयनका लागि उपयुक्त मापदण्ड बनाउने, मन्त्रिपरिषद पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषयमा आजको बैठकमा छलफल हुनेछ। 

प्रकाशित मिति: : 2020-09-20 11:58:47

प्रतिकृया दिनुहोस्