१६ वर्षदेखि मदन भण्डारीको घर हेरचाह गरेका घनश्यामको परिवार भन्छन्, ‘कम्युनिष्टले केही गरेनन् भनेर बोलेकोमा घरबाट निक्लन भनियो’ (भिडियाेसहित)

राष्ट्रपतिलाई भेट्न दिईएन, घर बनाईदिन्छु भन्थे, खै के गर्लान्, छोराहरुलाई रोजगारी दिए हुने 

वल वैंश हुँदा मोरङको रतुमाई सातमेडीस्थित  जननेता स्वर्गीय मदन भण्डारीको घर संरक्षण र हेरचाहमा जीवन विताएका घनश्याम भण्डारीको परिवारलाई कम्युनिष्ट बिरोधी अभिब्यक्ति दिएको आरोपमा घर निकालाको तयारी गरिएको छ। 

राष्ट्रपति विद्या भण्डारीको श्रीमानसमेत रहेका मदनको घर रेखदेख गर्दै आएका भण्डारी यति बेला निकै दुःखी छन्। 

भण्डारीको परिवारलाई मदनग्राम पूर्वाधार संरक्षण समितिका संयोजक शिवराज पौडेलले बसाई हिँड्न चेतावनी दिएपछि उनी थप तनावमा परेका हुन्।

‘संस्थाले बोलाएपछि २०६३ सालमा इलामबाट आएर जननेता मदन निवासको हेरचाह गरियो, अहिले हामीलाई निकाल्ने तयारी भईरहेको छ’, भण्डारीले दुःखी हुँदै बिएल नेपाली सेवासँग भने ।’ 

भण्डारीसँगै श्रीमती यसोदा र २ छोरा पनि सँगै बस्दै आएका छन्। २०६३ साल अगाडि खाली रहेको यो घर अहिले यहीँ परिवारको संरक्षणमा छ। 

‘आफूहरू गरिखाँदै गरेको मान्छे, त्यहाँ आउँदा के सुविधा छ ,कतै पछि दुःख त पाउँदैनौं ,फुत्त निस्किएर जा त भन्नुहुन्न नि भन्दा तपाईँहरूलाई एउटा सानो घर हुन्छ, संस्थाले त्यस्तो गर्दैन भनेपछि घर रुघ्न आएका हौ,’ उनले भने।

तर पछिल्लो समय संस्थाका तर्फबाट शिवाराजले उनीहरूलाई निस्केर जान भनेका छन्। ‘तँ अन्तै जाँ कतै जग्गा खोज्छस् कि के गर्छस्, अब संस्थाले नै घरको सबै काम गर्छ, अब निस्किहाल् भन्दै शिवराजले भनेको घनश्यामले सुनाए।

‘म अनपढ मान्छे बोल्न पनि जान्दिनँ, जे बोल्छु साँचो बोल्छु, यो घरको बारे नराम्रो अभिब्यक्ति कतै पनि दिएको छैन, घनश्याम भन्छन्, ‘घरको धेरै माया लाग्छ यतिका वर्षसम्म रूघियो, हेरियो। अहिले आएर यता न उताको बनाईयो।’ 

भण्डारीको परिवारलाई त्यहाँ बसुन्जेल १० कठ्ठा जग्गा कमाई खान दिइएको छ। अरू जग्गा सबै शिवराज पौडेलले नै खेती गर्दै आएका छन्।

‘काठमाडौंबाट पत्रकारहरू आएर हाम्रो अन्तरवार्ता लिनुभएको थियो, हामीले घरको बारेमा र मदन भण्डारीको जाने जतिको योगदानबारे बोलेका थियौं’, घनश्यामकी श्रीमती यसोदाले भनिन्, ‘मैले कम्युनिष्ट बिरोधी अभिव्यक्ति दिएँ भन्दै घरबाट निकाल्न थ्रेट दिइएको छ। न मैले केही नराम्रो बोल्नु।’ 

आफूले केही नराम्रो नबोलेको र आफूले बोलेको भिडियो ल्याएर देखाउन अनुरोध गर्दा पनि शिवराज पौडेलहरूले देखाउन नसकेको उनको भनाई छ। ‘अनावश्यक आरोप लगाएर हामीलाई नराम्रो बनाईको छ। घरबाट निक्लि भनिएको छ, नगरेको कुराको अपजश हामीमाथि आईलाग्यो’, उनले दुःखेसो पोखिन्। 

आफूहरुले सो भिडियो खोजी गर्दा कतै पनि नभेटेकाले कसैलाई पनि देखाउन नसकिएको यसोदा बताउँछिन्। 

‘कम्युनिष्टहरुले राम्रो काम गरेन भन्दै बोल्नुभयो रे ,जे पायो त्यही बोल्ने अधिकार छैन, भन्दै हामीलाई हप्काए’, यसोदा भन्छिन्, ‘तर हामीले त्यस्तो बोलेका थिएनौं, जति बस्यौ बस्यौं जति खेति गर्नु गर्‍यौं अब केही पाँउदैनौ निस्क भनिएको छ।’

