किसिमको राजनीति गर्ने दाबी गरिरहेको साझा पार्टीका नेताहरूले तीन साताअघि ट्विटरमा २४ सेकेन्ड लामो इन्फोग्राफिक्स पोस्ट गरेका थिए। त्यसमा साझा पार्टीको विचार, दर्शन कल्याणकारी लोकतन्त्र हो भनिएको थियो।
अगाडि भनिएको थियो- कल्याणकारी लोकतन्त्र भनेको लोकतन्त्रको बलियो जगमा कल्याणकारी राज्यको अभ्यास हो। कल्याणकारी राज्यमा गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको दायित्व सरकारले बोक्छ।
यो इन्फोग्राफिक्स पछ्याउँदै म साझा पार्टीको वेबसाइटसम्म पुगेँ। त्यहाँ राखिएका सामग्रीको सामान्य अध्ययनपछि मलाई लाग्यो, यो पार्टी पनि भावनात्मक र कर्णप्रिय कुरा बढी गर्छ। शब्दावली फरक छन् तर उसले भनेको अर्थ राजनीतिक व्यवस्था पनि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले भन्ने गरेभन्दा भिन्न छैन।
मलाई यस्तो लाग्नुका पछाडि केही कारण छन्। यसका लागि हामीले कल्याणकारी राज्यको विश्व इतिहासको सामान्य जानकारी लिनुपर्छ।
झन्डै डेढ सय वर्षअघि बेलायतमा एकथरी मान्छे थिए जो आफूलाई निकै जान्ने-बुझ्ने सम्झन्थे। हामी जाने-बुझेका, स्रोत सम्पन्नहरूले गरिब, निमुखाहरूका लागि केही गर्नुपर्छ भन्ने उनीहरूलाई लाग्थ्यो।
सुकिला-मुकिला उनीहरूले तल्लो तहका जनताको आवश्यकता के हो भन्ने विषयको जानकार आफू भएको स्वाङ पारे। सर्वसाधारणले के खाने, कसरी खाने, के लाउने, कसरी बोल्ने, कस्तो काम गर्ने भन्ने सिफारिस गर्न थाले।
आफूलाई स्वतन्त्रताको हिमायती ठान्ने उनीहरू मुखले आफ्नो उपाय अरूहरूमाथि लाद्नुपर्छ त भन्थेनन्। बरू आफ्नो सोचको श्रेष्ठतालाई राजादेखि प्रजाले स्विकारिदिए हुन्थ्यो भन्ने लोभ गर्थे।
टोरी र्याडिकलका नामले चिनिने अभिजातहरूको त्यो समूहबाट अहिलेको कथित आधुनिक कल्याणकारी राज्यको सोच आएको मानिन्छ। त्यसैले बेलायतमा पछिसम्म 'क्रेडल टु ग्रेभ' भन्ने नाराले धेरै मान्छेलाई तान्यो। नागरिकलाई जन्मदेखि मृत्युसम्म राज्यले हेर्ने अवधारणा सुन्दा कसलाई मन नपर्ला र!