राष्ट्रपतिलाई भेट्न दिईएन, घर बनाईदिन्छु भन्थे, खै के गर्लान्, छोराहरुलाई रोजगारी दिए हुने

राष्ट्रपति विद्या भण्डारी सो घरमा आउँदा पनि भेट्न नदिएको भण्डारी परिवारले दुखेसो पोखेको छ। ‘राष्ट्रपतिसँग भेट्नै हुँदैन, बोल्नै हुँदैन भनियो, हाम्रो नजिकै हुनुहुन्थियो, हामी यो घरको रेखदेख गरेको र पनि हामीलाई चिनाईएन। हामी पनि बोल्थिम् नि,’ यसोदाले भनिन्। 

‘हामीले आफ्नै घर जस्तो गरेर हेरचाह गर्‍यौं, बिरुवाहरू हुर्कायौं, अहिले आएर यो हविगत भयो’, यसोदा भन्छिन्, ‘हामीलाई घर बनाईदिन्छौ भन्नु भा थियो, अहिले त त्यो कुरा कता हरायो कता। मलाई वाथको बिराम छ, श्रीमानलाई फोक्सोको, आफूहरूको लागि नभए पनि दुई छोराको लागि रोजगारी दिए हुने संस्थाले, उनीहरुको कमाईमा हाम्रो पनि बुढेशकालमा जिविकोपार्जन हुने थियो।’ 

घनश्यामको परिवार सो घरमा एक कोठा कोचिएर बसेका छन् । 

‘हामी यहाँ आउदा सबै खाली थियो, घर पनि लथालिङ्ग थियो। वरिपरि बिरूवा लगायौं, सरसफाई गरेर चिटिक्क बनायौं, हेरचाह गर्‍यौं, घनश्यामले भने, ‘मदन भण्डारीको सेवा गर्न नपाए पनि उहाँको घरको हेरचाह गर्न पाउँदा पनि खुशी लागेको थियो, अहिले साह्रै अपमानित हुनु परेको महशुस भएको छ । मन अमिलो भएको छ।’

रतुवामाईको भौडाहा चोकबाट झण्डै २ किलोमिटर पूर्व गएपछि पुगिने स्वर्गीय मदन भण्डारीको यो घरका आसपासमा आँपका ठूला बोटहरु छन्। वरिपरी रहेका नरिवल, सुपारीका बोटहरुसँगै फूलबारीले  सौन्दर्य प्रदान गरेको छ । 

काठै काठले बनाएको घर २ तलाको छ। यो घरको तल्लो तलामा भण्डारी परिवार छन्, भने माथिको तला खाली छ। माथिल्लो तलामा त्यो बेला मदन भण्डारी बस्ने र राजनीतिक गतीविधि गर्ने भएकोले  माथिल्लो तला खाली नै राखिएको छ। 

मदन भण्डारी २०२८ सालदेखि २०४७ सालसम्म यहीँ ठाउँमा बसेर राजनीति गर्ने, भेला, देश दौडाहा र संगठनको विस्तार गर्ने गर्थे। तर २०४७ सालपछि मदन यता फर्किएनन्। 

२०५० सालसम्म यही ठाउँमा मदन भण्डारीका बुबाआमासहित परिवारका अन्य सदस्य बसे पनि मदन भण्डारीको निधनसँगै परिवारले यो ठाउँ छाड्यो। त्यसपछि यहाँको चहलपहल नै हराउँदै गयो। 

मदन भण्डारीले २०२४ सालमा क्षत विक्षत अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै मेची कालीसम्म पुर्‍याउने काम यहीँ सातमेडीबाट गरेको उनलाई नजिकैबाट नियालेकाहरू बताउँछन्। 

यहाँको साढे ४ बिगाहा जग्गा संरक्षण हुन नसकेको र आसेपासेको रजाई भएकोले स्थानीय रुष्ट छन्। यहाँ जाने जो कोहीलाई यो घरको अवस्थाबारे जानकारी दिने अधिकार यो परिवारलाई छैन। 

यहाँ मदन भण्डारीको यो घरको बारेमा सोधीखोजी गर्न जाने जो कोहीले पनि घर भएको भन्दा करिब ५ सय मिटर पूर्वमा रहेका शिवराज पौडेललाई भेट्नु पर्छ। शिवराज पौडेल मदन भण्डारीसँगै हुर्किएका र उनीसँगै खेलेका, सँगै पढेका र ताप्लेजुङदेखि ईटहरासम्म सँगै आएर बसेका ब्यक्ति हुन्।

प्रकाशित मिति: : 2021-05-17 14:38:00

प्रतिकृया दिनुहोस्